चैते दशैं मेलाको मौलिकता हराउदै

खेमराज गौतम, बागलुङ

बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका शशिराम बिक २८ वर्ष देखि चैते दशै मेलामा चोयाँका सामाग्री डाला, नाग्ला र डाली बेच्न बागलुङ बजार नजिकै रहेको कालिका मन्दिर परिसरमा आउनुहुन्छ । बिहीबार देखि शुरु भएको चैदै दशै मेलामा उहाँले जम्मा ४० थान मात्रै डाला विक्रिका लागि ल्याउनुभएको छ । वर्षेनी डालाको व्यापार घट्दै गएपछि बिकलाई डाला उत्पादनमा त्यती जागर नलाग्ने बताउनुहुन्छ ।

कोरोनाले दुई वर्ष चैतेदशै मेला नभएका कारण बाहेक २८ वर्षदेखि मेलामा चोयाँका सामाग्री विक्रि गर्न आउनुभएका बिकले चैते दशैंको मोलिकता हराउदै गएको बताउनुभयो । परम्परा धान्नकै लागि जलजलाबाट यहाँ आएपनि पछिल्लो दश वर्ष यता घरेलु उत्पादन सामाग्री मेलामा रुचाउन छोडेको बताउनुभयो ।

वर्षभरी उत्पादन गरेको निगालोको चोयाँको डाली, नाङ्ला र डालो चैते दशै मेला, रिडिको मेला र शान्तिपुरको मेलामा राम्रो विक्रि भएर जीवन गुजारा चलाउदै आउनुभका बिकले अब चोयाको उत्पादनबाट जीवन धान्न नसक्ने बताउनुभयो ।

“बाबाले चोयाबाट डाला, नाङ्ला, डोको, थुन्से लगायतका सामाग्री बुनेको देखेर १७ वर्षको उमेरबाटै आफूले चोयाँको सामाग्री बनाउन सिकेको थिए, पहिला राम्रो व्यापार थियो, चैते दशैमा जलजलाबाट बोकेर विक्रिका लागि यहाँ ल्याउथे, अहिले सवारीले सहज त बनाएको छ, तर पहिला जस्तो अहिले चैतेदशैको रौनक छैन, घरेलु उत्पादन त अब देखिनै छाडे” शशिराम बिकले भन्नुभयो “अहिले त प्लाष्टिकका भाडा कुडा, खेलौना र खानपिनमा मेला समिति भएको छ, बागलुङ झरेको दुई दिनमा दुईटा मात्रै डालो बिक्रि गरे, खास चैते दशै भनेको दैनिक प्रयोगमा आउने ठेका, डाला, नाङ्ला, बाउँसो, आँसी लगायतका बस्तुहरुको खरिद बिक्रि भन्ने बुझिन्थ्यो अहिले त्यस्तो छैन ।”

उहाँका तीन छोराले चोयाको सामाग्री बनाउन सिककेका छैनन् । त्यसैले आगमी पुस्ताले यो पेशा नअगाल्दा झनै समस्या हुँने उहाँको भनाई छ । उहाँले रु. ५०० मा पाँच पाथीको ठालो विक्रिका लागि चैते दशैं मेलामा आउनुभएको हो ।

चैतेदशैंमा अहिले घरेलु उत्पादन सामाग्री देख्नै दुर्लभ भइसकेको बुढापाकाहरुले बताउछन् । चैतेदशैंको समयमा कालिका मन्दिर दर्शन गर्ने र आवश्यक सामाग्री वर्ष भरीलाई खरिद गर्ने चलन भएपनि विस्तारै यसको मौलिकता हराएर खानपान र नाँचगानमा मेला सिमित हुँन थालेको चैतेदशै मेलामा लामो समयदेखि ठेकाको व्यापारका लागि आउदै गर्नुभएका बागलुङको बलेवा अमलाचौरका प्रेम बहादुर चुदारा बताउनुहुन्छ ।

“चार पाँच वर्ष अघि सम्म त ठेका ठेकीको व्यापार निकै राम्रो थियो, सबै ठेका ठेकी व्यापार गरेर सक्थे” चुदाराले भन्नुभयो “तर अहिले त्यो समयको चैते दशै र यो समयको चैते दशैमा आकाश पातालको भर भइसक्यो, अहिले आयातित सामाग्री खरिदमा स्थानीयको भीड लाग्छ, आधुनिक उपकरणको विकासले ठेकाको व्यापार नहुँने देखियो, पछिल्ला बर्षमा परम्परा धान्न मात्रै ठेका ल्याएर आएको हुँ ।” चुदाराले गुम्मीमा गएर ठेका उत्पादन गर्दै आउनुभएको छ । चुदाराका अनुसार ठेका ठेकी बनाउने प्रचलन पुस्ता हुतान्तरण नहुँदा आगमी दिनमा लोप भएर जाने बताउनुभयो ।

यस्तै चैते दशैमा अहिले घरेलु हात हतियार, खुकुरी, बाउसो, आँसी लगायतका बस्तुहरु विक्रिका लागि ल्याइएको समेत छैन । चैते दशै मेला बागलुङको पहिचान संग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भएपनि विस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउदै गएको स्थानीय दुर्गा आचार्यले बताउनुभयो । मेलामा झाँकी, घरेलु उत्पादन, ढाँका टोपी, अल्लोको कपडा, ढाकाको कपडा, मादल, बुट्टेनली लगायतका उत्पादनहरु देखिनै छोडेका छन् । मेलामा आयातित लत्ता कपडा, मनोरञ्जनका सामाग्री तथा आधुनिक खानाका परिकारले महत्व पाउन थालेकाले विस्तारै चैते दशैको मौलिकता हराउदै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *