गण्डकी प्रदेशसभामा एक विधेयक पारित, चालू अधिवेशन अन्त्य

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरू विकास लम्साल, सरिता गुरुङ, गायत्री गुरुङ र कृष्णबहादुर थापाले प्रदेश तथा स्थानीय तहबीचको समन्वयका लागि विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरेका थिए ।

बैठकले गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ । उक्त विधेयकमाथिको सामान्य छलफलमा सदस्यहरू धनञ्जय दवाडी, मनकुमारी गुरुङ र पियारी थापाले सूचनाको हक कायम गराउन विधेयक महत्वपूर्ण बन्ने बताए ।

बैठकले केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक विधायन समितिमा दफावार छलफलका लागि पठाएको छ । उक्त विधेयकमाथिको सामान्य छलफलमा मोहनप्रसाद रेग्मी र ललितकला गुरुङले भाग लिएका थिए । आजको बैठकको शून्य समयमा कृष्णबहादुर थापा र ललितकला गुरुङ तथा विशेष समयमा विकास लम्साल र मोहनप्रसाद रेग्मीले विभिन्न समसामयिक विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराए ।

बैठकले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सभासमक्ष प्रस्तुत गर्नुभएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक लेखा समितिमा र मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ ।

बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद्को सिफारिसमा चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्नुभएको व्यहोराको पत्र पढेर सुनाएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *