एमाले-राप्रपाको घोषणापत्र : सबै घरमा खानेपानी, टोलटोलमा स्तरीय सडक


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ नगरपालिकामा संयुक्त प्रतिबद्धता पत्र जारी गर्दै नगरका आधारभूत आवश्यकता देखि दिर्घकालिन महत्वको योजना पुरा गर्ने प्रसतबद्धता सार्वजनिक गरेको छ ।

घोषणापत्रमा सबै घर खानेपानीका धारा, वडा कार्यालय पुग्ने पक्की सडक, टोल–टोलमा स्तरीय सडक, व्यवस्थित बस्ती र शहरी विकासको विशेष योजना ल्याउने बताएका छन् । बढ्दो सहरीकरण र खाली हुँदै गएका गाउँहरुको व्यवस्थापनका लागि उनीहरुले दिगो विकास लक्ष्यसहित विशेष योजना ल्याउने र एकिकृत बस्तीको विकास गर्ने बताएका छन् ।

आगामी स्थानीय तह निर्वाचनका लागि बागलुङ नगरपालिकामा चुनावी तालमेल गरेका दुई दलले आइतबार एक समारोहको आयोजना गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । दिगो विकासको लागि ठूला पूर्वाधारमा जोड दिदै आधारभूत आवश्यकतालाई पूर्ण बनाउने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता पत्रमा सतप्रतिशत आधारभूत आवश्यकता पुरा गर्ने, ठूला पूर्वाधार निर्माण गर्ने, बानपालाई पर्यटकीय हब बनाउने, नगर सडक सञ्जालको स्तरोन्नती, बालउद्यान निर्माण, व्यवस्थित पार्किङ, ढोडेनीमा मितेरी पुल र बस्तिमा पुग्ने गोरेटो बाटो निर्माणलाई जोड दिने जस्ता कुरा उल्लेख गरिएको छ ।

बलेवामा नयाँ शहरीकरणको विकास, खेती योग्य जमिनको संरक्षण, काठेखोला बहुउदेश्यीय जलविहार परियोजना, बागलुङ बजारमा जेष्ठ नागरिक केन्द्र स्थापना, नर्सीङ सेवा सहितको वृद्धाश्रम लगायतका योजना पुरा गर्ने प्रतिबद्धतमा समेटिएको छ । हरेक वडामा तीन÷तीन वटा खेलमैदान निर्माण गर्ने, आधुनिक खुल्ला व्यायमशाला, बहुउद्देश्यीय कवर्डहल निर्माण, ‘एक घर एक रोजगार, एक वडा तीन उत्पादन’ कार्यक्रम सञ्चालन, प्रत्यक विद्यालयमा नर्सिङ शिक्षक र खेलमैदान गर्ने योजना एमाले राप्रपाले सार्वजनिक गरेका छन् ।

नगरमा जनमैत्री स्वास्थ्य नीति अबलम्वन गर्ने, औद्योगिक क्षेत्रको विकास, सुविधा सम्पन्न स्वास्थ्यचौकी निर्माण, गरिव विपन्न र सिमान्तकृत समुदायका लागि निशुल्क स्वास्थ्य सेवा, धौलागिरी अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्नती गर्ने, मुटु, मृगौला, क्यान्सर र पाठेघरका रोगीहरुको उपचार नगरबाटै गर्ने लगायतका स्वास्थ्य क्षेत्रका योजना प्रतिबद्धतामा समेटिएको छ । नगर प्रमुखका उम्मेदवार जनकराज पौडेलले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै नगरको आधारभूत आवश्यकता संगै ठूला पूर्वाधारमा पाँच वर्षमा नगरले लक्ष्य अनुसारको फड्को मार्ने बताउनुभयो ।

५० वर्ष नाघेका नागरिकहरुलाई वर्षमा एक पटक निशुल्क स्वास्थ्य परीक्षण, नगर खानेपानी बोर्डको गठन, फोहोर व्यवस्थापनमा प्रबिधिको प्रयोग गरेर प्रशोधन, घरदैलोमा स्वास्थ्य सेवा लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

प्रतिबद्धता पत्रमा भनिएको छ सिगानालाई सुन्तला गाउँका रुपमा विकास गर्न विरुवा रोपण बढाउने, सामुदायीक विद्यालयको शिक्षाको सुधार, विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्ने, कला शाहित्य र संस्कृतिको संरक्षण गर्ने, मुस्लिम, माझी र गन्धर्व लगायतका अल्पसंख्यक एवं सिमान्तकृत बर्गको उत्थान, विकास र आयआर्जन विकासका लागि विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

हरेक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला, धौलागिरी बहुमुखी क्याम्पसलाई सुविधा सम्पन्न बनाउने, स्थानीय रोजगारीलाई प्रबर्धन गर्ने र सामुदायीक विद्यालयलाई आवासीय विद्यालयको रुपमा विकास गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

पर्यटनमा प्राकृतिक पुष्प कुञ्ज, कृषिमा हरियाली क्षेत्र र सुख्खा क्षेत्रको पहिचान गरी पशुपालन, फलफुल, तरकारी, अन्नबाली तथा जोड दिने, माटो अनुसारका पकेट क्षेत्र विस्तार, कृषि समुह र सहकारी आबद्ध किसानका लागि विषेश आर्थिक प्याकेज, अर्गानिक उत्पादनमा जोड लगायतका कार्यक्रम समावेश छन् ।

नगरको सेवा प्रवाहमा सुशाशन, हरेक वडामा इन्टरनेट, सूचना तथा सञ्चार डेस्क स्थापना, ‘अन्याय र उत्पीडनविरुद्ध हाम्रो अभियान, आवाजबिहिन हरुको आवाज गछौं सम्मान’ लगायनका कार्यक्रम घोषणा पत्रमा समाबेश छन् ।

संयुक्त निर्वाचन परिचालन कमिटिले गरेको कार्यक्रममा नगर प्रमुखका उमेद्वार जनकराज पौडेलले आफ्नो पहिलो कार्यकालमा भएका कामहरुको विवरणसमेत प्रस्तुतीकरण गनुृभएको थियो । उहाँले लामो पुल, बलेवा विमानस्थल, बसपार्क, सडक कालोपत्रे, माटो परिक्षण प्रयोगशाला आफ्नो कार्यकालमा भएको महत्वपूर्ण उपलव्धी भएको जानकारी दिनुभएको थियो ।

राप्रपाबाट उपमेयरका उम्मेदवार बन्नुभएका सन्जय खड्काले नगरको विबासका लागि युवाहरुको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा संघीय सांसद मन कुमारी केसीले समाज रुपमान्तरणको अगुवाईगर्ने पार्टी नेकपा एमाले भएको बताउनुभएको छ । कार्यक्रममा एमाले बागलुङका इन्चार्ज गोविन्द नेपाली, प्रदेश सांसद तथा एमालेका नेता इन्द्रलाल सापकोटा, एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, राप्रपाका संस्थापक नेता टिकाराम सापकोटाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम नगर कमिटिका अध्यक्ष धन बहादुर परियारको अध्यक्षता, सचिव रामकृष्ण शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपाका जिल्ला उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *