व्यवस्था फेरियो, अवस्था फेरिएन

डम्मर बुढा मगर, बागलुङ
कालीगण्डकी किनारमा वषौँदेखि गिट्टी कुटेर विजीकोपार्जन गर्दै आउनु भएका ७४ वर्षीय मनोहरलाल अधिकारीले अहिलेसम्म कयौँ चुनावमा मतदान गर्नुभयो । उहाँले मतदान गरेर जितेका जनप्रतिनिधिहरुले अहिले उहाँलाई चिन्दैनन् । लोकतन्त्र आयो । पञ्चायत ढल्यो । विभिन्न आन्दोलनहरु भए । धेरै व्यवस्थाहरु फेरिए, तर उहाँको अवस्था भने कहिले पनि फेरिएन ।

बुढेसकालमा घरमा आराम गर्ने समय उहाँले कालीगण्डकी तिरमा गिट्टी कुटेर विजिकोपार्जन गरि रहनु भएको छ । गिट्टी नकुटे विहान बेलुकीको छाक टार्न गाह्रो हुने बताउने अधिकारीले सरकारले आफू जस्ता निमुखाका लागि काम गर्न नसेको दुःख पोख्नुभयो । ‘यो सरकार त हुने खाने र टाठाबाठाको लागि रहेछ, हामी जस्ता गरिब दुःखीका लागि रहेनछ’ उहाँले भन्नुभयो ।

चुनावको बेला घरमै आएर नेताहरुले अनेक खालका आश्वासनहरु देखाउने तर चुनाव जितेपछि फर्किएर नआउने उहाँको भनाई छ । ‘चुनाव आउँदात नेताहरु दिनदिनै घरमै आउँछन्, चुनाव सकिएपछि नाक मुक नै देखाउँदैनन्, नेता सबै ठग हुन्, यिनीहरुले जनता ठग्ने बाहेक अरु केही गरेको मैले पाएको छैन’ उहाँले भन्नुभयो अहिलेसम्म धेरै पटक भोट हालियो, नेताहरुले धेरै आशा मात्रै देखाए तर त्यो पूरा गरेनन् ।’

आर्थिक अवस्था निकै कमजोर भएका अधिकारी विहान उठेदेखि रात नपरुन्जेलसम्म काली किनारमै गिट्टी कुट्ने गर्छन् । बालुवा समेत उठाउँदै आएका अधिकारीले अहिले उठाउन निषेध गरेपछि गुट्टी कुट्नुको विकल्प नभएको बताउनुहुन्छ ।

‘नेताहरुलाई भोट हाल्ने जिताउने र ठूलो पदमा पठाउने, उनीहरुलेनै हामी जस्ता गरिब दुःखीको गरि खाने ठाउँनै बन्द गरिखिन्छ, ठूलाबडाले त ठूलै मेसिन लगाएर बालुवा ढुङ्गा झिक्दा केही नहुने हामीले चाहीँ गैँटी पेल्चाले निकाल्दा पनि रोक लगाउने, यो कस्तो सरकार हो ?,’ उहाँले भन्नुभयो ‘सरकारले पनि जो कमजोर छ, जो गरिब छ उसैलाई कानुन लगाउँछ, ठूलाबडा र टाठाबाठालाई त कानुन लाग्दैन ।’

उहाँले अहिलेसम्म धेरै पटक भोट हालेर नेतालाई माथिल्लो पदमा पठाए पनि आफूहरुको अवस्था भने फेरिन नसकेको बताउनुभयो । ‘अहिलेसम्म धेरै पटक भोट हाले, भोट माग्न आउँदा नेताहरुले धेरै आशाहरु देखाए तर हामी जस्तो दुखी गरिबका लागि केही गर्न सकेनन्, हामीले भोट हाल्यौँ जितायौँ, उनीहरु माथि पुगे, हामी जहाँको त्यही छौँ, कसले हेथ्र्योँ हामी जस्तो मान्छेलाई, कि टाठोबाठो हुनु प¥यो कि नेताको अघिपछि चाकडी गर्दै हिड्नु प¥यो ।’

अधिकारीले सरकारले गरिब दुःखीका लागि सरकारले रोजगारको ग्यारेन्टी गरिदिन सके आफूहरुको अवस्था फेरिन सक्ने बताउनुभयो । अहिलेसम्म कोही नेताहरुले आफूहरुलाई काम दिन नसकेको भन्दै अब उनीहरुबाट अपेक्षा समेत नगरेको बताउनुभयो ।

‘हामीले राम्रो काम पाउन सकिएन, कोही नेताले पनि गरिबहरुका लागि राम्रो कामको व्यवस्था गर्न सकेन, काम दिन सकेत हाम्रो पनि अवस्था केही फेरिने थियो, काम खोज्ने गर्ने, कहिले काम पाइन्छ करिले पाइँदैन,’ उहाँले भन्नुभयो ‘यहाँ बसेर गिट्टी कुट्ने बालुवा उठाए पनि राम्रो मूल्य दिँदैनन्, अहिले त बालुवा समेत झिक्न रोक लगाएका छन् ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *