लोकतन्त्रमा सञ्चार

शुभेक्षा पन्त
लोकतन्त्र शासनको एउटा व्यवस्था हो । लोक र तन्त्र मिलेर लोकतन्त्र शब्द बनेको छ । यहाँ लोकको अर्थ जनता र तन्त्र भनेको शासन हो । अब्राहम लिङ्कनले लोकतन्त्रलाई जनताको, जनताका लागि र जनताद्वारा गरिने शासन हो भनी परिभाषित गरेका छन् । लोकतन्त्रात्मक व्यवस्था संवैधानिक रूपमा अत्यन्त सरल तर अभ्यासका दृष्टिले जटिल र घुमाउरो रहेको छ । लोकतन्त्रलाई चिनाउने परिभाषाहरू जतिसुकै भए पनि लोकतन्त्र भनेको नागरिक र सरकारका बीच पारस्परिक रूपमा गरिने पारदर्शी सञ्चार व्यवस्था हो ।

लोकतन्त्र आफै एउटा यस्तो सञ्चार व्यवस्था हो जसमा जनताले आफ्ना विचार र दृष्टिकोण खुलस्त रूपमा र व्यवधानरहित ढङ्गले राख्न पाउने मात्र होइन, अरूका विचार र दृष्टिकोणलाई पनि जान्न पाउने हक राख्दछ । लोकतन्त्र जनताको शासन हो  । जनताले आफूले चुनेका प्रतिनिधिहरू मार्फत शासन गर्छन  । लोकतन्त्र समकालीन विश्वमा अनन्त र सर्वव्यापक छ । राजनीतिक सिद्धान्तमा लोकतन्त्रले एउटा निश्चित प्रकारको शासन र सोसँग सम्बन्धित राजनीतिक विचारधारालाई जनाउंदछ । लोकतन्त्र प्रत्येक नागरिकको अधिकार, न्याय, समानता, स्वतन्त्रतामा आधारित राजनीतिक प्रणाली हो ।

लोकतन्त्रमा सरकारले सञ्चार क्षेत्रको रक्षा गर्नु पर्छ । प्रत्येक व्यक्तिले प्राप्त गरेका यस प्रकारका नैसर्गिक अधिकार र स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी जति कुशलता र इमानदारीका साथ सरकारले निर्वाह गर्न सक्छ त्यति नै मात्रामा त्यो लोकतान्त्रिक व्यवस्था बन्छ । लोकतन्त्र समग्र रूपमा एउटा यस्तो मानवीय सभ्यता पनि हो, जसको सामाजिक व्यवस्थाको जग मानवता, समानता, न्याय र स्वतन्त्रता जस्ता मानवतावादी मूल्य मान्यताले बनेको हुन्छ । जनताको निकटस्थ हुने गरी शासन, विकास गर्ने, बहुमतको शासन, अल्पमतको कदर, अधिकारमा आधारित शासन विकास, सामाजिक संवेदनशीलता सहितको जनउत्तरदायी राज्य प्रणालीको विकास गर्ने, अवसरको सिर्जना, न्यायोचित वितरण, समान पहुँचको व्यवस्था मिलाएमा मात्र लोकतान्त्रिक शासन व्यवस्थालाई सफल बनाउन सकिन्छ । लोकतन्त्रलाई जनताबाट टाढा हुन दिनु हुँदैन ।

समाजको विकास निर्माणमा पनि लोकतन्त्रको अहम भूमिका रहन्छ । यूवालाई जोश, जाँगर विकासमा लगाएर लोकतन्त्रको संस्थागत विकास गर्न सकेमा विकासको नयाँ मुहार देख्न सकिन्थियो । लोकतन्त्र रूपान्तरणको बाधक होइन, माध्यम हो । लोकतन्त्रले मानिसको जीवनसँग जोडिने रूपान्तरणलाई सम्भव बनाउँछ । राजनीतिक अधिकारको उपभोगमार्फत आम मानिस शासन सञ्चालनको प्रक्रियामा सार्थक रूपमा सहभागि हुने वातावरण दिगो रूपान्तरणको आधार हो ।

नेपाल लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरिएको राष्ट्र हो । लोकतन्त्रमा निर्वाचनले नयाँ सरकार मात्र नभई जिम्मेवारी पनि हस्तान्तरण गर्दछ । जनताबाट शासन गरिने शासन व्यवस्थालाई जनताको शासन वा लोकतन्त्र भनिन्छ । निर्वाचन र निर्वाचन प्रणाली नै लोकतान्त्रिक प्रक्रियाको खम्बा हो । निर्वाचनबाट नै लोकतन्त्रमा सरकारले अधिकारले पाएको छ । लोकतन्त्रमा निर्वाचन स्वतन्त्र तथा निष्पक्ष गराउनुपर्छ । निर्वाचन अथवा चुनाव प्रजातन्त्रको आधारभूत जग हो । निर्वाचनमा जनताका प्रतिनिधिहरू छानिन्छन् ।

जनता सर्वोच्च भएर आफ्ना हक अधिकारको समन्याय र निर्णयकारी भूमिका खेल्ने शासन पद्धितलाई लोकतन्त्र भनिन्छ । लोकतन्त्र तल्लो निकायदेखि नै जनताको समस्या समाधान गर्ने, स्थानीय स्रोत साधनको परिचालन गर्ने, स्थानीय समस्याको समाधान गर्ने र जनतालाई स्वावलम्बी बनाउने सम्रग विकासको रणनीतिमा आधारित जनताको महत्वपूर्ण रुपमा स्थापित पद्धति हो । विकासका माध्यमबाट आफ्नो सामाजिक आर्थिक अवस्था सुधार्न पाउनु मानिसको नैसर्गिक अधिकार हो । यसका लागि प्राकृतिक तथा भौतिक स्रोतको उपयोग गर्नुपर्ने हुन्छ । लोकतन्त्रको संस्थागत विकास गरेर अगाडि बढ्न सकेमा देशमा गुन्जिरहेको गरिबी, भष्ट्रचार आदि सहज रुपमै न्यूनीकरण गर्न सकिन्थ्यो ।

प्रजातान्त्रिक मुलुकहरुमा राज्यका धेरै निकायहरु जनताद्धारा निर्वाचित हुन्छन् । प्रजातान्त्रिक शासन व्यस्थाको लागि निर्वाचन महत्वपूर्ण आधार हो । निर्वाचन र निर्वाचन प्रणालीको अर्थ लोकतन्त्रलाई प्रतिनिधित्वको रुपमा सुनिश्चित बनाउनको लागि बनाइएको एउटा कानुनी प्रणाली हो । शासनको विभिन्न तहमा जनताले आफ्नो प्रतिनिधि छानेर पठाउने प्रक्रियालाई निर्वाचन भनिन्छ । लोकतन्त्रमा निर्वाचनको अत्यन्तै महत्व छ । निर्वाचनको माध्यमबाट जनताले आफ्ना प्रतिनिधि छनोट गरी शासन व्यवस्थामा सहभागिता तथा वैधानिकता प्रदान गर्दछन् । हाल विश्वमा विभिन्न किसिमका निर्वाचन प्रणाली प्रयोगमा ल्याइएका छन् । वर्तमान संविधानले संसद सदस्य तथा स्थानीय तहका पदाधिकारीरुको छनोटका लागि ५ वर्षमा अवधिक निर्वाचन हुने व्यवस्था छ । हाम्रो देशमा प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली गरी दुई किसिमको निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ।

हो, आज हामी २१ औँ शताब्दीमा छौ तर पनि देशमा अझै पूर्ण साक्षरता हुन सकेको छैन । अझै धेरै नागरिकलाई आफ्नो हक र अधिकारको बारेमा जानकारी छैन । उनीहरुलाई सजग र सचेत बनाउएर तेरोमेरो, धेरै थोरै जस्ता विषयमा द्धन्द्ध नगरी देश र जनताको सेवामा समर्पित हुने संस्कृति र संस्कारको विकास भएमा र आपसी एकता, सहमति गरेर अगाडि बढेमा मात्र जनताले लोकतन्त्र र विकास अनुभव गर्न पाउने छन् ।

सूचनामाथि हामी जति बढी अधिकार राख्न सक्छौं त्यति नै मात्रामा हामी छिटो र सजिलै सत्यको नजिक पुग्न सक्छौं । अन्यथा सूचनाको अभावले हामीलाई समस्याग्रस्त मात्र होइन उदासीन र कर्मशून्यसमेत बनाउँछ । निश्चय नै लोकतन्त्र पनि समस्यारहित व्यवस्था होइन । समस्यालाई स्वीकार गर्ने, समाधान गर्ने र नयाँ समस्यासँग जुध्न तयार रहने खुला र मुक्त परिपाटी नै लोकतान्त्रिक विधि हो । यी सबै कुरा सूचनाको निर्बाध प्रवाहले मात्रै गर्न सक्दछ । त्यसैले लोकतन्त्रमा सूचनाको प्रवाहलाई ज्यादै गम्भीर र उच्च महत्व दिइने हुँदा सोही अनुरुप गर्नु गराउन आबश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *