गलकोटका पाँच वर्ष : सुशासनमा अब्बल, भौतिक पूर्वाधारमा अगाडी

आदर्श अनलाइन, बागलुङ

गलकोट नगरपालिका स्थापना कालमा एक कोठा र दुई जना कर्मचारीका भरमा थियो । स्थानीय तह निर्माण भइसकेपछि निकै चुनौती, सिमित स्रोत र साधनका बीच गलकोटले सन्तोषजनक प्रगति गर्न सफल भएको छ । पाँच वर्षको अवधीमा गलकोटले सुशासनमा अब्बल बन्दै बिकासको जग बसाल्न सफल भएको छ । नगरपालिकाले आवश्यक ऐन, नीति, कार्यविधि बनाउने, सडकको मापदण्ड, फोहोर व्यवस्थापन, गलकोटका ११ वटै वडा कार्यालय निर्माण, सबै स्वास्थ्य चौकीको भवन निर्माण, बालमैत्री नगरपालिकाको अवधारणा र उद्यमी महिला उत्पादन लगायतका काम गरेको छ ।

गलकोट नगरपालिकाले अहिले केही ठूला महत्वकांक्षी योजना बाहेक घोषणा पत्रमा राखेका ८० प्रतिशत कामहरु सम्पन्न भएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । “नगरले पाँच वर्षको अवधीमा थुप्रै चुनौतीका बाबजुत सुशासनका लागि छ वटा नियमावली, ३४ वटा कार्यविधि र निर्देशिका बनाएर कार्य प्रणलीलाई व्यवस्थित गरेको छ, जस्कारण भष्ट्रचारमा शुन्य सहनशिलता र पारदर्शीता देखिन्छ, महिला उद्यमीसम्म नगर उपप्रमुख, कृषकलाई ऋणको व्याजमा अनुदान जस्ता लोकप्रिय कार्यक्रम सफल भएका छन्” नगर प्रमुख गैरेले भन्नुभयो “हामीकहाँ नगरपालिकाको आन्तरिक स्रोत निकै कम छ, प्राकृतिक स्रोतको आम्दानी छैन, तैपनीपनी शिक्षाको गुणस्तर, सबै वडाका आधुनिक वडा कार्यालय र स्वास्थ्य चौकी निर्माण भएको छ, लामो समयको प्रयासपछि नगरपालिकाको केन्द्र मजुवाँफाटमा ९ रोपनी जग्गा व्यवस्थापन भएर २४ करोड लागतमा प्रशासनीन भवन निर्माणको शिलान्यास गरिएको छ ।”

नगरपालिकाले गरेका राम्रा नराम्रा कामको समिक्षा गर्ने समय आएको भन्दै हचुवाका भरमा अध्ययन विनै ल्याएको महत्वकांक्षी योजनाहरु पुरा गर्न नसकेपनि जनताको आधारभूत आवश्यकता, खरको छानो मुक्त पालिका अन्तिम चरण, भौतिक पूर्वाधार तर्फ अधिकांश वडामा ट्याक्सी चल्ने सडक, सबै टोलमा सडकको पहुँच, पर्यटकीय स्थल मुर्तिकला र सहस्रधाराको विकास लगायतका काम भएको नगरपालिकाको भनाई छ ।

पाँच वर्षमा नगरपालिकामा २७४ वटा सडक, १७८ भवन तथा संरचना, ७९ वटा खानेपानी योजना, ९२ वटा सिचाई, २५ स्थानमा खेल मैदान निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ७ वटा वडा कार्यालय, ५ वटा स्वास्थ्य चौकी, १०६ वटा सामुदायिक भवन, ५९ किलोमिटर नयाँ सडक, १ किलोमिटर ग्राभेल सडक, डेढ किलोमिटर कालोपत्रे सडक, डेढ किलोमिटर ढलान सडक, ३१८ किमि सडक मर्मत, ३९ किलोमिटर कच्ची नाली, साढे दुई किलोमिटर पक्की नालि निर्माण गर्न सफल भएको नगर प्रमुख गैरेले जानकारी दिनुभयो ।

“जनताको दैनिक जीवनमा जोडिएका धेरै योजनाहरु सफल भए, शुरुमा कानून बनाउनै समय लाग्यो, पछिल्लो तीन वर्ष विकासले तिब्रता पाएको हो तर अध्ययन बिनै ल्याइएको हटिया बजारलाई स्मार्ट सिटि बनाउने योजना र जग्गा अभावमा बसपार्क बनाउन सकिएन” नगर प्रमुख गैरेले भन्नुभयो “फोहोर व्यवस्थापन, पूराना बजार पक्की गराउने, कृषि पकेट क्षेत्र निर्माण गर्ने, किसानलाई अनुदान दिने, महिलालाई उद्यम सिकाउने जस्ता कामहरु धेरै नै भए ।”

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ६०० लाई अस्थायी रोजगारी, स्थानीय पाठ्क्रम निर्माण, शैक्षिक प्रोफाईल तथा नगर शिक्षा योजना निर्माण, विज्ञान प्रयोगशाला निर्माण, आलु भण्डारका लागि सित घर निर्माण, एक गाउँ एक उत्पादन कार्यक्रम, बाख्रा र भैसी पकेट स्थापना, ३६६ घरको नक्सा कायम, जिल्लामै पहिलो पकट डिजिटल नगर प्रोफाइल निर्माण, फोहोर प्रसोधन केन्द्र स्थापना, सफ्टवयरबाट राजश्व संकलन, नगर प्रमुख मातृ पोषण कार्यक्रम सफल भएको नगर उप प्रमुख रेणुका काउचाले जानकारी दिनुभयो ।

“बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम नगरको प्रमुख योजना हो जस्ले, शिक्षा, स्वास्थ्य, बाल बिबाह, भौतिक पूर्वाधार बालमैत्री बनाउने जस्ता धेरै कुराको विकास गर्ने रहेछ” उपप्रमुख काउचाले भन्नुभयो “८५ महिला उद्यमीलाई योजना र व्यवसायको आधारमा प्रतिस्प्रधा गरी एक उत्कृष्ट महिला उद्यमी छनौट गर्ने, प्रहरी कार्यालयमा बाल सेलको स्थापना समेत गरिएको छ, बालमैत्रीका हिसावले जिल्लामै अब्बल पालिकामा गलकोट पर्न सफल भइसक्यो ।” नगर पालिकाले धेरै भौतिक पूर्वाधार निर्माण गरेपनि प्रशासकीय भवन निर्माण गर्न जग्गा व्यवस्थापनमै पाँच वर्ष खचर्नु परेको छ । नगरको केन्द्रमा आफ्नै नाममा नौ रोपनी जग्गा व्यवस्थापन नै प्रमुख उपलव्धी मान्दै आएको छ । उर्भर धानको फाँटमा घरहरुले भरिनु भने नगरपालिकाको प्रमुख चुनौती रहेको छ । नगरपालिकाले बढ्दो सहरीकरणलाई भने थेग्न नसक्ने अवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *