सेवा सुविधा नलिने बागलुङका उम्मेदवारहरुको घोषणा


आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेबाट बागलुङको काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवार बन्नुभएका डिल बहादुर कार्कीले आफुले व्यक्तिगत सेवा सुविधा नलिने घोषणा गरेर चुनावमा होमिनुभएको छ । गाउँपालिकाले अध्यक्षलाई दिने सेवा सुविधा गाउका जनताको सामाजिक कार्यमा लगाउने प्रतिबद्धता सहित उहाँ चुनावमा होमिनुभएको छ ।

“मेरो परिवार नै सामाजिक सेवा गर्दै आएको परिवार हो, मेरो बुवाले काठेखोला गाउँपालिका ७ साविक रेश गाविसमा २५ वर्ष प्रधानपञ्च भएर गाउँको विकासमा योगदान गर्नु भयो, मैले बुवाबाट सामाजिक सेवा कसरी गर्ने भन्ने बुझेको छु,” अध्यक्षका उमेदवार कार्कीले भन्नुभयो “मैले राजनीतिबाट आर्थिक रुपमा केही लिनु छैन, राजनीतिमार्फत गाउँपालिकाको विकासमा प्रतिवद्ध भएर लाग्छु ।”

एमालेका उम्मेदवार कार्कीमात्रै होइन जिल्लाको ताराखोला गाउँपालका अध्यक्षका उम्मेदवार संयुक्त गठबन्धबाट माओवादी केन्द्रका नेता धन बहादुर बिकले आफूले चुनाव जिते सेवा सुविधा नलिने बताउनुभएको छ । उहाँले जनताको सेवामा आफू सर्मपित हुँने भन्दै सेवा सुविधाको मोह नभएको बताउनुभयो । उहाँले देश परिवर्तनका लागि आफू द्वन्द्वगरेरै आएको बताउदै सेवा सुविदा नलिइकन सेवा गर्ने गरी उम्मेदवार भएको बताउनुभयो ।

यस्तै ढोरपाटन नगरपालिकाको नगरप्रमखुका लागि निर्वतमान नगरप्रमखु देव कुमार नेपाली चुनावी मैदानमा हुनुहुन्छ । उहाँले यसअघिको पाँच वर्षे कार्यकालमा नगरपालिकाकाट सेवा सुविधा लिनुभएको छैन । एमालेबाट नगरप्रमुख हुनुभएको नेपालीले पाँच वर्षमा नगरपालिकाको सवारीसाधन समेत प्रयोग गर्नुभएन । उहाँले आफ्नै निजी सवारीसाधनमा जनताको सेवा गरेको र पाँच वर्षमा एक पैसा नगरपालिकाबाट नबुझेको बताउनुभयो । उहाँले अब निर्वाचनमा पुन जितेर आएपछि सेमत सेवा सुविधा नलिने बताउनुभयो ।

यस्तै नेकपा एमालेबाट गलकोट नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बन्नुभएका पूर्ण काउचाले उम्मेदवारी दिनु अघिबाटै नगरपालिकाबाट सेवा सुविधा नलिने घोषणा गर्नुभयो । उहाँले आफ्नो जीत भएको खण्डमा नगरपालिकाले दिने सेवा सुविधा महिला तथा बालबालिकाको नाममा खर्च गर्ने बताउनुभयो । “जनप्रतिनिधि जनताको सेवक हो शासक हैन, सेवालाई जागिरको रुपमा लिन हुँदैन भन्ने मान्यता छ” काउचाले भन्नुभयो “आफूलाई चाहिने खर्च मैले कमाइसकेको छु, अबको जीवन जनताको सेवमा खर्च गर्नेछु ।”

यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवा नेता केन्द्र रसाइली जैमिनी नगरपालिका–७ वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ । उहाँले यसअघि वडासदस्य हुँदा आफ्नो नाममा आएको तलब सुविधा विद्यालयमा खर्चनुभएको थियो । अहिले वडा अध्यक्षका उम्मेदवार बन्नुभएका रसाइलीले वडाअध्यक्षमा निर्वाचित भएपछि आउने सेवा सुविधा जनताको नाममा खर्चने बताउनुभयो । काठेखोला गाउँपालिका—१ पालामा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुनु भएका खडक बहादुर थापाले प्राप्त गरेको सेवा तलब भत्ताबाट गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण र विद्यालयमा कोष निर्माण गरेको र यस पटक पनि आफू निर्वाचित भएर त्यसरी नै तलब भत्ताको सदुपयोग गर्ने बताउनुभयो ।

“राजनीति त मूल रुपमा जनताको सेवा नै हो, गत निर्वाचनमा निर्वाचित भएपछि आएको सेवा सुविधाको रकमबाट पनि मैले केही रकम पोषण सामग्री वितरण र केही विद्यालयमा कोष निर्माणका लागि खर्च गरेको छु,” थापाले भन्नुभयो, “दुई लाख १६ हजार बढिको कोष बनाएको छु । अब पनि निर्वाचित भएपछि पाउने सेवा सुविधाको यस्तै काममा उपयोग गर्नेछु ।”

यस्तै बागलुङ नगरपालिका–८ सिगानाका निर्वतमान वडा अध्यक्ष राजन जिसीले वडा अध्यक्षलाई दिएको मोटरसाईकल फिर्ता गरेर निजी सवारीसानध चलाएर जनताको सेवा गर्नुभयो । १४ वटै वडा अध्यक्षलाई दिएको मोटरसाइकलन नचड्ने जिसी एकमात्रै वडा अध्यक्ष हुन् । उहाँ अहिले पुन वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

यस्तै बागलुङ नगरपालिकामा गठबन्धका तर्फबाट बागलुङ नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठ र उपप्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका राजु खड्काले घोषणापत्रमा आफ्नो नाममा आएको सेवा सुविधा जनताको हितमा खर्च गर्ने बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *