सरोजराज पन्त
आज विश्वले शैक्षिक उन्नयन कार्यमा धेरै फड्को मारिसकेको छ । हामी भने परम्परागत शिक्षणविधिमा छौँ । बिद्यार्थीहरुलाई कर र दबाबले कक्षाकोठामा राखी जबर्जस्ती पढाई कोरा ज्ञान दिइ रहेका छौँ । पूर्ण साक्षर जिल्ला, पालिका भन्दै घोषण गरेतापनि चार÷पाँच प्रतिशत विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा ल्याउन सकेका छैनौँ । बालबालिकालाई विद्यालयमा ल्याउन अनिवार्य र निःशुल्क शिक्षाको नारा लगाउन छाडेका छैनौँ । करले नभई रहरले सिकारू विद्यालयसम्म आउने वातावरण सिर्जना गर्न सकिरहेका छैनौँ । एकअर्कालाई दोष लगाउन र खुट्टा तान्मा मस्त छौँ । यी समस्या आउनुको पछाडि विद्यालयलाई बालमैत्री बनाउन नसक्नु हो । यो हामी सबैको साझा समस्या हो ।
आज जनप्रतिनिधि, परिवार, समाज र विद्यालयले बालमैत्री विद्यालय बनाउने बारे चर्चा गरेको पाइन्छ जसमा भनाइर गराईबीच तालमेल मिलाएर मूर्तरुप दिन नितान्त आवश्यक छ । त्यसो त गुणस्तरीय शिक्षाको लागि सरकारले गरेको लगानी अनुरुप विकास र विस्तार गरिए भन्ने गुनासो सर्वत्र सुन्न परेको छ । आशातित उपलब्धि हासिल नभएको र शिक्षामा रहेका विकृति, विसंगति र क्षतिलाई सम्बोधन गर्न जरुरी छ भनिन्छ तर अझ धैरै साधन÷स्रोत र समय खर्चिनुपर्ने माग रहेको छ ।
तथापि सरोकार जनप्रतिनिधि, पदाधिकारीहरू, विद्यार्थीहरू, अभिभावकहरू देखि स्थानीय सरकार बालमैत्री विद्यालयको सैद्धान्तिक अवधारणा र आधारभूत मूल्य तथा मान्यताका सम्बन्धमा पूर्ण रुपमा स्पष्ट छैनन कि भन्ने प्रश्न बेलाबखत उठने गरेको छ । जेहोस सम्बन्धित निकाय, पदाधिकारीहरू आ–आफ्नो तर्फबाट बालमैत्री शैक्षिक वातावरण प्रवद्धर्नका लागि सचेत हुनु आजको आवश्यकता हो ।
बालमैत्री विद्यालयमा बालबालिकाका लागि घरायसी, सहज अनुकुलन हुने, सहयोगी र मैत्रीपूर्ण वातावरण निर्माण भएको हुनु पर्दछ । यस्ता विद्यालयले दबाब, तनावमा सिकाउने होइन सहयोगात्मक र सक्रिय सिकाइ गरेको हुनु पर्दछ । विद्यार्थीहरुलाई शारीरिक, मानसिक सजायका साथै कुनै पनि तनाव दिने खालको क्रियाकलाप हुनु हुर्दैन । प्रत्येक विद्यार्थीलाई सिर्जनशिल कार्यमा लाग्न प्रथमिकता दिइनु पर्दछ । विद्यालयहरुले नियमितरुपमा अभिभावकसँग जोडिएर विद्यार्थीका बारे जानकारी दिनुका साथै विद्यालयको क्रियाकलापमा अभिभावकलाई संलग्न गराउँनु पर्दछ ।
बालमैत्री विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई घरायसी वातावरण दिने, हेरचाह, माया गर्दे सिकाउने गर्दछन् । सिकाउन र सिक्न उत्सुक र प्रतिबद्ध हुन्छन् । विद्यार्थीहरुको क्षमता मापन गरी उनीहरुको चाहनाअनुसार सिकाउने सक्षम हुन्छन् । विद्यार्थीहरुलाई हरेक सिर्जनशील क्रियाकलापमा सहभागी हुन उत्प्रेरित गर्ने, गल्तीबाट सिक्ने, गर्दे सिक्नमा हौसला प्रदान गर्ने र उनीहरुको विचारको सदैव कदर गर्दछन् । पाठयक्रम, पाठयपुस्तक, मनोवैज्ञानिक ज्ञान,सीपका साथ पूरा तयारीका गरी कक्षाकोठामा पुरा समय खर्चिछन । विद्यार्थीहरुको आत्मबल बढ्ने शिक्षण विधिहरु प्रयोग गर्दछन् । पेसाप्रति गौरव गरी, आत्मविश्वासका साथ कक्षाकोठालाई कर्मथलोका समय दिन्छन् । सबै समाबेशी, समन्याय, समान व्यवहार गर्दछन् । विद्यार्थीहरुलाई मानसिक, भौतिक लगायत कुनै किसिमको सजाय दिँदैनन् । विद्यार्थीको अगाडि सदैव नमूना बनेर प्रस्तुत हुन्छन् ।
बालमैत्री विद्यालयका अभिभावकहरु विद्यालय बोलाएको समयमा उपस्थित हुन्छन, बैठकमा भाग लिन्छन् । विद्यालयको शिक्षण, सिकाई गतिबिधि, नीति, कार्यक्रम तथा कार्यान्वयन अभ्यासबारे पूर्ण जानकार हुन्छन् । आफ्नो दक्षता, क्षमता र सामथ्र्यअनुसार विद्यालयको विकासमा सहभागी भई सहयोग गर्न तयार हुन्छन । आफ्ना बालबालिकाको शैक्षिक, समग्र प्रगति तथा कमजोरीबारे शिक्षक र प्रधानाध्यापकसँग सरसल्लाह लिने गर्दछन् । विद्यार्थीको सिकाइमा शिक्षक, बिद्यालयकोमात्र आस र भरोसामा बस्दैनन र आफनो जिम्मेवारी स्वीकार गर्दछन् । विद्यालयप्रति सधै सकारात्मक र सहयोगी भावना राख्छन् ।
बालमैत्री विद्यालयका विद्यार्थीहरु मिलनसार, सहयोगी र व्यावहारिक हुन्छन् । बिद्यालयका हरेक क्रियाकलापमा सहभागी हुन्छन् । घर परिवार, बिद्यालयमा आएका समस्याको निराकरण गर्न आपसी छलफल, सहयोग र अन्तक्र्रिया गर्न सक्षम हुन्छन् । उनीहरु आत्मसम्मान र आत्मबलमा बलिया हुन्छन । शारीरिक, बौद्धिक तथा संवेगात्मक विकास समानुपातिक रुपमा भएको हुन्छ ।
बागलुड नगरपालिकाले बालमैत्री नगर बनाउने उदघोष गरेको छ । तर अहिले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयभित्र ल्याउन नसकिएको अवस्था छ । बलतल्ल विद्यालयमा आएका बालबालिकालाई निरन्तर बिद्यालयमा टिकाइराख्न नसकेको अवस्था छ । विद्यार्थीको उपलब्धिस्तर सन्तोषजनक रुपमा प्रगति हुन सकेको छैन । गत शैक्षिक सत्रमा नगरपालिकाले लिएको कक्षा आठको परिक्षाको नतिजाले पनि यसबारे स्पष्ट भएको छ । शिक्षाले समाज र राष्ट्रको माग बमोजिम विश्वास जित्न सकेको छैन । शिक्षण संस्थालाई शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा चित्रण गर्नथालिएको छ । संघीयता आएको सात बर्ष हुँदापनि आजसम्म संघीय शिक्षा ऐन आउन सकेको छैन । जुन शैक्षिक नीतिका अभाव अहिलेको चुनौती बनेको छ ।
यस्तो अवस्थामा गुणस्तरीय शिक्षा, बालमैत्री शिक्षाको नारा लगाउनु कति सार्थक र सम्भव होला ? बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार शिक्षा आर्जन गर्ने बालमैत्री वातावरण कसरी सिर्जना होला ? विद्यार्थीको सिकाइ उपलब्धिलाई उच्च बनाउन घरपरिवार, समुदाय तथा विद्यालयको वातावरण बालमैत्री बनाउँन कसरी सम्भव हुन्छ ? विद्यालयमा घरायसी वातावरण, सांस्कृतिक, सामाजिक, धार्मिक, आर्थिक तथा जातजाति आदि विविध पृष्ठभूमि भएका बालबालिकाको उपस्थिति कसरी हुन्छ ? यस्तो अबस्थामा बालमैत्री विद्यालयको उदघोषलाई कार्यान्वयन र व्यवस्थापन गर्नमा धेरै नै चुनौतीहरु रहेका छन ।
यति भनी रहँदा असम्भवचाहिँ भने छैन । त्यसैले बालमैत्री विद्यालय बनाउन निम्न पक्षमा जोड दिन जरुरी छ –
विद्यालयको भौतिक पूर्वाधार जोड दिने : विद्यालयको भौतिक पूर्वाधार नै बालमैत्री विद्यालयको आधारस्तम्भ भएकोले विद्यालयको भौतिक पक्षमा बढी जोड दिनु पर्दछ । बिद्यालयमा जाऊँ जाऊँ भन्ने स्वच्छ, स्वस्थ र साधनस्रोतले सम्पन्न हुनु पर्दछ । विद्यालय भवन, कक्षाकोठा, पुस्तकालय, फर्निचर, खेल्ने चउर, खानेपानी, शौचालय, प्रयोगशाला, छात्रावास, चमेना गृहलगायतका सामग्रीहरु विद्यार्थीको उमेर क्षमताअनुसार उपलव्ध हुनु पर्दछ । बिद्यालय आकर्षक, लैंगिक, समावेशी र अपांगमैत्री हुनुपर्दछ ।
शिक्षण गतिविधि तथा मूल्यांकन प्रक्रिया : विद्यार्थीको मानसिक तथा शारीरिक उमेर चाहना र दैनिक गतिबिधिसँग आधारित हुनु पर्दछ । शिक्षण विधि बालबालिका मैत्री, मातृभाषामा हुनु पर्दछ । बालमनोबिज्ञान बुझेका शिक्षकले पाठ्यक्रम, पाठ्यपुस्तकका साथै विद्यार्थीहरुको समग्र पृष्ठभूमि अध्ययन गर्नु पर्दछ ।
शैक्षिक सामग्रीको उपलब्धता र प्रयोग : समयमा पाठ्यक्रम, पाठ्यपुस्तकको उपलब्धता, विद्यार्थीको वैयक्तिक विभिन्नताअनुसार शिक्षण सिकाइ सञ्चालन गर्ने, शैक्षिक सामग्रीको निर्माण, उचित प्रयोग, जिवन्त सिकाइ, ज्ञान तहमा भन्दा सीप तहमा जोड दिने । शिक्षकले पढाउने नभई सिकाउने र विषयको विषयगत लक्ष्य निर्धारण गरी पठनपाठन सञ्चालन गरी शैक्षिक उपलब्धिस्तरमा वृद्धि गर्न जरुरी छ ।
विद्यार्थी केन्द्रित शैक्षिक सामग्री : शैक्षिक सामग्री संकलन, निर्माण, प्रयोग र संरक्षण बिद्यार्थीमैत्री हुनु पर्द छ । जसबाट उनीहरुमा अपनत्व र आत्मविश्वासको विकास हुन्छ । बालबालिकाले केही जान्दैनन जे सिकाए पनि हुन्छ भन्ने पुरातनवादी सोचलाई निरुत्साहित गरी उनीहरुबाट पनि धेरै कुरा सिक्न सकिन्छ भन्ने सकारात्मक सोच राख्न जरुरी छ । उनीहरुको अनुभवलाई समेटर शिक्षण सिकाइ क्रियाकलाप तर्जुमा गर्नु सकेमामात्र बालमैत्री विद्यालय बनाउन सकिन्छ ।
विद्यालय मैत्री शिक्षक : बालमैत्री बिद्यालय बनाउन शिक्षण सिकाइ क्रियाकलाप बालमैत्री हुनु पर्दछ । यसकालागि विद्यालय मैत्री शिक्षक हुनु पर्दछ । यसैगरी शिक्षण विधि र विषयलाई निरन्तर परिमार्जन र परिष्कृत गर्नु आवश्यक छ । त्यसैले बालमैत्री विद्यालय बनाउनका लागि सबैभन्दा पहिला विद्यालय शिक्षकमैत्री हुनुपर्दछ ।
विद्यार्थी मैत्री परिक्षा प्रणाली : विद्यार्थीको योग्यता क्षमता र उपलब्धिस्तरको प्रगति एकीन गर्न परम्परागत परीक्षा र मूल्यांकन अहिलेसम्म अबलम्बन गरिएको छ । परीक्षालाई समय सापेक्ष, वस्तुनिष्ठ, पारदर्शी र निष्पक्ष बनाउन जरुरी छ । प्रत्येक विद्यार्थीको उपलब्धिस्तरको विश्लेषण गरी आवश्यक सल्लाह÷सुझाव विद्यार्थी र अभिभावकलाई दिन सक्नु पर्दछ ।
चौकोणात्मक सम्बन्ध : विद्यार्थी उपलब्धिलाई प्रमुखतामा राखेर शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन गर्ने र यसका लागि बिद्यार्थी, अभिभावक, शिक्षक र बिद्यालयबीच असल र गहन सम्बन्ध हुनु पर्दछ । यी लगायतका सरोकार पक्षको कार्यदक्षताको मूल्यांकन गरेमामात्र बालमैत्री विद्यालय बनाउन सकिन्छ ।
बालबालिका, अभिभावक र समुदायको सहभागिता : विद्यालयलाई बालमैत्री बनाउन बालबालिकाको सक्रिय सहभागिता पहिलो शर्त हो । विद्यार्थी वर्तमानका साझेदार र भविष्यका कर्णधार भएकोले हिजोको शिक्षा, आजको इच्छा र भोलिको प्रतिक्षा गर्नमा हामी चुक्नु हुदैन । यो यथार्थलाई बिर्सिएर विद्यालयलाई राजनीतिक कृडास्थल बनाउन र हुन दिन भएन । साधनस्रोत सम्पन्न बनाउन अभिभावक र समुदाय तथा सरकारी गैरसरकारी संघ÷संस्थाको सद्भाव, सहयोग, सहकार्य गर्नमा चुक्नु भएन । त्यसैले विद्यालय बालमैत्री बनाउनका लागि नारा होइन काम गर्ने शिक्षक, सहयोगी अभिभावक र समुदाय हुनु पर्दछ । उनीहरु बीचमा दिगो, सुमधुर, सौहार्द, बालमैत्री सम्बन्ध हुनु पर्दछ ।
समय व्यवस्थापन : बालबालिका छ घण्टा मात्र विद्यालयमा रहन्छन भने १८ घण्टा घरपरिवार र समुदायमा समय बिताउँछन । तसर्थ बिद्यालयको वातावरण पनि बालमैत्री हुनु आवश्यक हुन्छ । समयको उचित सदुपयोग गर्ने बातावरण मिलेको हुनु पर्दछ । घरमा व्यवहारिक ज्ञान, सीप, पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, विकेन्द्रित जिम्मेवारी हुनु पर्दछ तवमात्र विद्यालयप्रति बिद्यार्थीले अपनत्वबोध गर्दछ । घर र बिालयको वातावरणबीच तालमेल मिलि बालबालिकामा उच्च भावनाको विकास हुन्छ र बालमैत्रीपूर्ण वातावरण सिर्जना हुन्छ ।
अनुशासित, स्वस्थ र लगनशील वातावरण : अनुशासित, लगनशील स्वस्थ, स्वच्छ वातावरणले मात्र बालबालिकाको शारीरिक तथा मानसिक विकास सम्भव हुन्छ । घर, बिद्यालय, कक्षाकोठा, धारा, शौचालय, खेल्ने चउर, बाटो आदिको नियमित सरसफाइ तथा फोहोरमैलाको उचित व्यवस्थापनबाट पाठ सिक्न सिकाउन सक्नु पर्दछ ।घरमा परिवार, बिद्यालयमा शिक्षक स्टाफको स्वस्थकर बानी व्यहोराले बालबालिकाको बानी व्यहोरामा सकारात्मक प्रभाव पार्नु पर्दछ ।
सामाजिकीकरण : आजका बालबालिका सामाजि सञ्जालको कारण परिवार, समाजबाट टाढा रहेका छन । सामाजिक, धार्मिक संस्कार, संस्कृति, मानवीय सद्भाव र सहयोग तथा भ्रातृत्वको भावनालाई उच्च प्राथमिकता दिएर नवीन ज्ञान र सीपबाट उनीहरुलाई सुसज्जित गर्नु आजको आवश्यकता हो । तबमात्र उनीहरुलाई सफल जीवनयापन गर्न सक्षम नागरिक उत्पादन गर्न, अनुशासित शैक्षिक वातावरण सकिन्छ । असल सामाजिकीकरणको ज्ञान दिन सकेमामात्र विद्यालयमा अनुशासित वातावरण कायम राख्न, व्यावहारिक बनाउन, आचरसंहिताको पालना गर्न गराउन र निष्पक्ष रुपमा आफु, आफनो समाज र देशको लागि काम गर्न सक्ने बनाउन सकिन्छ ।
सहकार्यको सस्कारः अनुशासनको कारण आज बिद्यार्थीलाई दण्ड दिनु परेको छ । मानसिक तथा शारीरिक यातनालाई पूर्णरुपमा वर्जित गर्दै लोकतान्त्रिक मूल्यमान्यताअनुरुप कक्षा तथा विद्यालय सञ्चालन गर्ने संस्कारको विकास गर्नु बिद्यार्थीमा अनुशासनसँगै सहकार्यको सस्कार हुनु पर्दछ । ऋादर, सम्मान, शिष्ट, सदाचार, सौहार्द, नम्र बानी÷व्यहोरा, बोली, व्यबहारमा प्रोत्साहित गर्ने मानवीय वातावरण सिर्जना गर्नु पर्दछ ।
भविष्य प्रतिको दुरदर्शी सोचको निर्माण : आफु नमरी स्वर्ग देखिदैन भने झै घर परिबार र विद्यालयले अख्तियार गरेका शैक्षिक गतिबिधि, नीति र रणनीति कतिको प्रभावकारी भए, वा भएनन, भविष्यमा कस्तो सुधार ल्याउनुपर्ला? बिद्यर्थी उज्ज्वल भविश्यकोलागि केकस्ता उपायहरु गर्न के कस्तो निरन्तर अनुगमन निरीक्षण गर्नुपर्दछ । ब्र्तमानमा देखिएका कमी कमजोरी सच्याउने र सच्चिने मौका प्रदान गरिनु पर्दछ । शिक्षाका नीति, नियम र योजना विद्यार्थीलाई सर्वोपरी ठानी उनीहरुकै हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नु सक्नु पर्दछ ।
प्रविधिमैत्री शिक्षमा जोड : शिक्षणमा परम्परागत विधि र प्रवृत्तिमा समयानुकुल परिमार्जन परिष्कृत गर्दै पुराना आउटडेटेट, बासी विषयवस्तुको सट्टा समयको माग तथा विद्यार्थीको रुचि, क्षमता, आवश्यकता, चाहनाअनुसार भविश्यमैत्री, जीवनोपयोगी, नवीनतम ताजा विषयवस्तु तथा शिक्षण सिकाइ क्रियाकलाप तर्जुमा गर्न र प्रयोग गर्न सक्नु पर्दछ । यस्तो वातावरण भएमामात्र बिद्यालय बालमत्रीै बन्न सक्दछ । यसबाट बालबालिकाहरु विद्यालय जान रुने, बिद्यालयबाट भागेर घरमा होइन, घरबाट भागेर विद्यालयमा जान उत्प्ररित हुन सकुन ।
बालमैत्री विद्यालयको महत्वपूर्ण सूचक माथि उन्लेखित बिषयभन्दा धेरै छन । ती मध्ये निम्नतम अति आबश्यक सर्त पुरागर्न सकेमामात्र र अनुशासित विद्यार्थी, लगनशील, सचेत शिक्षक, अभिभावक, समर्पित प्रधानाध्यापक, कुशल व्यवस्थापक र कुशल प्रशासक तथा असल राजनीतिक अनुगमन भएमा बालमैत्री शिक्षाको नारा र उदघोष सफल हुनेछ ।