जात व्यवस्थाको अनेक रुप

सम्पादकीय
नेपालमा जातिय विभेद उन्मुलन भएको घोषणा गरेको वर्षौ बितिसकेको छ । यद्यपि, समाजमा विभेदले अनेकन रुप लिएर बसिरहेको तथ्य बेला बेलाका घटनाहरुले पुष्टि गरिरहेको छ । यो सत्य हो कि तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तीस बर्णको साझा फूलबार हो । यो देशमा धेरै जाजातिका, भाषाभाषिका, धर्मका, लिंगका मानिसहरु छन् । जसका आ आफ्नो संस्कार संस्कृति, रितिरिवाज, चालचलन, चाडपवर्पहरु छन् । जसले नेपाललाई बहुआयामिक देशको रुपमा चिनाएको पनि छ । तर, मुलुुकमा रहेका बिभिन्न जातजातिका बिचमा हुने विभेद, उपेक्षा, अपमान, हेय र दुव्र्यवहारका घटनाले भने कुरुप चरित्र र परिदृश्य देखाउँछ । एक कुनै जातले स्वघोषित ठुलो महान र अर्को कुनै जाति सानो तल्लो जातको भन्ने अहम्ता पालेर समाजमा बिभेदको खाडल आज पनि बनाउने प्रयास अनेकन कोणबाट भइरहेको छ ।

केही दिन अघि मात्रै चर्चित गायिका मेलिना राइले प्रविन बराइलीसँग इन्गेजमेन्ट गरिन् । उनले केही समय लगत्तै विहे गर्ने बताएकी छिन् । तर, उनको इन्गेजन्मेन्टले देशव्यापी तरंग त्यतिबेला ल्यायो । जतिबेला उनले जातिय रुपमा कथित सानो जातका बराइलीसँग बिहे गरेको भनेर सामाजिक सञ्जाल मार्फत विशेषगरी राइ लिम्बु समुदायबाट चर्को आलोचना र अपमान खेपिन् । यसले हाम्रो देश नेपाल आजको दिनमा पनि कुन चेतनाले गुज्रिरहेको छ ? हाम्रो शैक्षिक प्रमाणपत्रका असली हैसियत कस्तो छ ? दलित र गैर दलित समुदाय बिचको विभेद आजको उन्नत व्यवस्था र समाजमा पनि किन यस्तो दुखद र बिडम्बनापूर्ण अवस्थामा छ ? जाति जाति बिच, समुदाय समुदाय बिच अझै पनि फरक फरक शैलीमा किन बिभेदले जरा गाडेर बसिरहेको छ ? यो गम्भिर सवाल हो ।

पछिल्लो घटनाले व्यवस्था फेरिए पनि अवस्था फेरिन सकेको छैन भन्ने तथ्य प्रष्ट हुन्छ । समाजमा विशेषगरी ब्राह्मण र क्षत्री समुदाय बिभेदमा कट्टर मानिन्छ । तर, यसबाहेक समानताका लागि उदार मानिएको जनजाति समुदायबाट पनि एउटा युवा युवति बिच प्रेम भएर बिहे गर्ने मामिलामा भएको कुत्सित बिभेदको मानसिकता र आक्रमणले बिभेद आजको दिनमा पनि भिन्न स्वरुपमा समाजमा बिद्यमान छ भन्ने कुरा छिपेन । नेपालको संविधानले पनि जातिय बिभेदलाई दण्डनीय मानेको छ । यद्यपि, आजको २१ औं शताब्दी र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि बिभेद नयाँ स्वरुपमा देखिएको छ । यसले कथित ठुला भनिएका जातिको चेतना, विवेक र मानवीयताको असली मुखुण्डो र हैसियत समयले छर्लगं उतारिदिएको छ । अब आजको समयमा पनि खुलेआम जातिगत चिन्तनले सानोे ठुलो स्वघोषणा गरेर बिभेदको खाडल बनाइ राख्ने सोच, चिन्तन बोकेकाहरु बिरुद्धको नयाँ खालको आन्दोलन, अभियान र खबरदारी जरुरी छ । यसमा राज्यले पनि बिद्यमान ऐन, कानुनको प्रभावकारी कार्यन्वयन र कदम चाल्न अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *