पुख्यौली पेशा आरनमा सन्तुष्ट बनेका विश्वकर्मा दाजुभाई, मासिक लाख कमाई


आदर्श अनलाइन, बागलुङ

नेपालमा पछिल्लो समय आरन व्यवसाय धरासायी बन्दै गइरहेको पाइन्छ । आरन व्यवसायबाट गुजरा चल्न छाडेपछि विभिन्न पेशा व्यवसाय अगाल्नेहरुको लर्कोनै लागेको समयमा बागलुङको बिहुँ घर भई गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा आरन व्यवसाय गर्दै आएका विश्कर्मा परिवारका तीन भाई भने यही पेशाबाटै सन्तुष्ट भएका छन् ।

भाई–भाई बीच रिसराग हुँने नेपाली समाजमा यहाँ तीन भाईले एकै स्थानबाट १२ वर्ष देखि आरन पेशालाई हाक्दै आएका छन् । काठेखोला गाउँपालिका–५ बिहुँ घर भई १२ वर्ष देखि तीन भाइले हटिया बजारमा तामाका भाँडा कुडा र बजाका सामाग्री बनाउदै आएका छन् । जेठो भाई देविलाल विश्वकर्मा, माइलो कृष्ण विश्वकर्मा र कान्छो भाई राम बहादुर विश्वकर्माले संयुक्त रुपमा हटिया बजारमा बिहुँ आरन सेवाका नामले आफ्नो व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।

उनिहरुले आफ्नो पुख्यौली पेशा व्यवसाय धान्दै मात्रै छैनन् संयुक्त रुपमा मासिक एक लाख भन्दा बढी आम्दानी समेत गर्दै आएका छन् । शुरुमा पुख्यौली पेशालाई विश्वास नगरेका उनिहरु विदेशको दुःखले खारिएको बताउछन् ।

पुख्यौली पेशा छोडेर १२ वर्ष अघि विदेश गएका तीन भाई विदेशबाट फर्केर तामाको भाडाँ कुडा निर्माण र बाजाका सामाग्री बनाउन थालेका हुँन् । उनिहरुले उत्पादन गरेको तामाका सामाग्रीलाई बजारको अभाव भने छैन ।

जेठो भाई देविलाल विश्वकर्मा चार वर्ष मलेशिया, माइलो कृष्ण विश्वकर्मा सात वर्ष मलेसिया र कान्छो भाई राम बहादुर विश्वकर्मा ६ वर्ष साउदीमा विताएका थिए ।

सात वर्ष मलेसियामा दुःख गरेपनी भनेजस्तो राम्रो कमाई नभएपछि फर्केर गलकोटको हटिया बजारमा आरन सञ्चालनमा ल्याएको माइलो भाई कृष्ण विश्वकर्माले जानकारी दिनुभयो ।
“विदेशमा केही हुन्छ की भनेर गइयो आखिर दुखनै रैछ, त्यसैले पुख्यौली पेशा जोगाउदै आरन व्यवसाय गर्ने निधोका साथ हटिया बजार झरेका थियौं” विश्वकर्माले भन्नुभयो “आरन व्यवसाय समेत परिवर्तन भएको छ, अहिले हामीले फलामका भाडा, कुडाँ र औजार बनाउनै भ्याइन छोड्यौं, अहिले हामीले तामाका भाडाँ त्यो पनि सजावटका सामाग्री, फिल्टर, जग, नौमती बाजाहरु बनाउन थालेका छौं ।”

विश्वकर्माले पछिल्लो समय आरनमा फलामको भाँडा बनाउने समयनै नभएको बताउनुभयो । उहाँले हटिया बजारका घरमा सजाउनका लागि सर्वाधिक रुपमा कलश (हत्तर)को माग बढेकाले बढी त्यही निर्माण गर्ने कार्यमा जुटेको उहाँको भनाई छ ।
उनिहरुले विदेशमा गरेको दुःख भन्दा आफ्नै पेशालाई थप आधुनिकता सहित परिमार्जन गरेर अगाल्नका लागि स्वदेशमा फर्केको उनिहरु बताउछन् । तामाको भाडाँ बनाएरै रमाएका उनिहरुले मासिक एक लाख बढी कमाई भएको बताउछन् ।

तामाको भाडामा पानी खाने प्रचलन भएको बताउदै तामाको भाडाको अत्याधिक माग रहेकाले अहिले त्यतै आफ्नो आरन व्यवसाय केन्द्रित भएको अर्का भाई राम बहादुर विश्कर्माले बताउनुभयो । आरनमा तीन भाई मिलेर काम गर्ने र भएको आम्दानी महिना दिनमा बाढ्ने गरेको उहाँले बताउनुभयो ।

“अहिले ठूला गाउँरो विगारेर जग बनाउने प्रचलन छ, मानिसहरुले आधुनिक सजावटका भाडाँ खोजेको पाइयो, हामीले व्यवसायलाई त्यसै अनुरुप परिमार्जन गर्दै आयौं” विश्वकर्माले भन्नुभयो “कोइला बढी खपत हुँनेर आम्दानी कम हुँने भएकाले फलाम छोडेर तामाका भाडा बनाउन लागेका हौं, विदेशमा गरेको दुःख भन्दा यही सन्तुष्ट छौं, आरनबाटै कमाएको रकमले छोरा छोरी पढाएर, बिहेदान गरियो यसैलाई सन्तुष्टी मान्दै आएका छौं ।”

तामाका भाडा बाहेक कर्नाल, सनाई लगायत बाजाका सामाग्री र फिल्टर समेत आफूहरुले बनाउदै आएको जेठो भाई देविलाल विश्वकर्माले बताउनुभयो । परम्परागत पुख्यौली पेशा धान्दै तीन भाईले मासिक एक लाख आम्दानी गर्न सफल भएकोमा उनिहरु सन्तुष्ट देखिन्छन् । गलकोटको हटिया बजार विस्तार भइरहेको सन्दर्भमा उनिहरुले आरनमा बनाएको तामाको भाडाँ गलकोटेको रोजाई बन्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *