राजनीतिक दल, बालेन्द्र र अबको बाटो

सम्पादकीय
नेपाली राजनीति पछिल्लो केही दिन यता केही पात्रहरुका कारण तरंगित छ । संघीय अभ्यास आरम्भ भए पछिको दोस्रो कार्यकालका लागि यही वैशाख ३१ मा भएको स्थानीय तह निर्वाचनबाट मुख्य सहरमै स्वतन्त्र उम्मेदवार उदाएका छन् । मुलुकको संघीय राजधानी काठमाडौंमा बालेन्द्र शाह पाँच दलिय गठबन्धन, नेकपा एमाले लगायतका उम्मेदवारलाई पराजित गर्दै पाँच वर्ष काठमाडौं महानगरको बागडोर सम्हाल्ने भएका छन् । काठमाडौंमा मात्र होइन, धरान उपमहानगरपालिकामा १० वर्षदेखि खानेपानी, भ्रष्टाचार लगायतका मुद्धामा संघर्षरत हर्क साम्पाङ राइ बिजयी भए । धनगढी उपमहानगरमा गोपाल हमाल निर्वाचित भए । ६ महिना अघि शाह र निर्वाचनको सम्मुखमा अरु केही व्यक्तिले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दा सामान्य आँकलन गरिएकाहरुले नै चामत्कारिक मत हासिल गर्दै बाजी मारे पछि मुख्य राजनीतिक दल, तिनका नेताहरु झस्किएका छन् । नेपालका राजनीतिक दलहरुबाट आजित जनता भने अब केही हुन्छ कि भन्ने आशा र उत्साहमा देखिएका छन् ।

राजनीतिक दल र तिनका नेताहरुले नागरिकलाई कति आजित बनाएका रहेछन् ? तिनका गतिविधिले कति उकुस मुकुस र सकसमा बाँचिरहेका रहेका छन् ? अहिलेको स्थानीय तह निर्वाचनमा यसका केही गजबका उदाहरण देखिएको छ । देशभरमा राजनीतिक दलका उम्मेदवारहरुलाई पाखा लगाउँदै ३ सय ५७ जना स्वतन्त्र उम्मेदवार जनप्रतिनिधिमा चुनिएका छन् । संघीय राजधानी काठमाण्डौंमा बालेनको जितले त राजनीतिक दलहरु माथि गम्भिर प्रश्न र चूनौती खडा गरिदिएको छ । देशकै मुटुमा जनताले दलको विकल्प खोज्दै स्वतन्त्र उम्मेदवारलाई भारी मत दिनुको पछाडि हाम्रा दल र तिनबाट सत्ताको बागडोर सम्हाल्न पुगेकाहरुका गतिविधि, कार्यशैली जिम्मेवार छन् । अहिले यही विषय सडक, चोक, चिया पसलदेखि संसद वैठकमा समेत चर्चा चलिरहेको छ । बालेन शाह या हर्क साम्पाङ या गोपाल हमाल या अरु बिजयी स्वतन्त्र उम्मेदवारहरु केबल व्यक्ति होइनन्, उनीहरु यो समयको प्रतिनिधि पात्र हुन् । देशमा बिद्यमान बेथिति, बिसंगतिहरुले गिजोलिएको राजनीतिको विकल्पका संकेत हुन् ।

हुन त देशको तीन तहकै शासन व्यवस्था दलिय परिकल्पना छ । र हामीकहाँ दलिय अभ्यास नै तीन तहको सरकारमा छ । दलिय अभ्यास यतिमा मात्र छैन, आजकाल विद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता समितिको नेतृत्वका लागि समेत दलिय प्यानलगत प्रतिस्पर्धा हुने गरेको छ । यसरी साना साना विषयमा राजनीति गर्ने तर समाज र देशको विकास, परिवर्तन नगर्ने प्रवृत्ति जुन परिवर्तित व्यवस्थामा पनि हुर्कियो । यसकै प्रतिफल आज बालेन शाहहरु चामत्कारिक रुपमा उदाएका हुन् । यसले नेपाली राजनीतिक दल, नेता, कार्यकर्ताहरुलाई अनगिन्ती सन्देश र पाठ सिकाएको छ । यदि यो जनाउ घण्टीलाई बेवास्ता गरेर अहिले सम्मकै उही खराब पात्र र प्रवृत्तिलाई निरन्तरता दिएमा अब दल र नेताहरुको भविष्य संकटमा पर्ने निश्चित प्रायः छ । यसबाट समयमै सुध्रिएर असल राजनीतिक संस्कार, सही राजनीतिक प्रणाली, विकास र परिवर्तनमा इमान्दारपूर्वक लाग्ने विकल्प र बाटो राजनीतिक दलहरुले रोज्नुपर्छ । अन्यथा, जनता जागरुक बनिसकेका छन्, अब विगतका ब्राण्ड भनिएका चिन्ह हेरेर भुल्ने छैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *