कहिले सम्म तिर्ने १० दिनको १० लाख ?

सम्पादकीय
अहिले बागलुङ बजारमा महोत्सवको माहोलले पुसको चिसिँदो मौसमलाई पनि तताउने क्रममा छ । यही पुस ११ देखी २१ सम्म हुने गण्डकी प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव धौलागिरी क्याम्पस प्राङ्गणमा हुँदैछ । जिल्लाको व्यापार तथा पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजित महोत्सवले निश्चय पनि राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसार हुने र सकरात्मक सन्देश प्रवाह गर्नेमा सन्देह छैन । तर, महोत्सव आयोजना स्थल धौलागिरी क्याम्पस जहाँ यस पटक पनि महोत्सव आयोजना गरिएको छ । महोत्सव आयोजना गर्दा स्थलको बारबार समस्या र बार्गेनिङ किन उर्लदो छ ? अब जिल्लाका सरोकारवाला सबैका बीचमा यो बहस हुन जरुर छ ।

बागलुङ बजारमा ठुला उत्सव, महोत्सव, सभा सम्मेलन गर्न उपर्युक्त खुल्ला मैदान छैन । किन त ? के लामो राजनीतिक इतिहास बनाएको बागलुङले राम्रो भिजन भएको नेता पाएन ? दर्जनौ पटक सयौं नेता र प्रतिनिधि पाए पनि जिल्लामा अपरिहार्य कार्यक्रम स्थलको यथोचित व्यवस्थापन गर्न नसक्नु दुरदर्शिताको अभाव त हो नै । त्यो भन्दा बढी बागलुङबासीको दुर्भाग्य हो । आज जिल्लामा फरक उत्साह र सन्देश फैलाउने गरि कुनै कार्यक्रम आयोजना गरौं भन्यो भने बजारका सडकमा आयोजना गर्नुपर्ने बिडम्बनापूर्ण अवस्था छ । त्यो सडक आँफै साँघुरो छ । फुटपाथको उस्तै लापरवाहीले बजारको दुरावस्था प्रतित हुन्छ । त्यही एउटा खुल्ला रहेको क्याम्पसको दन्तबझान त झेलिरहनु परेको छ नै । अर्को डरलाग्दो बिषय त क्याम्पस चौर पनि अव्यवस्थित भवन निर्माणका नाममा कंक्रिटले भरिदै जान थालेको छ । त्यसैले बागलुङमा आयोजना गरिने महोत्सव कहिले उपल्लचौर, कहिले बाङ्गेचौर लगेर पनि गर्ने गरिएको छ । यद्यपी, ती स्थान क्याम्पसको तुलनामा अपायक सिद्ध भएका छन् । र त्यसले बजारको व्यापार र चहल पहलमा पनि उल्लेख्य कमी हुने गरेको देखिएको छ । उपर्युक्त स्थान अभावमा कतिपय सन्दर्भमा स्थान अभावकै कारण कैयन बाहिरबाट प्रस्ताव गरिएका कार्यक्रम रद्ध गर्नुपर्ने या धौलागिरीका अरु जिल्लामा स्थान्तरण गर्नुपर्ने बाध्यता पनि छ । यही बाध्यताका बीच बागलुङ नगरपालिकाले नगरको नयाँ बसर्पाकमा सिटी हलको योजना बनायो पनि । तर, मापदण्ड अनुसारको जग्गा नभए पछि फेरी यो योजना र सपना पनि अन्यौलमा पर्ने सम्भावना बिद्यमान देखिएको छ ।

अहिले बजारमा स्थान अभावमा धौलागिरी क्याम्पस प्राङ्गण महोत्सवको पहिलो रोजाई र विकल्प बन्ने गरेको छ । यद्यपी, यहाँ कार्यक्रम आयोजना गर्दा क्याम्पसले कैयन शर्त सहित पैसाको माग गर्ने गरेको छ । क्याम्पसको पठन पाठन प्रभावित नहोस् भन्नका लागि दैनिक हुने कार्यक्रममा निषेध गर्नु स्वभाविक र अत्यावश्यक बिषय पनि हो । शैक्षिक स्थलमा कोलाहल हुने यस्ता कार्यक्रम आयोजना गरिनु हुँदैन पनि । तर, क्याम्पसमा आयोजना गर्नुपर्ने बाध्यतामा कैयन अस्वभाविक शर्त र बार्गेनिङ हुने गरेको छ । त्यो क्याम्पस प्रशासनको तह भन्दा पनि बिद्यार्थी संगठनहरुबाट बढी देखिने गरेको छ । अहिले पनि कोष, छात्रवृत्ति र अरु काम गर्ने गरि महोत्सव आयोजकले १० दिनको १० लाख भन्दा बढी रकम क्याम्पसलाई दिने भएका छन् । ठुलो धनराशी तिरेर सघंले पो कार्यक्रम गर्न आँट ग¥यो । के प्रदेश र राष्ट्रिय स्तरमा महत्व राख्ने र सुखद सन्देश प्रवाह गर्ने कार्यक्रमका अरु सबै आयोजकले यति ठुलो राशी तिर्न सक्छन् ? सधैंभर क्याम्पसमै महोत्सव या ठुला कार्यक्रम आयोजना गर्नुपर्ने बिवशताबाट अब मुक्त हुने बिकल्प यहाँको स्थानीय सरकारले तयार गर्नुपर्छ । यदी यो स्तरबाट नसक्ने हो भने प्रदेश र केन्द्र सरकारबाट भए पनि बजार सेरोफेरोमै तत्काल उपर्युक्त खुल्ला मैदानको व्यवस्थापन गर्न पहलकदमी जरुर देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *