सम्पादकीय
नेपाली समाज संस्कृतिका हिसाबले सम्पन्न छ । चाहे त्यो गीत संगीतमा होस् या नाँचगान होस् या चाडबाडमा होस् या अरु बिबिधता होस् । नेपाल पृथक पहिचान र विशेषता बोकेर विश्व समुदाय माझ स्थापित छ । यसमध्येको एक चाड हो चैत शुक्ल अष्टमी अर्थात हिन्दु धर्मालम्बीहरूको पर्व चैते दसैं । देशभर देवीको पूजा र उपासना गरि यसपटक पनि धुमधामका साथ मनाइयो । असुर शक्ति माथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुई पटक दसैं मनाउँछन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर, यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँड्डुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।
बागलुङमा पनि चैते दसैंको ऐतिहासिकता छ । चैते दसैं मेलाले जिल्लामा यस्तो मानक स्थापित गरेको छ कि चैते दसैं र बागलुङ एक अर्काको पर्यायबाची बनेको छ । नेपालकै प्रसिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिर र सोही परिसरमा आयोजना हुने मेला भर्न हजारौ आउने गर्दछन् । चैत दसैं मेला यति महत्वपूर्ण थियो कि त्यसबेला गाइएको एउटा गीतले त्यसलाई झल्काउँदछ । एउटा पैसा कहिलेलाई, बागलुङ बजार चैते दसैंलाई बोलको गीत धेरै पहिलेको निकै चर्चित गीत हो । धौलागिरी र त्यस इतरका क्षेत्रबाट पनि बागलुङको चैते दसैं मेला भर्न जाने मात्र होइन, मेलामा मौलिकता बोकेका ठेका, गाग्री, सरसामग्री बिक्री गरेर आफ्नो दैनिकी जीविका चलाउन टेवा पु¥याउने सोच र सपना पनि मानिसहरु साँच्थे । देशभरका यानीमाया, सुनिमाया, दोहोरी गीत गाउनेदेखि भलिबल खेल्ने सम्म, मनोकांक्षा पुरा हुने कामना प्रार्थना गर्नेहरु पनि यही अवसर पारेर पुजाअर्चना र दर्शन गर्ने गर्छन् । जसले यस क्षेत्रमै एक किसिमको उभार आउँदछ । पछिल्लो दुई वर्ष यता कोरोना भाइरसका कारण उल्लासमय रुपमा चैते दसैं मेला, पुजाआजा हुन सकेको थिएन । अहिलेबाट फेरि त्यो अवसर प्राप्त भएको छ, यद्यपि पुराना मौलिकता र ऐतिहासिकता बोकेका विषय भने क्रमशः देखिन छोड्यो । यो दुःखद र विडम्बना हो ।
चैते दसैं मेला बागलुङको ब्राण्ड भइसक्यो । देशभरका अधिक मानिसहरुले चैत्र महिनाको दसैंमा बागलुङ आउने र मेला महोत्सवसँगै पुजाआजा गर्ने वार्षिक कार्ययोजनामा राख्ने प्रचलन जस्तो बनिरहेको छ । तर, चैते दसैंमा पहिले पहिले सुनिने मौलिक भाकाहरु सुनिन छोडेको छ, देखिने ऐतिहासिक मौलिक दृश्यहरु देखिन छोडेको छ । आधुनिकता र पाश्चात्य संस्कृतिले क्रमशः हाम्रा मौलिकता र ऐतिहासिकता माथि धावा बोलिरहेको छ । यस पक्षमा सरकार र सरोकारवालाको गाम्भिर्यता देखिदैन । समय सापेक्ष रुपमा कला, संस्कृतिका कार्यक्रम, गतिबिधि अघि बढ्ने बढाउने कुरा स्वभाविक हो, यसलाई अन्यथा लिनुहुन्न । यससँगै समाज र देशको पहिचान, मौलिकता र ऐतिहासिकता बोकेका विषय, चिजबस्तु, संस्कारजन्य कुरालाई उपेक्षा गर्नुहुँदैन । त्यसलाई कसरी संरक्षण, सम्र्वद्धन र प्रवद्र्धन गर्न सकिन्छ ? त्यस तर्फ सबैको साझा पहल, प्रयत्न, सहयोग, सहकार्य हुन जरुरी छ । अन्यथा, मौलिकता लोप हुने र आधुनिक संस्कार संस्कृतिले अड्डा जमाउने निश्चित छ ।