महिलाको सहभागिता र संविधानको रक्षा गर्न नगर प्रमुखमा मेरो स्वतन्त्र उम्मेदवारी

थम्मन थापा बागलुङ
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) मा नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला सहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ।

आगामी वैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनमा गठबन्धनको नाममा महिला उम्मेदवारको सहभागिता अत्यन्तै न्यून छ । तथ्याङ्क र अध्ययनहरूमा आम नागरिकमा राजनीतिप्रति चासो बढेको, सामाजिक न्याय र सामाजिक सुरक्षा बढेको, महिला अधिकारहरू कार्यान्वयनमा रहेको, राजनीतिक सोचको विकास भएको, महिला अधिकारको पक्षमा महिला मात्रै नभई पुरुषहरू पनि सक्रिय रहेको लगायतका कुराहरू उल्लेख गरिन्छन । केन्द्रमा पाँच दलीय गठबन्धन रहेता पनि गलकोट नगरपालिकामा ३ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बिच चुनावी तालमेल भएको छ ।

गठबन्धनको नाममा संविधानमा व्यवस्था भएको अधिकारबाट महिलालाई लत्ताएर उम्मेदवार हुन बाट राजनैतिक दलले वञ्चित गरेपछि गलकोट नगरपालिकाको नगर प्रमुखमा मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दिएकी छन । चालिसेले पत्रकार भेटघाट मार्फत आफ्नो उम्मेदवारी वैशाख १६ गते मनोनयन फिर्ता लिने समय सम्मलाई नभई गलकोट नगरपालिकामा महिला नेतृत्वको सहभागिता सहित संविधानको रक्षा, महिला हक, अधिकारको निमित्त भएको स्पष्ट पारेकी छन । नेपाली काँग्रेसमा लामो समय देखि आवद्व महिला नेतृ चालिसेले पार्टीको दवाव, प्रभाव र प्रलोभनमा परि उम्मेदवारी फिर्ता नगर्ने बताईन ।

उनले बाहिर एकखाले भ्रम छर्दै उम्मेदवारी फिर्ता हुने भन्ने चर्चा केवल भ्रमको खेती रहेको बताउदै उम्मेद्वारी फिर्ता नहुने तर पार्टिले कारवाही गरे त्यो भोग्न तयार रहेको समेत उल्लेख गरिन । नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा उम्मेद्वार छनोट गर्दा स्वइच्छाचारी र तानाशाह प्रवृत्तिबाट निर्णय गरेको बताउदै आफुले गलकोटबासी नागरिकको चाहना अनुसार नगर प्रमुख पदमा स्वतन्त्र उम्मेद्वारी दिएको उनको भनाई छ । शर्माले नेतृत्वले अवसर नदिएकाले महिलाहरुमा क्षमता भएर पनि असक्षम बनाउने काम गरेको तथा आफुले विगत २५ वर्ष देखी स्वास्थ्य, महिला अधिकार र समाजसेवाको क्षेत्रमा क्रममा गरेका योगदानको समेत कदर नभएको गुनासो गरिन । “२० वर्ष स्वास्थ्य उपचारका निमित्त सेवा गरेँ, गलकोटका दुरदराजमा रहेका महिलाहरुको प्रसव पिडा देखी विभिन्न स्वास्थ्य समस्याबारे बुझेकी छु शर्माले भनिन “हरेक प्रसव तथा सुत्केरी महिलाहरुको समस्या समाधान र गलकोट नगरको पहिलो महिला नगर प्रमुखका लागि मैले उम्मेदवारी दर्ता गराएकी हुँ ।” उनको गलकोट नगरपालिका वडा नम्वर १, २ र ४ मा सचिवालय स्थापना भएको र अन्य वडामा छिट्टै सचिवालय स्थापना गरी आम नागरिक सँग प्रत्यक्ष अन्तरकृया गरेर आवश्यकता अनुरुप घोषणा पत्र सार्वजनिक गर्ने बताईन ।

गलकोटमा स्वास्थ्य, शिक्षा, सुशासन, यातायात, कृषि, पशुपालन, पर्यटन, संस्कृति र खेलकुद, फोहोर व्यवस्थापन र रोजगारीको अवसर सिर्जना हुने न्युनतम आधारहरु तयार गरी पुरा गर्न सक्ने योजनाहरु मात्र घोषणापत्रमा समावेश हुने सचिवालयले पत्रकार भेटघाटमा जनाएको छ ।

गलकोट नगरपालिकाको नगर प्रमुखमा आफु विजयी बन्ने प्रशस्त आधारहरु रहेको भन्दै नगरबासीको सामाजिक विकास, निशुल्क तथा अनिवार्य स्वास्थ्य विमा सहित स्वास्थ्य सेवा , सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधी उपचार र डक्टरको व्यवस्थापन, नगर भित्र माटो सुहाँउदो उत्पादनको आधारमा कृषि पकेट क्षेत्र कार्यक्रम, उत्पादनको बजारिकरण, फोहोर व्यवस्थापन, पक्की सडक निर्माण, महिलालाई गुणस्तरिय स्वास्थ्य सेवा, नगर प्रहरी महिला, प्रत्येक वडामा आवासिय विद्यालय, उत्पादनलाई रोजगारीसँग जोडदै स्वदेशमै युवा रहने वातावरण सिर्जना गर्न युवा लक्षित कार्यक्रम सञ्चालन पहिलो प्राथमिकतामा रहेको हुँदा नमुना नगर निर्माणको लागि गलकोटबासीले आफुलाई मतदान गर्नुपर्ने बताईन । कार्यक्रममा पत्रकारहरुले उनको उम्मेदवारी किन र के का लागि सँगै गलकोट नगरको विषयमा जिज्ञासा तथा प्रश्न राखेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *