पाँच भयानक दुर्घटना: १७ दिनमा ५८ जनाको ज्यान गयो

आदर्श अनलाइन,काठमाडौं

-१७ मंसिरमा बागलुङमा कुल पूजामा हिँडेका यात्रु बोकेको जीप दुर्घटनामा हुँदा १३ जनाले मृत्युवरण गर्नुपर्‍यो ।

-मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङको बडिगाड ७ भिमगिठे घोकर्नामा देश स्तब्ध बनाउने घटना भएको १२ दिन पछि आज काभ्रेमा उस्तै दर्दनाक दुर्घटना भयो । जसमा कालिञ्चोक दर्शन गरेर फर्किएका १५ जना यात्रुले ज्यान गुमाएका छन् ।

-१२ मंसिरमा अर्घाखाँचीको नरपानीमा भएको दुर्घटनामा १९ जनाले ज्यान गुमाएका थिए ।

-१५ मंसिरमा सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको थियो ।
-२१ मंसिरमा फेरि चितवनको राप्ती नगरपालिका(४ मा अटो दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो ।

यसरी १७ दिनको अन्तरमा पाँच ठूला दुर्घटना भएका छन् र ५८ जनाको ज्यान गएको छ ।
यसबाहेक हरेक दिनजसो हुने दुर्घटना र त्यसमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ । देशभरमा हुने दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

तर सरकार र सरोकारवाला निकाय हरेक सवारी दुर्घटनालाई भवितव्यका रुपमा मात्रै व्याख्या गर्छ । चालकको लापरबाही, ओभर स्पिड वा ओभरलोडका कारण दुर्घटना भयो भन्छ र मौन बस्छ । अहिलेसम्म कुनै दुर्घटनाबारे गम्भीर छानविन नै गरेको छ, न दुर्घटना रोकथामका लागि गम्भीर प्रयत्न नै गरेको देखिएको छैन ।

सडक सुरक्षा सम्बन्धी हेर्ने छुट्टै नियमनकारी निकाय स्थापना गर्ने विषय उठेको वर्षौं बित्यो । तर, सरकार दिन(दिनै दुर्घटनाका दुखद् घटनाहरुमा वृद्धि भइरहँदा पनि कानमा तेल हालेर बसेको छ ।

बढ्दो दुर्घटना र लापरवाही

देशभर हुने दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७५ ७६ मा मात्रै देशभर गरी २ हजार ७६२ जनाको दुर्घटनामा मृत्यु भयो । त्यही वर्ष भएको १३ हजार ४२१ दुर्घटनामध्ये ९ हजार ९४० दुर्घटना चालकको लापरबाहीले भएको ट्राफिक प्रहरी निर्देशनालय बताउँछ ।

तीव्र गतिमा सवारी चलाउनु, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरटेक, पैदल यात्रुको लापरवाही, मौसम र सडकको अवस्थाका कारण दुर्घटना हुने गरेका छन् । गत वर्ष उपत्यकामा तीव्र गतिका कारण ५२५ वटा सवारी दुर्घटना भएका थिए । राजमार्गमा यही कारण धेरै सवारी दुर्घटनामा पर्ने प्रहरीको भनाइ छ ।

एक वर्षमा उपत्यकाभित्रै मादक पदार्थ सेवनका कारण २८३, यान्त्रिक गडबडीका कारण ६७, ओभर टेकका कारण ७५, सडकको अवस्थाका कारण २६ वटा दुर्घटना भएका थिए । पैदलयात्रुको लापरवाही र चौपायाको कारण ६ वटा दुर्घटना भएका थिए ।

सवारी चालक निकै संवेदनशील पेशा हो । सवारीमा रहेका यात्रुको जीवन उनीहरुले समात्ने स्टेरिङ र ब्रेकमा अडेको हुन्छ । त्यसैले यो पेशामा थोरै पनि लापरवाही गर्न छुट छैन । सवारीमा कति यात्रु राख्ने, कुन गतिमा चलाउने, कहाँ बिश्राम गर्नेलगायतका निर्णय चालकले गनुैपर्छ । चालकले एउटा सामान्य गल्तीको सजाय अरु धेरै यात्रुले भोग्नुपर्ने हुन्छ ।

तर, नेपालमा सवारी चालकहरु गैरजिम्मेवार बन्दा धेरै दुर्घटना निम्तिने गरेका छन् । तर उनीहरुलाई मात्र दोष दिएर अरु उम्कन मिल्ने अवस्था भने छैन ।

चालकलाई जिम्मेवार बनाउने, सडक पूर्वाधारमा सुधार गर्ने, सवारी साधनको उच्च प्राविधिक अवस्थाको वैज्ञानिक जाँच गर्ने, चालक, यात्रु र नियामकद्वारा कानुनको परिपालना गराउनेलगायतका विषयमा जोड नदिएसम्म सडकमा जोखिम नघट्ने बताउँछन् विज्ञहरु । सरकारले आपतकालीन उद्दार, उपचार र पुनर्स्थापनामा पनि ध्यान दिएर नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सडक सुरक्षा विज्ञ पदमबहादुर शाही सडकलाई सुरक्षित बनाउन सरकारको ध्यान नपुगेको बताउँछन् । उनकाअनुसार सातै प्रदेशमा भेहिकल फिटनेस सेन्टर स्थापना गर्ने सरकारी नीति अधुरै छाड्दा त्यसको असर सडकमा देखिने गरेको छ । यस्ता सेन्टरमा नियमित रुपमा सवारीको यान्त्रिक तथा भौतिक अवस्था निरीक्षण गरेर पास भएकालाई मात्रै सडकमा गुड्न अनुमति दिने सरकारी नीति कागजमै सीमित छ ।

ओभरलोड रोक्ने गरी कडा कानूनी व्यवस्था छैन भने तीव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई आधुनिक र व्यवहारिक साधन र प्रणाली उपलब्ध गराएको छैन ।

ग्रामीण सडकमा अझ यस्तो दुर्घटनाको जोखिम उच्च छ । ग्रामीण सडक पूर्वाधारको अवस्था झनै दयनीय भएकाले ठूला दुर्घटनाको भय हुने गरेको छ ।

देशभर करिब ७५ हजार किलोमिटर सडक सञ्जाल छ । तीमध्ये अधिकांश धुले सडक हुन् । १५ हजार किलोमिटरको राष्ट्रिय राजमार्गमध्ये पनि धेरै खण्ड अझै कालोपत्रे भएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *