गाउँपालिका अध्यक्षका उम्मेदवार ‘बच्चा बोकेर भोट माग्दै’

आदर्श अनलाइन, म्याग्दी
हेर्दा सामान्य पहिरन लगाउनुभएकी महिला । पिठ्यूँमा बच्चा बोकेर दुई हात जोड्दै मत मागिरहनुभएको छ । गाउँ–गाउँमा पुगेर आफूलाई जिताउन आह्वान गर्दै उहाँकै दैनिकी बित्ने गरेको छ । एउटा हातमा पार्टीको झण्डा अर्को हातमा झोला । पिठ्यूँमा ३ बर्षको छोरा बोकेर चुनावी मैदानमा उत्रनुभएको छ रघुगंगा गाउँपालिका–६ पाखापानीकी मीना विश्वकर्मा ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विश्वकर्मा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्ष पदमा उम्मेद्वार बन्नुभएको छ । सत्ताइस बर्षीया मिना विश्वकर्माको तीन बर्षिय छोरा छन । पेशाको हिसाबले हिउँदेबाली भित्र्याउने काममा व्यस्त हुनुपर्ने समय हो विश्वकर्माको । विपन्न परिवारकी विश्वकर्मा यस अघि घरायसी काममा नै व्यस्त हुनुहुन्थ्यो ।

माध्यमिक तहसम्मको अध्ययन पुरा गर्नुभएकी विश्वकर्मालाई पार्टीले गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाएपछि उहाँले त्यसलाई एउटा अवसरको रुपमा लिएर यतिबेला गाउँपालिकाको कुनाकन्दरा र टोलटोलमा घरदैलोको दौडाहामा हुनुहुन्छ । पार्टीको साधारण कार्यकर्ता भएको नाताले सुरुमा धेरैले मिनालाई साधारण रुपमा लिएका थिए । तर जब घरदैलो गर्दै आफ्नो योजना सुनाउन थाल्नुभयो तब उहाँको ओज ह्वात्तै बढेको छ । रघुगंगामा गाउँपालिका अध्यक्षमा मुख्य प्रतिस्पर्धीको दावि गरेका नेपाली काँग्रेसका भवबहादुर भण्डारी, नेकपा एमालेका प्रेमबहादुर कार्की र स्वतन्त्रका सागर भण्डारीसंगको बलियो प्रतिस्पर्धीको उचाई विश्वकर्माले बनाइसक्नुभएको छ ।
मतदाताले उम्मेदवारलाई ढोगेरै आँसु खसाल्दै दिए बधाई । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको फुलडाँडामा गाउँपालिका अध्यक्षका उम्मेदवार मीना विश्वकर्मालाई स्थानीयबासीले खुट्टा ढोगेर बिजयीको शुभकामना दिनुभएको छ ।

अहिले मतदाताले उम्मेदवारलाई हर्षित भएर खुट्टानै ढोगेर बधाई दिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । नेकपा (माओवादी केन्द्र)को तर्फबाट बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी विश्वकर्मालाई स्थानीय मतदाता र नाताले मामा पर्ने गौबहादुर विश्वकर्माले आफ्नो समुदायबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेकोमा खुसी भएर खुट्टा ढोगेर बधाई तथा शुभकामना दिनुभएको हो ।

जन्मथलोबाट चुनाबी अभियान सुरु गर्नुभएकी मीनालाई गाउँलेहरुले हर्षित हुँदै दुर्गम गाउँको दलित महिला पनि गाउँपालिका अध्यक्षको दावि गर्दै नेतृत्वमा पुग्न प्रतिस्पर्धामा उत्रिएको भन्दै खुसीले हर्षविभोर भएर हाँसु नै खसालेर खुट्टा समाएर बधाई दिएका थिए । विश्वकर्मा रघुगंगामा गाउँपालिका अध्यक्षमा दावि गर्ने एक्ली महिला समेत हुनुहुन्छ । मतदातालाई प्रभाबमा पार्न उम्मेदवारहरुले अनौठा सपना देखाउने र क्षणिक मान, सम्मान गर्ने संस्कार बढीरहेको समयमा मतदाताले उम्मेदवारलाई बधाई दिँदै खुट्टा ढोगेपछि मीनाको आँखाबाट समेत आँसु खसेका थिए ।

मीनाको भावुक भनाई
रघुगंगा गाउँपालिका–२ भगवतीमा आयोजित चुनाबी सभामा मीनाको भाषणले धेरैका आँसु रसाए । दलित मुक्तिका लागि माओवादीले गरेको संघर्षलाई स्मरण गराउँदै विश्वकर्माले सत्तामा पैसाको खोलो बगाउनेहरु मात्रै पुग्ने थलोको रुपमा चित्रण हुन थालेको प्रति संकेत गर्दै गाउँमा आफ्नो पौरख गरेर खानेहरु पनि सत्ता सञ्चालनको हकदार हुने बताउनुभएको थियो । दलित र महिलाहरुलाई क्षमता भएपनि अवसर नहुने गरेको बताउँदै उहाँले मतदाताले विवेक प्रयोग गर्न सकेमा आफुहरु जस्ता नयाँ सोच र योजना लिएर अगाडी बढेको व्यक्तिहरु गाउँपालिकाको नेतृत्वमा पुग्ने बताउनुभयो । ‘‘डोजरको विकासलाई मात्रै विकास ठान्ने जमातले पैसा हुनेहरुलाई मात्रै सक्षम देख्ने गरेका छन, अब गरिब, विपन्न, महिला र दलितहरुको जिवनस्तरमा सुधार ल्याउने व्यक्तिलाई मतदान गर्न सकेमा मात्रै वास्तविक रुपमा संघीयताको व्यवहारिक कार्यान्वनय हुनसक्छ’’–उहाँले भन्नुभयो । मुलुकको हरेक परिवर्तनका संघर्ष र आन्दोलनमा गरिब, विपन्न, आदीवासी जनजाति, दलित, महिला र पछाडी परेका समुदायबाट ठुलो योगदान भएपनि सत्ता सञ्चालनको ठाउँमा उनीहरुलाई अवसर नदिइएको बताउँदै उहाँले परिवर्तनको नेतृत्व गरेको पार्टीले मात्रै परिवर्तनलाई संस्थागत गर्न सक्षम हुने भनाई राख्नुभयो ।

नेतृत्वमा महिला र दलितको अवस्था
म्याग्दीमा आसन्न स्थानीय तह निर्वाचनमा तीम महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनाबी मैदानमा उत्रनुभएको छ । रघुगंगा गाउँपालिका, धवलागिरि गाउँपालिका र बेनी नगरपालिकाको मेयरमा माओवादी, एमाले र राप्रपाबाट तीन महिलाले प्रमुख दावि गर्नुभएको हो । रघुगंगाको अध्यक्षमा माअ‍ेवादीबाट मीना विश्वकर्मा ,धवलागिरिको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बन्नुभएको छ । जिल्लाको दुई पालिकामा दुई जना मात्रै दलित समुदायबाट पालिका प्रमुखको उम्मेवदार बन्नुभएको छ ।

रघुगंगामा माओवादीकी विक संगै माओवादी केन्द्रले नै मङ्गला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । दलित समुदायबाट प्रमुख पदमा टेकबहादुर र मीना दुई मात्र उम्मेदवार हुनुहुन्छ । वडाध्यक्ष पदमा तीन मात्र महिला उम्मेदवार बन्नुभएको थियो । मंगला गाउँपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेले लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई उम्मेदवार बनाएको छ भने रघुगंगा गाउँपालिका–२ भगवतीको वडा अध्यक्षमा रञ्जना श्रेष्ठ स्वतन्त्र रुपमा वडा अध्यक्षको मैदानमा हुनुहुन्छ । यस अघिको स्थानीय तह निर्वाचनमा म्याग्दीको मालिका ५ देविस्था नर धवलागिरि गाउँपालिका ५ गरि दुई वटा वडामा महिला नै वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *