कृषिता अधिकारी (निशा)
वास्तवमा भन्ने हो भने शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । जसमा विभिन्न स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ । यसकासाथै लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्न बाट बञ्चित गर्ने कार्यलाई जनाउँछ ।
अर्कोतिर शारीरिक यातनाको डर, धाक, धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौच गर्ने, अपशब्द बोल्ने, अरुका अगाडि होच्याउने, तिरस्कार गर्ने, झुठा बात लगाउने, घरबाट निकाला गर्ने, इच्छा विपरित काम गर्न लगाउने साथै बैचारिक, धार्मिक, साँस्कृतिक तथा परम्पराका आधारमा गरिने भेदभावलाई समेत जनाउँदछ । खासगरी महिला हिंसा हाम्रो सामाजिक सांस्कृतिक रिति रिवाज तथा पितृशतात्मक समाजबाट उत्पन्न भएको हो । किनकि हाम्रो समाजमा महिला भएपछि सामाजिक मुल्य मान्यतामा बस्नुपर्छ वा भनौ पुरुषको नियन्त्रणमा हुनुपर्छ भन्ने मान्यताले गर्दा महिलाहरु हिंसात्मक गतिविधि सहन बाध्य भएका हुन्छन ।
अर्कोतिर महिलाहरुको कम साक्षरता भएको हुनाले पनि महिलाहरुलाई घरभित्रको काममा प्रयोग गरिने गरिन्छ जसले गर्दा आर्थिक स्रोत साधनका पहुँचबाट बञ्चित हुने गर्दछन् । नेपालका अधिकांश विकट जिल्लाको अवस्थालाई हेर्ने हो भने अधिकांश महिलाहरु शिक्षित हुदैनन् । जसले गर्दा उनिहरु पुरुष मै निर्भर हुन पुग्छन अर्को कुरा अझै हामी हाम्रो समाजमा छोरि भन्दा छोराको महत्त्व बढि रहेको छ, त्यसै कारणले पनि महिलाहरु छोरा जन्माउने चक्करमा आफ्नो स्वास्थ्य विगारेका छन् त कतिपयले ज्यान गुमाएका छन् भने छोरा जन्माउन नसकेकै कारणले पनि घरेलु हिंसाको शिकार भएका हुन्छन् ।
त्यसैगरी महिला हिंसाको प्रमुख कारण दाइजो प्रथालाई पनि लिन सकिन्छ किनकि तराई क्षेत्रकै कुरा गर्ने हो भने अधिकांश छोरी चेलिहरु दाइजोको नाममा मारिने, जलाइने, कुटपिट घरेलु हिंसा जस्ता गतिविधि सहन बाध्य भएका छन् । कारण नेपालमा महिला माथि अन्याय परापूर्वकाल देखि नै हुँदै आएको पाइन्छ । हाम्रो धर्म संस्कृति रितीरिवाज सामाजिक विधि व्यवहारमा पनि महिलाहरुलाई पछाडी नै पारेको देखिन्छ ।
पितृसत्तात्मक सोचका कारण घर परिवार अधिकारबाट नै महिला भन्ना साथ नकारात्मक दृष्टिकोणले हेर्ने चलन छँदै छ । आर्थिक पहुँचमा, शिक्षा रोजगार र चेतनामा पछि परेका कारण महिलाहरु हेपिँदै आएका छन् । साच्चै नै आज हाम्रो देशमा आएको परिवर्तन संचार जगतको बढ्दो विकास, विश्वव्यापीकरण कानूनी संरक्षणका प्रयासहरु भएको देखिएता पनि महिलाहरु प्रति गरिने व्यवहार र सोचमा परिवर्तन आएको देखिँदैन । अर्कोतिर नेपालको संविधानमा प्रत्येक महिलाहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धी हक अधिकार हुनेछ भनी उल्लेख गरिएता पनि महिला माथि हुने हिंसा बढीनै रहेका छन् । महिला हिंसा सम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार बनाइएको सदस्य राष्ट्रको हैसितमा बनाइएको कनून भएतापनि कानून कार्यान्वयन प्रक्रिया ज्यादै फितलो छ ।
पछिल्लो समयमा भन्ने हो भने हाम्रो देशमा हिंसात्मक गतिविधिको रुपमा घरेलु हिंसा रहेको छ । त्यसपछि महिलाहरु यौनजन्य हिंसामा परेको पाइन्छ । हिंसाको सन्दर्भमा गरिएका सर्वेक्षणको आधारमा महिलाहरु अफ्नै श्रीमानबाट ८० प्रतिशत र अन्य परिवारका सदस्य एवम् व्यक्तिहरुबाट करीव २० प्रतिशत महिलाहरु पीडित भएको समाचारमा सुन्नमा आइरहेको छ त्यस्तै समग्रमा नेपालमा प्रजनन उमेरका ४ जना मध्ये १ जना महिला कुनै न कुनै हिंसामा परेको तथ्याङ्कहरुमा उल्लेख गरिएको छ । अझ कतिपय घटनाहरु त बाहिर नआएका र मानसिक हिंसाबाट पीडित भएको घटनाहरु त कति छ कति त्यो एकिन नै गर्न सकिन्न ।
हामी सबैलाई थाहै छ कतिपय हाम्रा पुराना परम्परा र धर्म–संस्कृति पनि महिलालाई हिंसा हुने खालका छन् । तीजमा महिलाले श्रीमानको लामो आयुका लागि व्रत बस्नुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता छ, यो पनि एक प्रकारको हिंसा नै हो किनकि पुरुषले महिलाका लागि व्रत बस्नुपर्दैन ? यसरी पनि सोच्न सकिन्छ, तर यसको अभ्यास हाम्रो समाजमा भएको छैन अर्कोतर्फ महिला कसैको सहारामा बस्नुपर्छ भन्ने मूल्य–मान्यता पनि महिलामाथि हुने हिंसा हो । एकल महिला छन् भने अधिकांशलाई बोक्सीको आरोप लगाइन्छ, कुटपिट गरिन्छ, अभक्ष्य खुवाउनेदेखि हरेक कुराबाट हिंसा भइरहेको हुन्छ ।
सूक्ष्म तरिकाले नियाल्दा राज्यले पनि हामी महिलालाई विभेदपूर्ण कानुन बनाएर हिंसा गरिरहेको छ । वास्तवमा भन्ने हो भने आफूले जन्माएको बच्चालाई आफैँले पहिचान दिन नसक्ने कानुनी व्यवस्था छ । महिला भएकै कारण राज्यले बनाएको कानुन, सामाजिक परम्परा, पितृसत्तात्मक मूल्य–मान्यता, महिलामाथि हुने यौनजन्य हिंसा यी सबै महिला हिंसा अन्तर्गत पर्छन् ।
जसमा शारीरिक, यौन, मानसिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक आदि । त्यसैगरी देशका विभिन्न स्थानमा हुने यौनजन्य हिंसासँगै घरमा, कार्यस्थलमा हुने हिंसासम्बन्धी कानुन राज्यले निर्माण गरेको छ । कानुन ल्याए पनि कारबाही नभएको अवस्था छ । अर्कोतिर न्यायको लागि सडक तात्नुपर्नेल अवस्थामा छ भने राजनीतिमा समेत महिला सहभागिता बढेको कुरा आइरहेको छ त्यो स्वभाविक हो त्यस क्षेत्रमा पनि महिला हिंसा त बढेकै छ । नेपालको संविधानमा महिलाहरुलाई ३३ र ४० प्रतिशतको व्यवस्था गरिएता पनि अझै व्यवस्थापिका, कार्यपालिकामा महिलाहरु आउन सकेका छैनन् भने अपांगता महिलाहरुको त कुरै छोड्उ ।
समग्रमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिएको छ । महिलाको मानव अधिकार सुरक्षित छैन। यसकारण नेताहरूले पनि महिलामाथि हिंसा नै गरिरहेका छन् । महिलालाई कानुनको बारेमा पर्याप्त जानकारी नभएका कारण अझै पनि कति घटना घरभित्रै सीमित छन् । तसर्थ, समाजमा जस्तो सुकै परिवर्तन भए पनि महिलाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् र महिलामाथि हुनेहिंसाका घटनामा कमी आउन सकेको छैन ।
महिलाको लागि शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापित गरी कुरीति र कुसंस्कारको रूपमा रहेको विधुवा प्रथा, घुम्टोप्रथा, बाल तथा अनमोल बिबाह प्रथाको अन्त्य गरिनुपर्छ । यसका अतिरिक्त नागरिक चेतनाको स्तरमा देखिएको कमि, गोप्यतामा रमाउने हाम्रो संस्कृति, औपचारिक शिक्षा प्राप्त भएको तर दीक्षा प्राप्त गर्न नसकेको हाम्रो वर्तमान हुन नसकेको कानूनी व्यवस्थाको कार्यान्वयन र अपराधीलाई कडा दण्ड सजाय लैङ्गकि हिंसालाई मलजल गर्ने अन्य कारण हुन सक्दछ ।
यी र यस्ता हिंसाका कारणले हाम्रो समाजको गन्तव्य सदैव हिंसा अन्त्यको दिशा तर्फ हुनु आवश्यक छ । यसका लागि हामी महिलाहरुले हिंसा नियन्त्रण गर्ने कार्यमा लाग्नुपर्छ । हामी आम पुरुष वर्गले पुरुष भएर होइन बावु, दाजु वा जीवनसाथी भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको बेला आइसकेको छ ।