व्यवहारिक शिक्षा: केरा र सुन्तला खेती गर्दै विद्यार्थी

खेमराज गौतम,बागलुङ

अधिकांश बिद्यालयका विद्यार्थीहरुले कक्षामा पढाई नभए समय कसरी बिताउछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो गर्दै समय काट्छन् होला । तर, बागलुङको नगरपालिका–८ स्थित सिगाना माध्यमिक विद्यालयले एक वर्ष देखि विद्यार्थीहरुको फुर्सदको समयलाई व्यवहारिक अभ्यासमा खर्चिन गरेका छन् ।

उनीहरुले पढाइ नभएको समयमा झनै उपयोगी शिक्षा हासिल गर्न थालेका हुन् । विद्यालयमा शिक्षक नआएर पढाइ नहुँदा, टिफिन टाइममा बचेको समयलाई सदुपयोग गर्दै विद्यालयमा नै केरा र सुन्तला खेती गर्न थालेको बिद्यालयले जनाएको छ ।

विद्यार्थी हिजोआज विद्यालयमा गएर फुर्सद हुने बित्तिकै काममा व्यस्त हुन्छन् । विद्यालयको खाली जग्गामा उनीहरूले सामूहिक रूपमा नै केरा र सुन्तला खेती गरेका छन् । विद्यार्थी आपसमा मिलेर फलफूल खेतीमा जुटेपछि शिक्षक र उनीहरूका अभिभावक समेत दंग परेका छन् । फलफूल खेतीको नेतृत्व विद्यालयमा गठित सुर्योदय बाल क्लवले लिएको छ । विद्यालयको ५ रोपनी जग्गामा ४ सय बोट केरा र ४० बोट सुन्तला लगाएको सुर्योदय बाल क्लवका अध्यक्ष अनुस्का केसीले बताउनुभयो । ‘हामीले धान, मकै लगायतका खाद्य बालीको अभ्यास र सिकाई त घरमा पनि गरेको थियौ,’ बिद्यार्थी केसीले भनिन्,‘नगदे बालीको रुपमा रहेको सुुन्तला र केरा खेती कसरी गर्ने भन्ने सिकाई र यसको व्यवसायिकताबारे राम्रो ज्ञान र सिकाई प्राप्त भएको छ ।’

२०६७ सालमा बिद्यालयले आर्थिक स्रोत जुटाउनका लागि धनधान्यान्चल महायज्ञ लगाएको समयमा शिक्षाप्रेमीले विद्यालय आसपासको २३ रोपनी जग्गा विद्यालयलाई निःशुल्क दान गरेपछि जग्गाको सदुपयोग सहित व्यवहारिक शिक्षाको अभ्यास थालिएको विद्यालयका प्राचार्य गोपालकुमार शर्माले जानकारी दिनुभयो । जग्गादाताले उर्वर मानिने खेत र बारी विद्यालयलाई प्रदान गरेपछि विद्यालयले जग्गा सदुपयोग गर्दै व्यवहारिक शिक्षा समे्त अभ्यास गराउन थालेको हो । विगतमा त्यत्तिकै खेर गएको विद्यालयको जग्गा अहिले केरा र सुन्तला खेतीका कारण हरियाली बनेको छ । एक वर्ष अघि देखि विद्यालय परिसरमा रहेको तीन रोपनी जग्गामा केरा खेती र सिगानाको ७ मुरे स्थित दुई रोपनी बारीमा सुन्तला खेती गरिएको प्राचार्य शर्माले बताउनुभयो । ‘परिक्षणका लागि पाँच रोपनी जग्गामा केरा र सुन्तला खेती गर्न थालेका छौं’ शर्माले भन्नुभयो, ‘विगतका वर्षमा तरकारी खेती पनि गरेका थियौं, लामो समय विदा हुँदा तरकारी उत्पादनमा समस्या भएपछि फलफूल खेती थालेका हौं ।’

‘विद्यार्थीले स्कुलमा आएर किताबको ज्ञान मात्र नभई फलफूल फलाउन समेत सिक्दैछन्’ व्यवहारिक शिक्षणको नेतृत्व गराइरहनुभएका लक्ष्मण खड्काले भन्नुभयो, ‘प्रयोगात्मक शिक्षाले विद्यार्थीले घरमा पनि फलफूल खेती गर्न सहयोग मिल्नेछ ।’ अबदेखि विद्यार्थीलाई प्रयोगात्मक विषयको नम्बर फलफूल खेतीमा गरेको कामका आधारमा दिइने शिक्षक खड्काले बताउनुभयो ।

विद्यालयका कक्षा ४ देखि १० कक्षामा अध्ययनरत सबै विद्यार्थीले अहिले पालैपालो केरा र सुन्तला खेतीको स्याहार सुसारमा समय दिने गरेका छन् । विद्यालयले खेलकूद मैदान बाहेकको अन्य जग्गामा समेत सुन्तला खेती विस्तार गर्ने लक्ष्य लिएको छ । विद्यालयले ९ र १० कक्षामा कृषि प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य लिएको छ । बिद्यालयमा हाल बाल विकास देखि कक्षा १२ सम्म ३ सय ८५ बिद्यार्थीले अध्ययनरत छन् । विद्यालय जिल्लाकै गुणस्तरिय शिक्षा प्रदान गर्ने विद्यालयका रुपमा चिनिदै आएको छ । गाउँका सरकारी स्कूल खाली हुने अवस्थामा पनि यस विद्यालय प्रतिको आर्कषण बढ्दो क्रममा रहेको स्थानीय बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *