लोकमार्गको घोडाबाँधे–हटिया सडक जीर्ण, साउनपछि मर्मत हुने

डम्मर बुढा मगर, बागलुङ
मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको घोडाबाँधे–हटिया सडक खण्ड कालोपत्रे भएको ७ वर्ष पुगि सक्यो । अहिले यस सडक खण्ड निकै जीर्ण बनेको छ । अस्तव्यस्त ग्रामीण सडक निर्माण र कमसल सामग्री प्रयोगका कारण अहिले सडक खण्डको विभिन्न स्थानमा कालोपत्रे उप्किएर यात्रा गर्न निकै समस्या भएको छ । दैनिक सयौँ साना तथा ठूला सवारी साधान गुड्ने सडकको अवस्था जीर्ण बन्दा यात्रुले सास्ती खेप्नु परेको छ ।

सडक खण्डको २० किलोमिटर मध्ये अधिकांश स्थानमा सडकमाथिदेखि झरेको भलसहितको लेदो र माटोले कालोपत्रे पुरिएको छ भने केही स्थानमा कालोपत्रे उप्किएर हिलाम्मे धुलाम्मे बनेको छ । सडक जीण बनेपछि मध्यपहाडी लोकमार्ग कार्यालयले मर्मत सम्भारका लागि बोलपत्र आह्वान गरेको छ । घोडाबाँधेदेखि गलकोट हटियासम्मको २० किलोमिटर सडक मर्मतका लागि प्रक्रिया अगाडी बढेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वत कुश्माका इन्जिनियर मिलन श्रेष्ठले बताए ।

उनले सडक मर्मतका लागि बोलपत्र आश्वान गरि सकेको भन्दै ठेक्का प्रक्रियामा गएपछि काम मर्मत सम्भारको काम सुरु हुने श्रेष्ठ बताउँछन् । ‘सडक मर्मतका लागि बोलपत्र आह्वान भएको छ, अब कसले जिम्मा लिने हो, जसले जिम्मा लिए पनि साउनदेखि काम सुरु हुनेमा हामी आशावादी छौँ,’ इन्जिनियर श्रेष्ठले भने ।

सडक मर्मतको काम दुई वर्षमा सकि सक्नु पर्ने उनको भनाई छ । ‘सडक मर्मतका लागि प्रक्रिया अगाडी बढि सक्यो, अब धेरै समय लाग्दैन काम सुरु हुन, साउनबाट काम सुरु भए पनि दुई वर्षमा सकिने गरि काम गर्नु पर्ने उनको भनाई छ । श्रेष्ठले निर्माण कम्पनीले लगातार काम ग¥यो भने दुई वर्ष भित्रमै काम सम्पन्न गर्न सक्ने बताए ।

यो सडक आर्थिक वर्ष २०७१/०७२ मा कालोपत्रे भएको थियो । घोडाबाँधेदेखि हटियासम्मको सडक कालोपत्रे हुँदा बागलुङका अन्य सडक भने कतै पनि कालोपत्रे भएका थिएनन् । गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिमबहादुर भण्डारीले सडकमा अत्याधिक खाल्डाखुल्डी हुँदा यात्रुहरुलाई यात्रा गर्न निकै समस्या परेको बताए । अध्यक्ष भण्डारीले सडक मर्मतका लागि आफूहरुले समयसमयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेको बताए ।

गाडी चालक लोकबहादुर विकले पछिल्लो समय यस सडक खण्ड निकै बिग्रिँदै गएको भन्दै यात्रा गर्न निकै गाह्रो हुने गरेको बताए । उनले सडकको विभिन्न स्थानमा अत्याधिक खाल्डाखुल्डी हुँदा हिउँदमा धुलो र वर्षातको समय हिलो हुँदा गाडीनै अड्किने गरेको बताए ।

‘यो बाटोको हालत निकै खराब छ, केही समय अगाडीसम्म त राम्रै थियो, केही दिन अगाडी परेको पानीले कालोपत्रे उक्केर खाल्डो बनाएको छ, त्यही खाल्डोमा गाडीको टायर अड्किएर निकाल्नै समय लाग्छ, प्यासेन्जर आत्तिन्छन्,’ चालक विकले भने ‘कहिलेकाहीँ हतार हुन्छ, बिरामी लिएर आएको हुन्छ, बाटोको अवस्था यस्तो हुँदा समयमै गन्तव्यमा पुग्नै सकिन्न ।’

अहिले मध्यपहाडी लोकमार्गको करिब २५ किलोमिटर सडक बाहेक अन्य सबै सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी लोकमार्गको कबिर १४२ किलोमिटर बागलुङमा पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *