जगन्नाथको नझुकेको शिर र सन्देश

सम्पादकीय
देश पुरै चुनावमय बनेको छ । र मुलुकभरका ७५३ स्थानीय तह मध्ये सबै भन्दा बढी निर्वाचन कहाँ लागेको छ ? भनेर कसैले सोध्यो र हे¥यो भने प्रष्टै देखिन्छ कि चितवनको भरतपुर महानगरपालिका । भरत यसकारणले पहिले पनि चर्चित थियो र अहिले पनि छ कि यो जिल्ला प्रचण्डको गृह जिल्ला हो र यस जिल्लाको मुख्य मुकाम भरत महानगरपालिकाको प्रचण्ड पुत्री रेणु दाहाल मेयर पदका उम्मेवार छन् । भलै उनलाई प्रचण्ड पुत्री मात्रै भन्यो भने अन्याय हुन्छ । २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेससँग गठबन्धन गरेर बिजयी भएकी दाहाल अहिले आफ्नो इतिहास दोहोराउने कसरतमा छन् । तत्कालीन समयको निर्वाचनमा पनि माओवादी र कांग्रेस नेतृत्वले यो क्षेत्रको चुनावलाई आफ्नो प्रतिष्ठाको लडाईको विषय बनाएको थियो । र निर्वाचन मतगणनामा माओवादी कार्यकर्ताले मतपत्र च्यात्ने लगायतका कार्य गर्दा समेत पटक पटक स्थगित र अनेक हठकण्डाका बाबजुद रेणु दाहाल निर्वाचित भएकी थिइन् ।

उनी निर्वाचित भए यताको पाँच वर्षिय कार्यकालमा राम्रै काम गरेको चर्चा छ । जुन उनका लागि मात्र होइन, सिंगो भरतपुरवासी र देशका लागि सकारात्मक छ । तर, अहिले पनि उनै दाहाललाई मेयरको उम्मेदवार बनाएर केन्द्रीय स्तरबाटै माओवादी कांग्रेस गठबन्धन बनाए पछि स्थानीय स्तरमा चर्को असन्तुष्टि र आक्रोश छ । जसको बिरोधमा भरतपुरका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले गठबन्धनका खिलापमा बागी उम्मेदवारी दर्ता गरे । धेरैलाई लागेको थियो कि यो स्वभाविक रुपमा कांग्रेसका नेता, कार्यकर्ताको साझा असन्तुष्टिको अभिव्यक्ति हो र उम्मेदवारी अन्तिम समय सम्म फिर्ता लिइनेछ । तर, पौडेल, उनका प्रस्ताव, समर्थकहरु यति चट्टानी अडानमा रहे कि स्वतन्त्र उम्मेदवार बनेरै भए पनि कांग्रेसले आफ्नो रुख चिन्हमा मतदान गर्न नपाएको रोष व्यक्त गर्ने अभियान एक निष्ठा, आदर्श र अभियानका रुपमा आएको भन्ने प्रस्ट सन्देश दिए । राष्ट्रिय सभा सदस्य, राजदुत देखि अनेक राजकीय पदको आश्वासन दिदाँ समेत पौडेल तसको मस भएनन् । गृहमन्त्री बालकृष्ण खाण, राज्यमन्त्री उमेश श्रेष्ठ लगायतका नेताहरुले घरमै पुगेर फकाउँदा समेत भुलभुलैयामा परेनन् । यसले उनीहरुको कांग्रेस पार्टी प्रतिको वर्षौको समर्पण, निष्ठा, सिद्धान्त प्रतिको आस्थालाई अझ उचो बनाएको छ । यद्यपी कांग्रेसले भने गठबन्धन बिरुद्ध बागी उम्मेदवारी दिएको भन्दै कारबाही गरिसकेको छ ।

वास्तवमा जगन्नाथ पौडेलहरुले अरु केही अस्वभाविक माग र एजेण्डा राखेका थिएनन् । सिद्धान्त प्रति सच्चा राजनीति निष्ठा पूर्वक गरिनुपर्छ, त्यसका लागि नेतृत्वले पटक पटक निश्चित स्वार्थका लागि पार्टीलाई अरुकै चुनाव चिन्हमा मत हाल्ने बाध्यात्मक व्यवस्थाले बन्धक बनाइनु हुँदैन भन्ने दृढता राखे । कांग्रेसको बलियो क्षेत्र मानिएको चितवनमा पटक पटक माओवादीलाई दिदाँको आत्मघाती निर्णयबारे कांग्रेसका धेरैको चिन्ता र चासो थियो । तर, यस किसिमको बोल्ड निर्णय, अडान लिने हिम्मत कसैले गरेनन्, जो जगन्नाथ पौडेलले गरेका छन् । आफ्नो ५ दशक लामो राजनीति धरापमा पारेर उनले केका लागि यसो गरे ? यसका पछाडि अरु कुनै खराब स्वार्थ र कारणहरु भए विस्तारै समयको पर्दामा खुल्ला । उनी जित्लान् हार्लान् त्यो पाटो पनि छोडौं । तर, अहिले कांग्रेस पार्टीका स्थानीय नेता, कार्यकर्ता र आफ्ना शुभेच्छुक मतदाताको भावना अनुरुप उनको उम्मेदवारी देखिन्छ । विचार, सिद्धान्तको असली राजनीति स्थापित गर्ने अभ्यासमा अविचलित पौडेल र उनका प्रस्तावक समर्थक रहेका कृष्णलाल सापकोटा, मिना खरेलको यो कुर्बानी अवश्य पनि इतिहासमा पृथक रुपमा दर्ज हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *