चुनावमा झुटको खेती र खतरा

सम्पादकीय
नेपालको राजनीतिमा यति विघ्न फोहोरी खेल भइरहेको छ कि यसले अहिलेको परिवर्तित उन्नत व्यवस्थालाई नै गिज्याइरहेको छ । पुरानो व्यवस्था फेरिएर आएको नयाँ व्यवस्थामा पहिलेको जस्तो खराब पात्र र प्रवृत्ति निरुत्साहित हुने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । बरु उस्तै पात्र र प्रवृत्तिको बोलवाला हुन पुग्यो । त्यही दुर्भाग्यका कारण नेपाल र नेपालीले फेरि अस्थिरता र अनिश्चितताको संशयमा जीवन व्यतित गर्नुपर्ने अवस्था आइलागेको छ । २०७४ सालमा देशमा पहिलो पटक संघात्मक व्यवस्था अनुसार भएको तीन तहको निर्वाचनको पाँच वर्षे कार्यकाल सकिने संघारमा छ । र सरकारले यही वैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेको छ । अहिले निर्वाचनको मिति सम्मुखमा आउँदै गर्दा राजनीतिक दल, नेता, कार्यकर्ता जनताको घरदैलोमा पुगेर मत माग्न व्यस्त देखिएका छन् ।

जनताको बिचमा मत माग्न व्यस्त रहँदा राजनीतिक दलहरुले चुनाव जित्न जे पनि गर्ने, जे पनि भन्ने प्रवृत्ति मौलाउँदो छ । खासमा विगतका ५ वर्षमा के गरे ? जित हासिल गर्नेले के कस्तो उपलब्धिपूर्ण काम गरे ? पराजित हुनेले प्रतिपक्षको रुपमा के कस्तो भूमिका निर्वाह गरे ? र अहिलेको निर्वाचनमा जित्नका लागि या नागरिकले आफ्नो अमुल्य मत जाहेर गर्नका लागि त्यस्तो के एजेण्डा छ ? जसले भोलिका दिनमा नागरिकको जीवनस्तरदेखि समाज पालिका बदलिन सक्छ ? त्यसका विश्वस्त हुने आधारहरु केके छन् ? यो विषयमा दल, उम्मेदवारहरु मुकदर्शक जस्ता देखिन्छन् । केन्द्रीय स्तर र पालिका स्तरमै केही घोषणापत्र प्रतिवद्धता, संकल्प पत्र अनेक नामबाट सार्वजनिक त भइरहेको छ । त्यो हेर्दा निकै महत्वकांक्षी विषयहरु राखिएको छ । जुन तत्काल नेपाल र सीमित स्रोत साधन भएको पालिका स्तरको बजेटबाट सम्भव छैन । यसरी अस्वभाविक आश्वासन दिएर जनता झुक्याएर मत हाल्न लगाइनु सरासर झुट हो । यस्तो झुटको फण्डामा नेपालीहरु वर्षौदेखि पिल्सिरहेका छन् । अब पनि अहिले पनि त्यसरी नै झुटको खेतीमा बिश्वास गर्ने हो ?

यो विषय सोचनीय र मननीय छ । नेपालको अधिक पालिकाका धेरै मानिस आजको दिनमा पनि शिक्षा, चेतना, आधारभूत विकासबाट बञ्चित छन् । गरिब, दलित, विपन्न, मजदुर, सुकुम्बासी वस्तीहरुको अवस्था अझै दयनीय छ । यसबेला सबै भन्दा बढी यिनैका नाम र वस्तीमा राजनीतिक गरिन्छ । भोट तान्नका लागि पैसादेखि अनेक आश्वासन दिइन्छ । तर, सत्तामा पुगे पछि बारबार ध्यानाकर्षण र अनुनय विनय गर्दा पनि उनीहरुका माग र समस्या समाधानमा बेवास्ता गरिन्छ । त्यसैले, स्थानीय तह भनेको सबै भन्दा नजिकको सरकार हो । यसको कुशल नेतृत्व कसले गर्न सक्छ ? त्यो स्थानीय नागरिकले नै नजिकबाट नियालेका हिसाबले यथोचित पात्र छनोट गर्नुपर्छ । चुनावमा अनेक साम दाम दण्ड भेद गरेर भए पनि मत प्रभावित गर्ने अभ्यास धेरै पुरानो हो । यद्यपि, यो आजको दिनमा पनि जारी छ । त्यसैले कुनै दबाब, प्रभाव र आश्वासनबाट प्रभावित नभई आदर्श, निष्ठा, इमान, सबल र सक्षम उम्मेदवार चयनमा स्वविवेक प्रयोग गरिनुपर्छ । अहिले बहकावमा या कुनै दबाब प्रभाबमा प्रतिनिधि चुनियो भने त्यसले सिंगो वडा र पालिकालाई नै कैयन वर्ष पछि पु¥याउने जोखिम प्रति समयमै नागरिक सचेत हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *