बागलुङमा गठबन्धनको चुनावी वार्ता निष्कर्षबिहीन बन्दै, तालमेलको संभावना कम

आदर्श अनलाइन, बागलुङ
स्थानीय निर्वाचनको काउण्ड डाउन शुरु भएको छ । बैशाख महिना शुरु भएसंगै निर्वाचनको काउण्ड डाउन शुरु भएको हो । निर्वाचनका लागि उमेदवारी दर्ताको दिन नजिकिदै जादा दलहरु उमेदवार छनोटमा जुटेका छन् । आन्तरिक रुपमा उम्मेदवार छनोटमा लागेका दलहरु मध्ये गठबन्धनका दलहरु भने भागवण्डामा केन्द्रित भएका छन् ।

५ दलबीच भागवण्डा मिलाएपछि मात्रै उमेदवार टुंग्याउने मिसनमा रहेका दलहरुको वार्ता निष्कर्षमा पुग्न कठिन देखिदै गएको छ । बागलुङमा ५ दलीय चुनावी वार्ता निष्कर्षविहीन बन्दै गएको छ । विगत दुई सातादेखि ५ दलका शिर्ष नेतृत्व बीच भैरहेको वार्ता निष्कर्षबिहीन बन्दै गएपछि तालमेलको संभावना पनि कम हुदै गएको हो ।

जिल्लामा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलका बीचमा केही सैद्धान्तिक विषयमा छलफल गर्ने, चिया पिउने तथा फोटो खिचाउने काम बाहेक केही उपलब्धी नभएको गठबन्धन स्रोतले जनाएको छ ।

गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले केन्द्रीय गठबन्धनको तालमेलको आधार र मापदण्डमा मात्र जिद्दी गर्दै ठुलो दलको दम्भ प्रस्तुत गर्दै आएको र अन्य दलले आफ्नो सम्मानजनक उपस्थितिको कुरा गरिरहेकोले तालमेलको संभावना निकै न्यून देखिएको गठबन्धन दलका एक नेताले बताए ।

केन्द्रले २०७४ सालको स्थानीय जनप्रतिनिधिले ल्याएको मतलाई आधार मानेर छलफल गर्ने मापदण्ड बनाए पनि गठबन्धन घटक राष्ट्रिय जनमोर्चा त्यसपछिको पार्टीको आधिकारीक धारणा आएको छैन । बागलुङमा समानुपातिक मतमा ढोरपाटन र जैमिनी नगरपालिकामा राजमो पहिलो स्थानमा रहेकोले उसले ति पालिकामा दावी गर्दै आएको स्रोतले बताएको छ ।

जैमिनीमा झिनो मतले पराजय भएको जनमोर्चाले समानुपातिक मतलाई आधार मान्दा पहिलो पार्टी भनेर दावी गर्दै आएको र कांग्रेसले स्थानीय तहको निर्वाचनमा मेयर जितेकाले दिन नसक्ने बताएपछि वार्ताले सार्थकता पाउने संभावना कम देखिएको छ ।

निरन्तर रुपमा भएका वार्ता उपलब्धीमुलक नदेखिएपछि वार्र्ता टोलीमा रहेका नेताहरु समेत वार्ताा जान छाडेका छन् । शुक्रवार भएको गठबन्धनको वार्तामा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी नभएको गठबन्धन स्रोतले जानकारी दिएको छ ।

जिल्ला अध्यक्ष अमर थापा, सचिव भिमलाल पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना र तिलक थापा जिल्ला बाहिर रहेका कारण वार्तामा सहभागी नभएको भनिए पनि राजमोले पछिल्लो समय वार्तामा जानुको औचित्य नभएको बताउन थालेको छ ।

जिल्लामा गठबन्धनको चुनावी तालमेल हुने संभावना कम हुदै गएका कारण स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल हुने संभावना बढ्दै गएको छ । विगतमा पनि बाम गठबन्धन हुदै आएको र नेकपा एमालेले पनि गठबन्धन फुटाएर अन्य शक्तिसंग तालमेल गर्न चाहेकाले गठबन्धनको वार्ता निष्कर्षबिहीन हुँदै गर्दा एमालेसंगको तालमेललाई नकार्न नसकिने गठबन्धन स्रोतको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *