छात्रालाई करणी गरेको मुद्दामा पाँच वर्षमा ८२ शिक्षक पक्राउ

आदर्श अनलाइन, काठमाडौँ
विद्यार्थीका लागि आफ्नो घर पछि दोस्रो सुरक्षित स्थान हो विद्यालय । तर शिक्षकले नै आफ्नो यौन प्यास मेटाउन विद्यार्थीलाई प्रस्ताव गर्छ भने त्यो विद्यार्थीको मनस्थिति कस्तो होला रु यो साता काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षकले आफ्नो यौन इच्छा पुरा गरिदिए कलेजको शुल्क छुट गराइदिने भन्दै विद्यार्थीलाई दुर्व्यवहार गरेको घटना बाहिरियो । यसले विद्यालय पनि सुरक्षित नभएको भन्दै अभिभावक तर्सिएका छन् ।

आफूलाई दुर्व्यवहार हुने विद्यालयमा विद्यार्थीले कसरी सिकाइ गर्न सक्ला र त्यस्ता शिक्षकबाट के सिक्ला रु आम नागरिकको सवाल बनेको छ । यौन प्रहरीले यौन दुर्व्यवहारको आरोपमा संलग्न भनिएका कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र शिक्षक राजन पौडेललाई गिरफ्तार गरेको छ । सेन्ट लरेन्स कलेजले दुवै जनालाई बर्खास्त गरिसकेको जनाएको छ ।

उता ५ वर्ष अघि विद्यालयको होस्टलमा बस्ने १५ वर्षीय छात्रालाई बलात्कार गरी फरार रहेका सिन्धुलीका ३६ वर्षीय शिक्षक राज खड्का जेठ १२ गते पक्राउ परेका छन् । उनले प्रिन्सिपल रहँदा आफ्नै स्कुलमा अध्ययन गर्ने नाबालिकालाई रेष्टिकेट गरिदिने धम्की दिँदै निरन्तर बलात्कार गरेका थिए ।

मोरङमा सामाजिक र नैतिक शिक्षा पढाउने शिक्षक मनोज पौडेलले १३ वर्षीया छात्रालाई उनैको घरमा पानी खाने निहुँमा गएर २०७८ चैत ४ गते यौन दुर्व्यवहार गरे । ती शिक्षक उपर पहिले पनि यौन दुर्व्यवहार गरेको उजुरी परेको थियो । तर कारबाही भएन । स्कुल र प्रहरीले घटना लुकाउन खोजेपछि भएको झडपमा एक जना प्रहरी जवानको ज्यान समेत गयो ।

त्यसै गरी, गत असोजमा पनि विराटनगरमा गौरव साह नामक शिक्षकले ट्युसन पढाउने क्रममा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै, दुइ वर्ष वर्षअघि बालिकालाई ८ दिनसम्म होटलमा बन्धक बनाई करणी गरेको अभियोगमा पोखराबाट शिक्षक राजेश कनौडिया शिक्षक पक्राउ परे ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । प्रहरी प्रधान कार्यालयको गत पाँच वर्षको तथ्याङ्कअनुसार आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा २०७४ देखि २०७९ सम्म ८२ जना शिक्षक पक्राउ परेका छन् । आर्थिक वर्ष २०७४र७५ मा ५ जना, ०७५र७६ मा ११ जना, ०७६र७७ मा ४५ जना, ०७७र७८ मा १५ जना र ०७८र७९ को जेठ दोस्रो सातासम्म ६ जना शिक्षक पक्राउ परेका छन् ।

शिक्षकले गुरु आचरणसमेत सिक्नु पर्‍यो : शिक्षाविद् शर्मा

अब शिक्षकले विषयवस्तु मात्र नभएर गुरु आचरणसमेत सिक्नुपर्ने समय आएको शिक्षाविद् सुरेश राज शर्मा बताउँछन् । चरित्र निर्माण भन्ने कुरा शिक्षकको प्रमुख दायित्व हो । शिक्षकले यौन दुर्व्यवहार गर्नु जति लज्जाजनक कुरा अरू केही छैन । जो विद्यार्थीको मार्गदर्शक हो उ नै भक्षक बन्नु जति ठुलो अपराध अरू के होला र रु उनले प्रतिप्रश्न गरे ।

शिक्षाविद् शर्माका अनुसार पहिले शैक्षिक संस्थामा यौनजन्य हिंसाको कुरा सुनिँदैनथ्यो । शिक्षक र विद्यार्थीबीचमा सौहार्दपूर्ण व्यवहार हुन्थ्यो । तर पछिल्लो समय यस्ता घटना सुनिन थालेको छ । र, यो अत्यन्त गम्भीर विषय हो ।

विद्यालयमा आन्तरिक मूल्याङ्कन हुन्छ, त्यसमा फेल गर्दिने हो कि भन्ने डरले पनि शिक्षकले गरेको दुर्व्यवहार विरुद्ध विद्यार्थी बोली हाल्न सक्दैनन् । जसको गलत फाइदा आजका केही आपराधिक मानसिकता बोकेका शिक्षकहरूले लिएको उनको टिप्पणी छ । यो भनेको गुरुले अधिकारको दुरुपयोग गरेको हो । यस्ता कुरालाई निरुत्साहित गर्न कडाभन्दा कडा दण्डको व्यवस्था गर्नु नै एक मात्र विकल्प रहेको शर्माको भनाइ छ ।

नैतिक पतन शिक्षकलाई सेवाबाट सदाका लागि हटाउनुपर्छ । त्यस्ता शिक्षकको पक्षमा वकालत गर्ने प्रधानाध्यापकलाई समेत दण्डित गर्ने कानुन आउनुपर्छ । दण्डित गर्ने कडा नियम बनाउन सकिएन भने यस्ता घटना दोहोरिने शिक्षाविद् शर्माको जिकिर छ ।

समाजले गर्नुपर्ने जिम्मेवारी भनेको सुरुकै समयमा नै पीडितले भन्न सक्ने वातावरण सिर्जना गर्नु । अभिभावक रिजल्ट लिन मात्रै जाने चलन छ । तर अभिभावक र शिक्षकबीचमा वैचारिक बहस हुन आवश्यक छ । समयमा रिपोर्ट गर्ने परिपाटी छैन , घटना घटिसकेपछि आक्रोश हुन्छौ । घटना हुनै नदिने तयारीको लागि जुट्नुपर्ने शर्माको भनाइ छ ।

पोर्नोग्राफीले यौन दुर्व्यवहारका घटना बढेको छ : मनोविद् पौडेल

मनोविद् सनम पौडेलका अनुसार पोनोग्राफीको लत बढेसँगै यौन दुर्व्यवहार घटना बढेको छ । संसद् बैठक चलिरहेका बेला सांसद्ले पोर्नोग्राफी हेरिरहेको समाचार आउँछ । उनी भन्छिन्, ‘अहिले धेरै मान्छेका मोबाइल र ल्यापटपमा पोर्नोग्राफी छ । जहाँ बसेर पनि मोबाइलमा त्यो हेरेपछि अगाडि जो पर्छ, त्यो सिकार बन्छ । शिक्षित भनिएका मान्छेहरूमा पनि पोर्नोग्राफीको लत हुन्छ ।’ धेरैले हेरेर रमाइलो मात्र गर्छन् तर मानसिक डिसअर्डर भएकाहरू अस्थिर हुन्छन् र दुर्घटना हुन जान्छ ।

८/९ घण्टा विद्यार्थीहरू स्कुल, कलेजमा हुन्छन् । विद्याको मन्दिर नै यति असुरक्षित हुन्छ भने अब सुरक्षा कहाँ छ त रु मनोविद् पौडेल प्रश्न गर्छिन् । शिक्षकलाई तुरुन्तै शङ्का गर्ने वा आरोप लगाउन सकिँदैन । त्यसको फाइदा केही अपराधी मानसिकता भएका शिक्षकले उठाएको उनको ठहर छ । आपराधिक मानसिकता कस्तो घरपरिवार र समाजमा हुर्कियो वा उसको बाल्यकाल कस्तो रह्यो भन्ने कुराले मार्ग निर्देशन गर्ने पौडेलको भनाइ छ । यो व्यक्तित्वको कुरा हो र हुर्काईले महत्त्वपूर्ण भूमिका खेल्छ । बच्चाले जे गरे पनि वास्ता नगर्ने, लागूपदार्थ दुर्व्यसनमा लागेर बच्चाको उचित हेरचाह नगर्ने हुँदा पनि बिस्तारै आपराधिक मानसिकता बढ्दै जान्छ । अर्को, सानो उमेरमा कोही यौन हिंसामा परेको छ भने पनि पछि ठुलो भएपछि उसैले अरूलाई यौन हिंसा गरेको घटना सार्वजनिक भएको उनले बताइन् । कसैलाई यौनको विषयमा बोल्दा र पीडितलाई असहज भएको हेरेर रमाइलो लाग्ने हुन्छ । यसले पनि अपराध बढाउँछ ।

यौन हिंसा भयो भनेर भन्न सक्ने वातावरण तयार गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो । यौन हिंसा न्यूनीकरणको लागि दीर्घकालीन योजना भनेको पाठ्यक्रममा नै यस बारेमा पढाइनु जरुरी छ । कस्तो हेराइ, बोलाइ र छुवाइ हिंसा अन्तर्गत पर्छ भनेर स्कुलदेखि नै पढाउन अनिवार्य गर्नुपर्ने पौडेलको सुझाव छ ।

पौडेल भन्छिन्, ‘छात्र, छात्रा दुवैलाई यौन हिंसा के हो भनेर समयमै सचेत गराउनु पर्छ । अभिभावकहरूले यस्तो विषयमा छोराछोरीसँग छलफल गर्नुपर्छ । यदि हिंसा भयो भने सबैभन्दा पहिले आमाबाबुलाई भन्न सक्ने वातावरण हामीले घरमै बनाउनुपर्छ ।’ यौन हिंसामा पर्नु तिम्रो गल्ती होइन भनेर सबैभन्दा पहिले परिवारले साथ दिनुपर्ने उनको भनाइ छ ।

कस्तो छ सजायको व्यवस्था ?

– फौजदारी अपराध संहिता २०७४ अनुसार १० वर्षभन्दा कम उमेरका बालिकालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा १६ वर्षदेखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

– १० देखि १४ वर्षसम्मका बालिकालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा १४ देखि १६ वर्षसम्म जेल सजाय हुन्छ ।

– १४ देखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा दोषीलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ ।

– १६ वर्ष माथि १८ वर्षमुनिका बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुन्छ ।

– १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती गरेको प्रमाणित भए ७ देखि १० वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

बलात्कारका घटनामा हाडनातामा बाहेक उजुरीका लागि एक वर्षको हदम्याद कानुनमा छ । तर पछिल्लो समय सो हदम्याद हटाइनुपर्ने आवाज उठेको छ । राताेपाटीबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *