दललाई टाउको दुखाई बन्यो बागी उम्मेदवारी

आदर्श अनलाइन, बागलुङ
गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ । गठबन्धन र तालेमेलका कारण प्रमुख पदहरुमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाहरुले पार्टीमा बिद्रोह गरेका छन् भने केहीले पार्टीनै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन् । महिला संघ बागलुङकी सचिव उषा पौडेलले गठबन्धका कारण आफूलाई टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरेर जैमिनीको उपप्रमुखमा एमालबाट चुनाव लड्नुभएको छ ।

गठबन्धनका नाममा महिलालाई पाखा लगाउनेकाम भएको भन्दै उहाँले पार्टीनै छोड्नुभयो । यस्तै गठबन्धका तर्फबाट जैमिनी नगरपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेपाली कांग्रेसलाई परेपछि दुबैले पुरुषलाई उठाएको भन्दै जनमोर्चाकी नेतृ रुद्रा क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गठबन्धनका कारण आफुले टिकट नपाएको, पार्टीमा मुल्याङ्कन नभएको भन्दै पार्टी छोड्ने, अर्कोपार्टीको चुनाव चिन्हबाट लड्ने र स्वतन्त्र उठ्नेको बागलुङमा बिगबिगी रहेको छ । जिल्लाको ताराखोला गाउँपालिकामा हालका गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । पालिका अध्यक्ष हुँदा निकै लोकप्रिय बन्नुभएका घर्ती पार्टीले अन्याय गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रले ताराखोलामा धनबहादुर विक हिमाललाई अध्यक्षको उम्मेदवार बनाएपछि घर्तीले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गर्नुभएको हो । यस्तै गलकोट नगरपालिकामा नेपाली काँग्रेसकी नेतृ मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य सदस्य चालिसेले नगरप्रमुखमा दाबी गरेपनी पार्टीले पुन भरत शर्मा गैरेलाई दोहो¥याउने निर्णय गरेपछि उहाँले बिद्रोह गर्नुभएको हो ।

यस्तै गलकोटमा उपमेयर नपाएपछि नेकपा माओवादी केन्द्रका गलकोट अध्यक्ष तिलक उप्रेतीले पार्टी परित्याग गरेर स्वतन्त्र उठ्नुभएको छ । गलकोटमा गठबन्धबाट प्रमुख कांग्रेस र उपप्रमुख माओवादीलाई परेपनि उप्रेतीले आफूले टिकट नपाएको भन्दै पार्टी परित्यागको घोषणा गर्नुभएको छ । “पार्टीमा लामो समय काम गरियो, टिकट पाउने बेला अर्कैलाई दिइयो” उहाँले भन्नुभयो “मेले नेकपा माओवादी परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको छु ।”

जिल्लाको ढोरपाटन नगरपालिकामा पनि नेपाली काँग्रेसकी नेतृत्व दिलमाया पौवीले स्वतन्त्रबाट नगरप्रमुखमा उम्मेदवारी दिनुभएको छ । गठबन्धबाट प्रमुख पद माओवादीलाई परेपछि उहाँले रुष्ट भएर नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै गठबन्धमा बागलुङ नगरपालिकाको उपप्रमुख पद मागिरहेको नेकपा एसले नपाएपछि गठबन्धको निर्णय विपरित उपप्रमुखमा जीवन आचार्यलाई उठाएको छ । यस्तै नेकापा एमालेले बागलुङ नगरपालिका–२ र ३ मा उठाएको उम्मेदवारप्रति असन्तुष्टी व्यक्त गर्दै बागी उम्मेदवारी समेत परेको छ । एमालेले २ मा राम बहादुर जिसी र ३ मा कमल खड्कालाई उठाएपछि २ मा रामराजा गुरुङ र ३ मा पुनम प्रसाद शर्माले बागी उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले पार्टीले अन्याय गरेकाले बागीमा उम्मेदवारी दर्ता गराएको बताएका छन् । यस्तै बानपा–३ मा गठबन्धनबाट माओवादीलाई नपरेको भन्दै माओवादीका नेता बाबुलाल शाक्यले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीले टिकट नदिएको भन्दै काठेखोला गाउँपालिका–१ का वडा सभापती गणेश नेपालीले पार्टी छोडेर स्वतन्त्ररुपमा चुनवामा आएको बताउनुभयो । बागलुङमा पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिने र बागी उठ्नेको लार्को लागेपछि गठबन्धन र एमालेलाई बागी मिलाउनै सकस भएको छ ।

पार्टीको निर्णय अनुसार नै आफ्नो माग अनुसार बागलुङ नगरपालिकाको उपप्रमुख नपाएपछि आफ्नो दलले उपप्रमुमा उम्मेदवारी दर्ता गराएको नेकपा एसका जिल्ला अध्यक्ष लाल बहादुर थापाले बताउनुभयो । “पार्टीको निर्णय अनुसार उम्मेदवारी दर्ता भएको हो, गठबन्धले हामीलाई बानपाको उपप्रमुख दिएन” उहाँले भन्नुभयो “जे हुन्छ पार्टीको निर्णय अनुसार हुन्छ, केन्द्र तहमा छलफल भइरहेको छ ।”

यस्तै वठास्तरका बागी उम्मेदवार मिलाउन नेकपा एमालेले छलफल गरिरहेको र एमालेमा धेरै समस्या नरहेको भन्दै उम्मेदवारी फिर्ता गर्ने समयसम्म मिलाई सक्ने एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र प्रकाश शर्माले बताउनुभयो । तर गठबन्धलाई भने बागी मिलाउन अझै सकस पर्ने देखिएको छ । पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमै बागी र स्वतन्त्र उम्मेदवार दर्ता गरेका कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चा सहितका दलहरुले असन्तुष्ट बनेर पार्टी छाडेका, बागी उम्मेदवारी हालेका नेता कार्यकर्ताहरुलाई सम्झाउन गठबन्धलाई हम्मे हम्मे परेको छ । उम्मेदवारी फिर्ता गर्ने आयोगको समय तालिका अनुसार वैशाख १६ गते साँझ पाँच बजे सम्म रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *