करिडोर कालोपत्रे सडक बिभागले अलपत्र नपारोस्

सम्पादकीय
बागलुङमा अहिले दुई महत्वपूर्ण मार्ग निर्माणाधिन अवस्थामा छन् । जिल्लाको पर्वत सिमानासँग जोडिएको मालढुंगाबाट दुवै मार्ग शुरु हुन्छन् या यहाँ जोडिन्छन् । यि दुवै मार्गले जिल्लामा अथाह सम्भावना बोकेर आएको छ । गण्डकी प्रदेश राजधानी पोखरा, पर्वत हुँदै आएको पुष्पलाल मध्यपहाडी लोकमार्ग छ । जो जिल्ला सदरमुकाम हुँदै बिहुँ–गलकोट–बडिगाड–ढोरपाटन भएर दुर्गम भनिने निसीखोला हुँदै पश्चिम क्षेत्रलाई जोडेर रुकुम पुग्न सकिने मार्ग छ । यसले पुरानो दुर्गमताको परिभाषालाई बदल्दिएको छ । र कैयन सम्भावना र अवसरलाई आम मानिसको अगाडी पु¥याईदिएको छ । अर्को तर्फ दक्षिण तर्फ । जो जिल्लाबाट उपेक्षामा परेका गाउँ ठाउँ र भुभाग हो । यद्यपी, अहिले दक्षिण क्षेत्र हुँदै आएको कालीगण्डकी करिडोरले परिवर्तन, विकास र समृद्धिको उल्लेख्य उभार ल्याएको छ ।

त्यही राष्ट्रिय गौरवको आयोजना मध्येको नेपाली सेनाले जिम्मा लिएको कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डको काम तिव्र अवस्थामा देखिन्छ । तर, निर्माण व्यवसायीहरुले टुक्रे योजना बनाएर निर्माण जिम्मा लिएको मध्यपहाडी लोकमार्ग करिब करिब अलपत्र अवस्थामा छ । अहिले चौतर्फी पहल र दबाब पछि लोकमार्गको बागलुङ खण्डको कामले धिमा गति लिइरहेको छ । अझै पनि चालु आर्थिक बर्षमै काम हुनेमा भने ठुलो संशय बाँकी छ । कालीगण्डकी करिडोर निर्माणले भने जिल्लाबासीलाई केही आशा र उत्साहित तुल्याएको छ । मंगलबार मात्र नेपाली सेनाले बागलुङ–गुल्मी सडक खण्डको ३० किलोमिटर सडक विभागलाई बिधिवत रुपमा हस्तान्तरण गरेको छ । गुल्मी रुद्रवेनी–अर्वेनी खण्डको २० किलोमिटर र बागलुङ खण्डको मालढुङ्गा–बलेवा विमानस्थल सम्मको १० किलोमिटर सडक कालोपत्रेका लागि विभागलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाले डरलाग्दा भीर र कडा चट्टान छिचोलेर अहिले रहर लाग्दो सडक बनाएको छ । जसको स्थानीय नागरिकबाट मात्र होइन, केन्द्रीय सरकार, तह तप्का र सरोकारवाला निकायका उच्च पदस्थ व्यक्तित्वहरुबाट समेत प्रशंसा बटुलेको छ ।

नेपाली सेनाले जोखिमका बीच पनि इमान्दारी र जिम्मेवारी पूर्ण भुमिका निर्वाह गर्दछ भन्ने कुराको उदाहरण करिडोरको बागलुङ–गुल्मी सडक निर्माण हो । सेनाले समयमै गुणस्तरिय कार्य गरेको छ । अहिले चौतर्फी ठुला गौरवका योजना आयोजनाहरु निर्माण व्यवसायीले अलपत्र पारिरहेको गुनासो र आलोचना व्याप्त भइरहेका बेला सेनाले करिडोरमा गरेको कार्य निश्चय पनि अरु निर्माण व्यवसायीका लागि प्रेरणा र सन्देशको बिषय स्वभाविक छ । अब नेपाली सेनाले सडक बिभागलाई स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको सडक तिव्रतर हिसावले कालोपत्रे होला ? कि बिभिन्न प्रक्रिया, बिवादका बाहनामा फेरी बर्षौ अलपत्र पर्ने र हिउँदमा धुलाम्य, बर्खामा हिलाम्य यात्रा गर्न बिवश हुनुपर्ने हो ? निश्चय पनि यो संशय नागरिकमा मात्र होइन, अरु सरोकारवाला निकाय र स्वयम् नेपाली सेनामा पनि देखिन्छ । अतः सडक बिभागले अब बातावरणीय प्रभाव मुल्यांकन सहित डिपिआरको कामलाई एकैसाथ तिव्र गतिमा अघि बढाउने सहजता सरकारले हालै गरेको छ । तसर्थ यि कामलाई तत्काल उपलब्धि देखिने र जनतालाई अनुभूति हुने गरि सडक बिभागले काम गरोस् । न की सडक बिभाग काममा ढिलाईको अर्को उदाहरण कदापी नबनोस् । -आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *