कृषिता अधिकारी (निशा)
यतिबेला देशमा चुनावको रौनकता छाएको छ । चारैतिर चुनावी माहोलको चर्चा परिचर्चा चलिरहेको छ । सरकारले २०७९ वैशाख ३० गतेका लागि स्थानीय तह चुनावको मिति घोषणा गरेसँगै चुनावी माहोल तातिएको छ । निर्वाचनको मिति घोषणा भएसँगै चुनावी प्रचार प्रसारमा जनप्रतिनिधिहरु विभिन्न जिल्लामा आम सभा सम्मेलनमा व्यस्त भएको अवस्था छ ।
वास्तवमा व्यक्ति व्यक्ति मिलेर परिवार बन्छ, परिवार परिवार मिलेर समाज यही समुन्नत समाज नै देशको मेरुदण्ड बन्दछ । पारिवारिक सदस्यको विचार राम्रो भए घर बलिष्ट हुन्छ, शान्ति छाउँछ । घर बलियो भए समाज स्वतः समुन्नत हुन्छ । हामी सबैलाई थाहा छ, यो सर्वमान्य तथ्य हो । परिस्कृत समाजको परिकल्पनामा चुनावी सरगर्मीमा मुलुक यतिखेर दौडाहामा छ । पार्टीहरुलाई भ्याइ नभ्याइ छ । गाउँपालिका, नगरपालिका र महानगरपालिका प्रमुख, उप–प्रमुखका लागि योग्य व्यक्तिहरुका दौडधूपको कसरत गर्दै विभिन्न पदमा उम्मेदवारी दिने होडबाजि चलिरहेको छ । आदर्श समाजको परिकल्पना जतिखेर पनि हुनुपर्छ । किनकि हामी सबै आमजनतामा एक आपसमा समन्वय भावना हुनुपर्छ । त्यस्तै सरकार एकातिर, जनता अर्कातिर र नेता आफ्ना स्वार्थतिर लागे भने गम्भीर परिणाम निम्तिन सक्छ ।
यतिखेरको मुख्य विषयवस्तु नै चुनाव रहेको छ । हाम्रा प्रतिनिधिहरु राजधानी तथा ७७ वटै जिल्लामा व्यस्त देखिन्छन् । अहिले सञ्चार जगत पनि यसैमा रुमलिएको छ । निर्वाचन मिति घोषणा प्रमुख प्रतिपक्षी दल एमालेले स्वागत गरेसंगै सबै राजनीति दलहरूको ध्यान स्थानीय निर्वाचनतर्फ केन्द्रीत बनेको छ ।
निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रत्येक स्थानीय तहमा निर्वाचन कार्यलय स्थापनाका लागि उपयुक्त सरकारी, सार्वजनिक संस्था, विद्यालय वा निजी भवनको विवरण माघ मसान्तभित्रै पेश गरे लगत्तै यतिबेला देशैभरि चुनावी माहोल तातिरहेको छ ।
त्यसैगरी अघिल्लो पटक करिब आठ अर्ब रुपियाँमा स्थानीय तहको चुनाव सम्पन्न गरेको थियो भने अहिले निर्वाचन आयोगले निर्वाचन गराउन करिब १२ अर्ब रुपियाँसम्म लाग्न सक्ने आँकलन गरिएको छ । अर्कोतिर निर्वाचन आचार संहितामा चुनावी प्रचारको सीमा तय गरि राजनीतिक दल वा उम्मेदवारहरुको निर्वाचन चिंन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप लगाउन पाउने छैनन् । आचारसंहिता लागू भएपछि सामाजिक सञ्जालको प्रयोगबाट प्रचारप्रसार गर्दा उम्मेदवार तथा मतदाता र आमनागरिक समेत सचेत बन्नुपर्ने छ । सामाजिक सञ्जालबाट निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण राख्ने जस्ता काम गर्न पाइने छैन । त्यस्तै जेष्ठ नागरिक, महिला यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या गर्ने गरी चुनावी प्रचार गर्न बन्देज गरिएको छ । चुनावी प्रचारमा १८ वर्ष भन्दा मुनिकालाई प्रयोग गर्न पनि पाइने छैन । निषेध गरिएको समय र स्थानमा सभा, जुलुसहरु गर्न नपाइने, सार्वजनिक आवागमनमा अवरोध पु¥याउन नपाइने जस्ता प्रावधान रहेका छन ।
आचारसंहिता विपरित सामाजिक सञ्जालमा सामग्री राख्ने, शेयर गर्ने जस्ता गतिविधि गरेमा आयोगले सुरुमा सचेत बनाउने, दोहोर्याएर कानुनी उपचार खोज्ने र अन्तिममा कारबाही गर्ने भनेको छ । यस किसिमको प्रावधानले कतै निर्वाचन स्पष्ट र मर्यादित ढंगले सम्पन्न हुन्छ कि अब बन्ने चुनावले देशको मुहार केही हदसम्म फेरिन्छ कि भन्ने आम जनतामा आशाको दियालो बलेको छ । हुन त यस अघि पनि २०७४ सालमा स्थानीय चुनाव सम्पन्न भएको थियो । जसमा दुई तिहाइ बहुमत सरकारले सत्ता सञ्चालन गरेको थियो । तर पाँच वर्ष हुन नपाइ २०७७ साल पौष ५ गते संसद विघटन हुन पुग्यो । जनताको आश भरोसा सबै खरानी हुन पुग्यो वा भनौ यसबाट राजनीतिक रूपमा भाँडोभैलोको स्थिति उत्पन्न हुन सक्ने र कतै प्राप्त लोकतान्त्रिक उपलब्धिहरू जस्तै, संघीयता, समावेशिता, धर्म निरपेक्षता, स्वतन्त्र न्यायपालिका, मानव अधिकार जस्ता कानुनी शासनका आधारभूत तत्वहरु नै खतरामा पर्ने त होइन ? भन्ने चिन्ता सबैलाई हुन थाल्यो र भयो पनि ।
त्यसैगरी एउटै संगठन भित्र पनि भाडभैलो तथा पार्टी विभाजन, एकले अर्काको खिचातानी आरोप प्रत्यारोप हुन थाल्यो । आखिरीमा अन्ततः हात्ती आयो, हात्ती आयो फुस्सा भयो आम जनताले सोचे जस्तो र चाहे जस्तो पूरा हुन सकेन न त देश सम्वृद्धि तर्फ जान पुग्यो ।
तसर्थ, हाम्रो मुलुक एकपछि अर्काे द्वन्द्वमा फसिरहेको छ । त्यो हामी सबैलाई थाहा भएको कुरा हो किनकि हाम्रो सिमाना कालापानी, लिपुलेक, लिपियाधुरा मिचिन पुग्यो । त्यस बिचमा पनि ठूलो संघर्ष भयो । अर्कोतिर एमसिसि पास भयो । एमसीसी पास गर्नाले हामी सर्वसाधारणलाई ठूलो असर पुगेको छ किनभने पेट्रोल डिजेलको भाउ बढ्न थाल्यो, ग्यास , चामल तथा फलफूलमा समेत चरम भाउ बढ्नाले हामी सर्वसाधारण चरम मारमा परेका छौ । तर सरकार मौन बसेकोछ । त्यस्तै चुनाव माहोल तात्तिएसंगै हाम्रो समाजिक वातावरण पनि खलबलिएको छ । किनकि हाम्रो समाजमा पार्टीका कारणले एकले अर्कालाई गिराउने, काँध चढेर उक्लने, आफूलाई सर्वश्रेष्ठ ठान्ने संस्कृति विकास उत्पन्न भएको छ । वास्तवमा भन्ने हो भने आम नागरिक कुहिराका कागजस्तै भएका छन । तर साँढेहरुका जुधाइले बाच्छालाई प्रभाव पर्न गयो भने बडो दुर्भाग्य हुनेछ । यो हामी आम जनताले सोच्ने बेला आइसकेको छ । त्यसैले यसपालिको चुनावमा हाम्रालाई भन्दा पनि राम्रालाई चुनौ कसैको धाक धम्की प्रलोभनमा आएर होइन आफ्नो अमुल्य मत यस्तो नेतालाई दिउ जस्ले देशको निमित्त राम्रो काम गरोस र हाम्रो समाज पनि नखल्बियोस । म यो पार्टि, म यो पार्टि भनेर होइन आफ्नो आफ्नो सिद्धान्तमा रहेर शान्तिपूर्ण भोट दिउ तर समाज द्वन्द्व तर्फ नधकेलौ । किनकि जिउदाको जन्ति र मर्दाको मलामी सबैलाई सबैभन्दा मान्छे चाहिन्छ पार्टिगत हिसाबले आपसी सम्बन्ध नबिगारौं र अमुल्य मत दिई असल नागरिक बनौं ।