बागलुङमा २२ जनाले दिए उम्मेदारी, आएनन् ठूला दल

डम्मर बुढा मगर, बागलुङ
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आइतबारदेखि देशैभर मनोनयन दर्ता सुरु भएको छ । मनोनयन दर्ता सोमबार साँझसम्म हुने छ । बागलुङका १० वटै स्थानीय तहहरुमा पनि मनोनयन दर्ता सुरु भएको छ । आइतबार निकै कम मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता गराउनेमा राप्रपा र स्वतन्त्र उम्मेदवार रहेका छन् ।

ठूला दलहरु कसैले पनि उम्मेदवारी दर्ता गराएका छैनन् । पाँच दलिय गठबन्धका नेताहरुले अझैसम्म भागबन्डा टुङ्याउन सकेका छैनन् । नेकपा एमालले पाँच पालिकामा उम्मेदवार टुङ्याए पनि मनोनयन दर्ता गरेको छैन ।

जिल्लाको बागलुङ नगरपालिकामा एक जनाको मात्रै उम्मेदवारी परेको छ । उपमेयरमा ताराकुमारी रिजालले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको हो । उहाँले आइतबार दिउसो उम्मेदारी दर्ता गराएको बागलुङ नगरपालिकाका सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिकामा ६ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिएका मध्ये एक जनाले नगर उप–प्रमुख र पाँच जनाले वडा अध्यक्षमा उम्मेदवारी दिएको जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार नगर उप–प्रमुखमा रुद्राकुमारी रोका क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो ।

जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेकी राष्ट्रिय जनमोर्चाकी नेतृ समेत रहेकी उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएको हो । क्षेत्रीले आइतबार दिउँसो उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत भण्डारीको भनाई छ । जनमोर्चाको तर्फबाट जैमिनी नगरपालिकामा कार्यपालिका सदस्य रहेकी क्षेत्रीले शनिबारे राजीनामा दिनु भएको थियो ।

सत्ता गठबन्धनको बागलुङ बजारमा चलिरहेको छलफलमा जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चा र उप–प्रमुखमा नेपाली कांग्रेसले उमेद्वारी चर्चा चलेको छ । तर गठबन्धनबाट छुट्टिएर क्षेत्रीले स्वतन्त्र उमेद्वारी दिनु भएको छ ।

त्यस्तै राप्रपाको तर्फबाट वडा नम्बर २ को वडा अध्यक्षमा यज्ञप्रसाद सापकोटा, राप्रपाबाटै वडा नम्बर ६ को अध्यक्षमा यामबहादुर क्षेत्री र वडा नम्बर ३ को वडा सदस्यमा कृष्णबहादुर पाण्डेले उम्मेदवारी दर्ता गराएको भण्डारीको भनाई छ । त्यस्तै वडा नम्बर ९ को वडा अध्यक्षमा मंगोल नेशनल अर्गनाईजेसनबाट सहबिर थापाले उम्मेदवारी दर्ता गराएको उहाँको भनाई छ ।

ढोरपाटन नगरपालिकामा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । नगर प्रमुखका लागि राप्रपाका तर्फबाट निमबहादुर भण्डारी राप्रपाकै तर्फबाट वडा नम्बर ६ को वडा अध्यक्षमा अध्यक्ष तुलबहादुर भण्डारी, वडा सदस्यमा मनिषा भण्डारी, जितबहादुर थापा र मुना भण्डारीले उम्मेदवारी दर्ता गराएको ढोरपाटन नगरपालिकाका निर्वाचन अधिकृत लालसिंह थापाले जानकारी दिनुभयो ।

काठेखोला गाउँपालिकामा एक जनाको मात्रै उम्मेदवारी दर्ता गराउनु भएको छ । वडा नम्बर ५ को वडा अध्यक्षबाट होमनाथ कँडेलले स्वतन्त्र उम्मेदवारी दिएको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस्तै बडिगाड गाउँपालिकामा पाँच जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । राप्रपाका तर्फबाट वडा नम्बर ५ मा पाँच जनाको उम्मेदवारी दर्ता भएको बडिगाड गाउँपालिकाकी निर्वाचन अधिकृत सीतादेवी सुवेदीले जानकारी दिनुभयो ।

वडा नम्बर ५ को वडा अध्यक्षमा अध्यक्ष शंकर खरेल, वडा सदस्य प्रेम खरेल, जीवन घिमिरे, सीता आचार्य र मिना दर्जीले उम्मेदवारी दर्ता गराएको सुवेदीले जानकारी दिनुभयो । निसीखोला गाउँपालिकामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाको तर्फबाट गाउँपालिका अध्यक्षका लागि कृष्णबहादुर मल्ल, उपाध्यक्षमा शान्तकुमारी चन्दले उम्मेदवारी दर्ता गराएको निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिनुभयो । त्यस्तै राप्रपाकै तर्फबाट वडा नम्बर ३ वडा अध्यक्ष रामचन्द्र शेन र वडा सदस्यमा होमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएको गिरीले बताउनुभयो ।

गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकामा भने उम्मेदवारी दर्तानै नभएको निर्वाचन अधिकृतहरुले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *