आगामी निर्वाचनमा एमालेलाई जिताउन घर घरमा पुग्न महिलाहरुलाई एमाले नेतृ थापाको आव्हान


आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा अखिल नेपाल महिला संघका केन्द्रीय संयोजक थममाया थापाले आगामी निर्वाचनमा एमालेका उमेदवारलाई विजयी बनाउन मतदाताको घरघरमा पुग्न महिलाहरुलाई आव्हान गर्नु भएको छ ।

अखिल नेपाल महिला संघ बागलुङको बुधवार आयोजित छैठौ जिल्ला सम्मेलनको उद्घाटन पछि बोल्दै थापाले महिलालाई आर्थिक सामाजिक तथा सांस्कृतिक रुपमा अगाडि बढाउने पार्टी एमाले भएकाले एमालेलाई जिताउन महिलाहरु सक्रिय भएर लाग्नु पर्ने बताउनु भएको हो ।

मुलुकको समृद्धि र महिलाको समग्र विकासका लागि एमाले र अखिल नेपाल महिला संघले गरेका कामहरुको बारेमा आम मतदातालाई जानकारी गराउन सके मात्रै निर्वाचनमा मतदाताले एमालेको पक्षमा मतदान गर्ने उहाँको भनाइ थियो । जनतालाई साचो कुरा भनिदिए मात्रै भोट एमालेलाई हाल्छन् भन्दै थापाले प्रत्येक घरमा पुगेर महिला लगायत मतदातालाई भेट्न उहाँले आव्हान गर्नु भयो ।


राज्यका हरेक तहमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न, स्थानीय तहमा ४० प्रतिशत महिलाको अनिवार्य सहभागिता गर्न तथा महिलाका हक अधिकारको ग्यारेण्टी गर्न नेकपा एमाले र यसको भातृ संगठन अखिल नेपाल महिला संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, पूर्वमन्त्री समेत रहेकी थापाले भन्नुभयो–‘महिलाको समग्र विकासमा अनेमसंघको योगदान र मुलुकको समृद्धि, राष्ट्रियता र जनजिविकाका सवालमा एमालेले गरेका काम जनताका बीचमा लैजान सके एमालेको जित सुनिश्चित हुन्छ ।’

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा खेलकूद विभाग प्रमुख लिला बहादुर थापा, पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेशका सह–इन्चार्ज मन कुमारी केसी जिसी, केन्द्रीय सदस्य तथा अनेम संघ गण्डकी प्रदेश संयोजक टुका हमाल, केन्द्रीय सदस्य तथा अनेमसंघ गण्डकी प्रदेश सचिव सिता सुन्दास, केन्द्रीय सदस्य तथा अनेम संघ गण्डकीका सहसंयोजक तारामाया थापा, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपाली, केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, प्रदेश कमिटि सदस्य जनक पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य सावित्रा रानाको अध्यक्षता, उपाध्यक्ष यमुना रानाको स्वागत र लक्ष्मी बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *