बागलुङ कालिका : मौलिक चैतेदशैं मेला र आधुनिकको प्रभाव

सरोजराज पन्त
संस्कृति मानव जीवनको अभिन्न अङ्ग हो । संकृतिलाई जीवन्त राख्न चाड पर्वहरुको गहन भूमिका रहन्छ । हाम्रा संस्कार, मूल्य, मान्यता र परम्पराहरुलाई यिनै चाड पर्वहरुले सुरक्षित राख्दछन् । त्यस्तै महत्वपूर्ण संस्कृति मध्येको बागलुङ चिनाउने चैते दशैंमेला एक विशेष नेपालीहरुको चाड हो । परम्परागत कथनहरुका अनुसार पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो अर्थात चैतै दशैंलाई वडा दशैंको रुपमा मनाउने गरेको विस्वास गरिन्छ । वसन्त ऋतुको समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको मासु, चिउरा, कुराउनी लगायतका गरिष्ठ भोजन र हिँडडूललेगर्दा मानिसहरु बिरामी परेपछि दशैंलाई वर्षको मध्य शरद ऋतुमा असोज कात्तिक महिनाको शितल, सहज, मनोरम समयमा सारिएको मान्यता छ ।

चैते दशैं शरद ऋतुमा मनाइने भएकोले बडा दशैं जस्तो उल्लास, चहल पहल र घरघर गएर ठुलाबडाको हातबाट टिका र आर्शिवाद थाप्ने कार्य नभए पनि दुर्गा भवानीको पूजाआजा गर्ने गरिन्छ । अष्टमी तिथिको दिन आफन्तजनसँग बसेरसँगै खानपिन गर्ने र भगवान राम जन्मेको तिथि रामनवमी विशेष उल्लासकासाथ धार्मिक अनुष्ठानमा संलग्न भई यी दुई पर्व मनाउने गरिन्छ ।

नेपालमा चैते दशैंलाई सानो दशैं भन्ने गरिन्छ भने छिमेकी देश भारत, बंगलादेश र म्यानमारमा नवरात्री भन्ने प्रचलन छ । दशैं भन्ने वित्तिकै दशमी बुझिए पनि नेपालमा दशैंको रौनक अष्टमीको दिन बली दिने कार्यमा केन्द्रित रहन्छ । वसन्त ऋतुमा चैत शुक्ल अष्टमीका दिन देशभर बागलुङ कालिका, गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी, संकटा लगायतका देवी मन्दिर र कोटमा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने र महाकाली, महालक्ष्मी र महासरस्वतीको धुमधामसँग पूजाअर्चना गर्ने चलन छ । यसैगरी उपत्यकाका तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका मन्दिरहरुमा यसदिन वली दिइन्छ । यसरी वली दिने कार्यमा नेपाली सेनाको पनि सहभागीता हुन्छ ।

चैते दशैसँगै मर्यादा पुरूषोत्तम रामचन्द्र १४ वर्षे वनवास पछि अयोध्या फिर्नुुभएको र, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ रावणको दुस्साहस, असुरमुखी व्यवहारवाट मानव तथा संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुपरेको र रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको मान्यताको कारण आजप्रर्यन्त मर्यादा पुरूषोत्तम राम अनि दुर्गामाताको पूजा गरिन्छ । मर्यादा पुरूषोत्तम राम १४ वर्ष वनवास जीवन बिताएर चैते दशैंका दिन सकुशल आगमन भएकोमा अयोध्यावासी सबैले असत्यमाथी सत्यको जित भएको अबसरमा चैते दशैं मनाएका र यही मान्यता स्वरुप यो पर्व मनाइन्छ ।

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजोका रुपमा कालिका मूर्ति ल्याएको इतिहास रहेका छ । राजाले उक्त मूर्ति घना जङ्गलको बीचमा यहाँ ल्याएर स्थापित गरेपछि पूजा गर्ने चलन बसेको किंवदन्ती अनुसार विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गरेको र राजकुमारीले आफुसंगै दाईजोको रुपमा ल्याएकी थिइन । यसरी जन्तीसँगै ल्याएको माझकी देवीको मूर्तिलाई राती बास वस्नेक्रममा अहिलेको कालिका मन्दिर भएको ठाउँमा राखियो । बिसाएपछि पुनः बोक्न खोज्दा उठाउन नसकेपछि मूर्ति सहितको डोली उठाउन हरपहल गर्दा पनि डेग नचलेपछि उक्त ठाउँमा नै मन्दिर स्थापना भएको र सोही समयदेखि नियमित पूजाआजसँगै चैते दशैं मेलाको सुरु भएको किम्बदन्ती पाइन्छ । राजकुमारीको प्रिय देवीलाई यही छाड्नु परेपछि राजाले रानीलाई खुसी पार्न हरेक चैते दशैंमा मेला गर्ने परम्पराको थालनी गरेको बताइन्छ । बागलुङ कालिका मन्दिर अहिले बागलुङको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।

अहिले पनि यहाँ चैतेदसैँ र बडा दसैँमा ठूलो मेला लाग्छ भने अन्य समयमा दैनिक सयौँ भक्तजन आएर पूजा गर्ने क्रम रहेको छ । बागलुङको पर्यटन प्रवद्र्धनका लागि हरेक बर्ष मेला र कालिका मन्दिर महत्वपूर्ण गन्तव्य भएको तथा पर्यटनको लागि महत्वपूर्ण गन्तव्य र बागलुङको पहिचान चैतेदसैँ मेला तथा कालिका भगवती मन्दिर बनेको छ । पहिलेदेखि स्थानीयवासी कालिका मन्दिरमा लाग्ने मेलाको महत्व र यसले जिल्लाकै पर्यटनमा योगदान पुगेकोले यस सस्कृतिको निरत्तरतामा जोड दिन्छन तथापि विश्वव्यापी कोरोना सङ्क्रमणका कारण दुई वर्षसम्म मेला हुन सकेको थिएन ।

चैते दसैं मेला बागलुङको ब्राण्ड बनिरहेको छ । पश्चिम नेपालकै ठूलो र मौलिकको पहिचान बनेको यो मेला हो । यो मेला झन्डै ५ सय वर्ष पुरानो भएको मानिन्छ । चैते दसैं मेला बागलुङको मात्र नभइ पश्चिम नेपालको परम्परागत रुपमा किनमेल गर्ने बजारको लागि पनि प्रख्यात रहेकोमा आधुनिकताको असरले मौलिकता माथि धावा बोलेको जनगुनासो छ । चैते दसैंमा यो क्षेत्रका उत्पादन, मौलिक कलाका सामानहरु किन्न पाइन्छ । डोको, डालो, नाङलो, ठेकी, कुटो, कोदालो, चुलेसी, खुकुरी, बुटेनली, सोली, मान्द्रो, मादल, बासुरी, खुपेटो लगायतका दर्जनौं हस्तकलाका सामानहरुको लागि मेला प्रख्यात छ । अहिले सबै प्लाष्टिकका मान्द्रो,आल्मुनियमका ठेकी लगायतका सामान आएपछि हातले बुनेका चिजहरुको व्यापार हुन छाडेको छ । अहिले यसको व्यापार निकैै घटेको छ । मेलामा झाँकी, घरेलु उत्पादन, ढाका टोपी, अल्लोको कपडा, ढाकाको कपडा, मादल, बुट्टेनली लगायतका उत्पादनहरूदेखि नै छोडेका छन् । प्लाष्टिकको सामान सस्तो मूल्यमा आउने भएपछि मेहनत गरेर बनाएको वस्तुको लागत बढि हुने भएकोले व्यापार घटेको छ । पहिले चैत्राष्टमी मेलामा घरेलु उत्पादनका वस्तुहरु खरिद गर्नकै लागि मानिसहरु आउने गरे पनि अहिले साना पाथीहरु विक्री हुने डोको, डाला, नाङ्ला, मादलहरु पनि विक्री हुन छाडेका छन ।

बागलुङ कालिका मन्दिर नेपालको बागलुङ जिल्लाको सुदूरपश्चिमा क्षेत्रमा अवस्थित छ । यो नेपालको इतिहासमा धेरै प्रसिद्ध मन्दिर हो । यो मन्दिर देवी काली भगवतीको लागि समर्पित छ । देवी कालीलाई भगवान शिवकी पत्नी दुर्गाको सबैभन्दा शक्तिशाली र खतरनाक रूप मानिन्छ । देवी काली दास महाविद्याको प्रमुख देवी र तन्त्रका दश उग्र देवी वा तान्त्रिक देवी हुन् भन्ने विश्वास गरिन्छ । त्यसैले देवी कालीको आशीर्वादले आफ्ना समस्याहरू समाधान गर्ने, शक्ति प्राप्त गर्न अपेक्षाले मानिसहरू यस मन्दिरको दर्शन गर्छन् । मन्दिर कालीगण्डकीको उत्तरी छेउमा घना जंगलमा अवस्थित छ । हिन्दू संस्कृतिमा यसको धार्मिक महत्वका कारण संसारभरका धेरै भक्तहरूले आफ्नो जीवनकालमा कम्तिमा एक पटक यस मन्दिरको दर्शन गर्छन् ।

चैते दशैको अवसरमा राष्ट्रिय र स्थानीय कलाकारले आफ्नो प्रस्तुतिसहितका सांगीतिक कार्यक्रम हुने गर्दछन् । कालिका मन्दिरमा पूजासँगै मेलामा भलिबल प्रतियोगिता, मेला र साँझ कलाकारहरुको प्रस्तुति भइरहन्छ । मेलाकै अवसर पारेर कालीका कप खुला भलिबल प्रतियोगिता हुने गर्दछ । चैते दसैंको अवसर पारेर देशविदेशमा गएका युवा घर फर्कने पुरानो चलन छ । कालिका मन्दिरमा पूजा गर्न आउनेहरु पनि हजारौं छन् । चैते दसैंको साता दिनमा लामो मेलामा १० लाखभन्दा बढी भक्तजन आउने गरेको रेकर्ड छ । मेलामा रमाइलो मेला, फेन्सी तथा अन्य उत्पादनहरुको बजार समेत लाग्ने गर्दछ ।

वर्षभरि उत्पादन गरेका निगालोको चोयाको डाली, नाङ्ला, डालो चैते दसैं मेलामा राम्रो बिक्री भएर जीवन गुजारा चलाउँदै आएका पुराना व्यापारीहरु अहिले चोयाको उत्पादनबाट जीवन धान्न नसक्ने दुखेसो गर्दछन । चोयाबाट डाला, नाङ्ला, डोको, थुन्से लगायतका सामग्री बुन्ने पुराना सील्पकार पहिलेको राम्रो व्यापार देखेर चैते दसैंमा सामान बोकेर बिक्रीका लागि यहाँ आएपनि अहिले सवारीले सहज बनाएको तर पहिला जस्तो अहिले चैते दसैंको रौनक नरहेको बताउँछन । घरेलु उत्पादन अबदेखि विक्री हुन छाडेकोमा दुखि छन । अहिले प्लाष्टिकका भाँडाकुँडा, खेलौना र खानपिनमा मेला सिमित भएकोले बागलुङ झरेको दुई दिनमा दुइटा मात्रै डालो बिक्री गरेले जीविको पार्जनमा जटिल भएको छ । पहिले चैते दसैंमा दैनिक प्रयोगमा आउने ठेका, डाला, नाङ्ला, बाउँसो, आँसी लगायतका वस्तुहरूको खरिद बिक्री भन्ने बुझिन्थ्यो अहिले त्यस्तो रहेन ।

घरेलु र स्थानीय उत्पादनलाई प्रवद्र्धनका लागि त्यस्ता व्यवसायीलाई रोजेको ठाउँमा निःशुल्क स्टल उपलब्ध गराएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले बताए पनि त्यस्ता व्यावसायीहरुसँग नगरपालिकाले हजार रुपैया कर लिएकोमा दुखित बनेका थिए । मौलिक उत्पादनहरुको किनबेच गर्ने ठाउँको रुपमा परिचित बागलुङ स्थानीय सीप, कलाको प्रवर्द्धन लागि चैत्राष्टमी मेला र चैते दशैले बागलुङमा आन्तरिक पर्यटक भित्राएको र आर्थिक कारोवारमा वृद्धि गर्न सकेमा आगामी दिनमा सहज हुनेछ ।

कालिका मन्दिरमा हुने चैते दसैं मेलामा अहिले घरेलु उत्पादन सामग्री देख्नै दुर्लभ भइसकेको बुढापाकाहरू बताउँछन् । चैते दसैंको समयमा कालिका मन्दिर दर्शन गर्ने र आवश्यक सामग्री वर्षभरिलाई खरिद गर्ने चलन अहिले विस्तारै हराउँदै छ । यसको मौलिकता हराएसँगै खानपान र नाचगानमा मेला सीमित हुन थालेको चैते दसैं मेलामा लामो समयदेखि ठेकाको व्यापारका लागि आउँदै गरेका बागलुङको बलेवा अमलाचौरका एक चुदाराका अनुसार चार पाँच वर्षअघिसम्म ठेकाठेकीको व्यापार निकै राम्रो थियो । पहिले सबै ठेकाठेकी व्यापार गरेर सके पनि अहिले त्यो समयको चैते दसैं र यो समयको चैते दसैंमा आकाश पातालको फरक भइसकेको छ । अहिले आयातीत सामग्रीहरुको खरिदमा स्थानीयबासीको भीड लाग्दछ । आधुनिक उपकरणको विकासले ठेकाको व्यापार नहुने देखियो, पछिल्ला वर्षमा परम्परा धान्न मात्रै ठेका ल्याएको उनको दुखेसो छ ।

धर्म संस्कृतिले मनको शान्तिको काम पनि गर्ने कालिका मन्दिर आएर भगवानको पूजा आराधना गर्दा शान्तिको अनुभूति हुने भएकोले धार्मिक र सांस्कृतिक परम्परा अनुसार भवगती देवीलाई शक्तिको रुपमा पुज्ने चलन रहेको छ । चैते दशैं मेला बागलुङको मुख्य पहिचानको अवसर हो । चैत दशैंका अवसर पारेर अहिले बागलुङ कालिका गुठी भगवती व्यवस्थापन समिति बागलुङले मेलाको आयोजना गर्ने भएपनि विगत लामो समयदेखि स्वतः स्फूर्त रुपमा चैते दशैंको समयमा लाग्ने गर्दथ्यो । विगतमा चैत्राष्टमी मेला वस्तु विनीमयको केन्द्र थियो । बागलुङमा उत्पादन भएका कृषि तथा हस्तकलाका सामग्री, भेडाको उनबाट निर्मित राडी पाखी घुम लगायतका वस्तुहरुमा मेलामा राखिन्थ्यो । तराईबाट पनि मसला लगायतका वस्तुहरु ल्याएर सामग्रीहरु एक आपसमा साटासाट गर्ने चलन थियो । मेलामा आफूलाई बर्षभरि आवश्यक पर्ने वस्तुको जोहो गर्ने चलन थियो । केही वर्ष यता बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले औपचारिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । यो बेला बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि देश विदेशबाट श्रद्धालु भक्तजनहरु आउने गर्छन् ।

गाउँका झाकी, संस्कृति सहित लोकगित, सालेजो लिएर खाजा मकै अन्य खान्की बेपार लिएर मेला भर्न बागलुङ बजार आउने परापुर्वको प्रचलन हो । बागलुङ कालिका मन्दिर र चैते दशैं मेलाले जिल्लाको आर्थिक सामाजिक अवस्थाको उजागर गर्दछ । अहिले मन्दिर नजिकै रहेको लामो झोलूङ्गे पुलले यस क्षेत्रको पर्यटन प्रर्वधनमा झनै टेवा पुगेको छ । बाईसे चौबिसे राज्य हुँदा एउटा राज्यले अर्को राज्यमाथि आक्रमण गररे कब्जा गर्ने चलन रहेको र देवीको पूजा गरेमा शक्ति प्राप्त हुन्छ र युद्ध जितिन्छ भन्ने विश्वासका आधारमा राजाहरुले यहाँ पुजापाठको चलन बसाएको पाइन्छ । चैते दशै मेला यहाँको सामाजिक, सांस्कृतिक, र आर्थिक पक्षसंग जोडिएको छ । चैतें दशैको मौका पारेर यहाँका स्थानीय उत्पादनहरुको विक्री वितरण गर्ने पुरानो परम्परा हो । चैते दसैंमा अहिले घरेलु हातहतियार, खुकुरी, बाउसो, आँसी लगायतका वस्तुहरू बिक्रीका लागि ल्याउन छाडेका छन । चैते दसैं मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि बिस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको छ । प्लाष्टिकका सामानहरु सस्तो मूल्यमा आउने भएपछि मेहनत गरेर बनाएको वस्तुको लागत बढि हुने भएकोले व्यापार घटेको छ । अहिले यहाँ रमाइलो मेला, फेन्सी तथा अन्य उत्पादनको बजार लाग्ने गरेको स्थानीयवासी बताउछन् ।

‘चैते दसैँ बागलुङको मेलैमा, लाइदेऊ माया भेटभाको बेलैमा ’ एउटा पैसा कहिलेलाई, बागलुङ बजार चैते दसैंलाई, बागलुङको बजार चैते दशैमा भेट्न जाउला कान्छी बागलुङ बजार जस्ता मौलिक र चर्चित थुप्रै लोक संगीतको भाखाको गीत बागलुङमा लाग्ने चैते दशैं मेलालाई लक्षित गरेर बनिरहेछन । धेरै वर्ष पहिला बजारमा ल्याएको यी गीतले चैते दसैँको सम्झना गराउँछन ।

नेपाली समाज संस्कृति, गीत संगीत, नाँचगान, चाडबाडमा मौलिक पहिचान र विशेषता बोकेर विश्व समुदाय माझ परिचित छ । यसमध्येको एक मौलिक चाड चैत अष्टमी मेला हो । विगतमा असुर शक्ति माथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुई पटक दसैं मनाउँने गरिन्छ । धार्मिक आस्थाका मात्र नभएर घुम्न आउनेहरु बागलुङ कालिका मन्दिर आउने गरेका छन् । बागलुङ कालिका मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम संग्रहालयलाई प्याकेजको रुपमा अगाडि बढाउने सके यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण हुने देखिन्छ ।

चैते दसैं मेला बागलुङको पहिले देखि नै ब्राण्ड बनिरहेको छ । देशभरका मानिसहरुले चैत्र महिनाको दसैंमा बागलुङ आउने गर्दछन । मेला महोत्सवसँगै पुजाआजा गर्ने कार्यको लागि वार्षिक कार्ययोजनामा बनाउने प्रचलन रहेको छ । तथापि बढदो आधुनिकता, परनिर्भरताको कारण चैते दसैंमा पहिले सुनिने मौलिक संस्कृति र भाकाहरु हराउदै गएको दुखेसो सुनिन थालेको छ । नाचगान आदिमा देखिने ऐतिहासिक मौलिक दृश्यहरु देखिन छोडेको छ । आधुनिकता र पाश्चात्य संस्कृतिले क्रमशः हाम्रा मौलिकता र ऐतिहासिकता माथि निरत्ततर धावा बोलिरहेको छ । यस पक्षमा सरकार र सरोकारवालाको गाम्भीर्यता र कम चासो रहेको पाइन्छ ।

समाज र देशको पहिचान, मौलिकता, ऐतिहासिकता बोकेका विषय, चिजबस्तु, संस्कारलाई समय सापेक्ष रुपमा कला, संस्कृतिका कार्यक्रम, गतिबिधि अघि बढ्ने बढाउने कुरामा सबैको ध्यान जान जरुरी छ । कला, संस्कृतिको संरक्षण, सम्र्वद्धन र प्रवद्र्धन गर्न सबैको साझा पहल, प्रयत्न, सहयोग, सहकार्य हुन जरुरी छ । मौलिकता लोप हुने र आधुनिक संस्कार संस्कृतिले अड्डा जमाउर्दै गए देश परनिर्भरताको चक्रमा फस्ने निश्चित छ ।

बागलुङमा चैते दसैंको ऐतिहासिक महत्व छ । चैते दसैं मेलाले जिल्ला पर्यायबाची बनि सकेको छ । देशभरका यानीमाया, सुनिमाया, दोहोरी गीत गाउनेदेखि भलिबल खेल्ने मनोुन्जन गर्ने, माया पे्रम गर्ने, पूजापाठ गरेर मनोकांक्षा पुरा हुने भएकोले यही अवसर पारेर पुजाअर्चना र दर्शन गर्ने गर्छन् ।तर अहिले पुराना मौलिकता र ऐतिहासिकता बोकेका सामान र विषय क्रमशः हराउँदै जानु दुःखद र विडम्बना भएकोले यस विषयमा सम्बन्धित समुदाय र निकायको समयमै ध्यान जान जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *