निसीखोलामा यस वर्ष सात झोलुङ्गे पुल बन्दै

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिकामा अहिले धमाधम झोलुङ्गे पुलहरु निर्माण भइरहेका छन् । गत वर्ष गाउँपालिकाको विभिन्न वडाहरुमा सात वटा झोलुङ्गे पुल निर्माण भएका थिए भने यस वर्ष पनि थप सात वटा नयाँ झोलुङ्गे पुल निर्माण हुँदैछन् । पुल निर्माणले स्थानीयमा खुसी समेत छाएको छ । गाउँपालिकाले जिर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गर्ने अभियानलाई तीव्र बनाएको छ ।

गत वर्ष गाउँपालिकाको वडा नम्बर ६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नम्बर ७ को कुतखोलाघाट, वडा नम्बर ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नम्बर १ को माराघाट, वडा नम्बर २ धौलेघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएर संचालनमा आएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

यहाँका अनुसार यस वर्ष निसीखोला गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने कारीखोलामा, वडा नम्बर ६ को मगराखोलामा वडा नम्बर ५ यारीखोलामा, वडा नम्बर ३ र ४ जोड्ने गतेराखोलामा वडा नम्बर २ र ३ जोड्ने खग्रेनीघाटमा, वडा नम्बर एको आठबारेघाटमा र वडा नम्बर ७ को खनिबासमा नयाँ पुल निर्माण भइरहेका छन् ।

पुल निर्माणपछि दैनिकी सहज बन्ने निसीखोला गाउँपालिका वडा नम्बर ५ का मानसिंह बुढाले बताउनुभयो । उहाँले पुल जिर्ण भएपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको भन्दै अब यसको अन्त्य हुने उहाँले विश्वास छ ।

‘अहिले यो खोला सानो छ, वारपार गर्न सकिन्छ तर वर्षातको समयमा खोला बढेर पानी माथि–माथि आएको हुन्छ, खोला तर्नै सकिदैन,’ बुढाले भन्नुभयो ‘यहाँ समस्या भएपछि हामीले गाउँपालिका अध्यक्षलाई अनुरोध गरेका थियौँ, यसपाली योजना परेर काम हुँदैछ, यो बर्खा त खोला वारपार गर्न सजिलो हुन्छ होला ।’

उहाँले पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती र सकस पाउने गरेको बताउनुभयो । निसीखोला वडा नम्बर ७ का प्रतापजंग थापाले खोला वारपार गर्ने झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिम मोलेर यात्रा गर्नु परेको भन्दै अब यो समस्याको समाधान हुने उहाँको भनाई छ । पुल निर्माणपछि गाउँका सबै नागरिकलाई वारपारमा सहजता थपिने थापाले बताउनुभयो ।

सात वटा पुल निर्माणका लागि झण्डै दुई करोड बजेट लाग्ने सूचना अधिकारी गौतमको भनाई छ । केन्द्रीय सरकारको ८७ प्रतिशत र गाउँपालिकाको १३ प्रतिशत बजेट साझेदारीमा पुल निर्माण हुन थालेको गौतमले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जनताको माग र आवश्यकताको आधारमा पुलहरु निर्माण भइरहेको बताउनुभयो । अध्यक्ष पौडेलले पालिका भित्रका कुनै पनि नागरिकलाई खोला वारपारमा समस्या नहोस भन्ने हेतुले केन्द्रीय सरकारसँगको समन्वयमा पुल निर्माण गरि रहेको बताउनुभयो ।

‘खोला वारपारका लागि पुल नहुँदा विगतमा निसीखोलाका धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको थियो, अब त्यस्तो अवस्था नआओस भन्ने हिसाबले पुल निर्माणलाई जोड दिएका छौँ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘जनताको माग र आवश्यकतालाई मध्यनजर गरि पालिकाको विभिन्न वडाहरुमा पुल निर्माण गरि रहेका छौँ, अघिल्लो वर्ष पनि धेरै पुलहरु निर्माण भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *