बागलुङका धार्मिक स्थलमा विदेशी पर्यटकको चहपहल

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा धार्मिक पर्यटकहरुको आगमन बढ्दै गएको छ । केही समय अगाडिसम्म बागलुङमा बाह्य पर्यटकको आगमन खास्सै थिएन । तर पछिल्लो समय यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा देखिन थालेका छन् । खासगरी अहिले सिर्वसिद्धिधाम पञ्चकोट, सालिकग्राम संग्राहलय, बागलुङ कालिका र विश्वको लामो दाबी गरिएको पुलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको छ ।

मुक्तिनाथ जाने भारतीय तथा तेस्रो मुलुकका धार्मिक पर्यटक पनि बागलुङमा आउन थालेका छन् । गत वर्षहरुमा मुक्तिनाथ जाने पर्यटकहरु बागलुङमा पस्ने गर्दैनथे । बागलुङ र पर्वत जोड्ने गरि निर्माण गरिएको ५६७ मिटर लामो पुलका कारण पनि मुक्तिनाथ जाने पर्यटक बागलुङ पस्न थालेको पाइन्छ ।

विगतका वर्षको तुलनामाभन्दा चालु आर्थिक वर्षमा बाहिरी पर्यटक बागलुङ आउन थालेको सालिग्राम संग्राहलयका संरक्षक ऋषि प्रपन्नचार्यले बताउनुभयो । उहाँले गत वर्षहरुमा सालिग्राम संग्राहलयमा आन्तरिक पर्यटक मात्रै आउने गरेको भन्दै यसपाली भारतीय पर्यटक पनि यहाँ आउने गरेको बताउनुभयो ।

‘गत वर्षहरुमा यही वरपर र केही जिल्ला बाहिरका पर्यटकहरु आउने गर्थे, तर अहिलेको जस्तो चहलपहल थिएन, अहिले त आन्तरिक पर्यटकको पनि आकर्षिण निकै बढेको पाइयो,’ ऋषि प्रपन्नचार्यले भन्नुभयो ‘अहिले त मुक्तिनाथ जाने भारतीय पर्यटक पनि आउन थाल्नु भएको छ, आन्तरिक पर्यटक पनि पहिलेको तुलनामा निकै बढेको पाएका छौँ ।’

सालिग्रामको संरक्षण गर्ने र बागलुङलाई धार्मिक पर्यटकको हब बनाउने उद्देश्यले एक सय मिटर सुरुङ निर्माण गरि सवा लाख सालिग्राम संरक्षित गरिएको छ । जुन अहिले निकै चर्चामा छ । सुरुङमा शालिग्रामसँगै धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका वृत्तचित्र राखिएका छन् । यहाँ दामोदर कुण्डदेखि देवघाटसम्मको नक्सा कलात्मक शैलीले निर्माण गरिएको छ । सालिग्राम संग्राहलयसँगै सोही स्थानमा ठूलो मन्दिर समेत निर्माण गरिएको छ ।

बागलुङसम्म आउने सडकको सहज पहुँच र यहाँ बनेको पर्यटकीय पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्दा यहाँ भित्रिने पर्यटक बढेको ऋषि प्रपन्नचार्य बताउनुहुन्छ । ‘पहिले बागलुङमा पूर्वाधारहरु अहिलेको जस्तो थिएन, अहिले धेरै परिवर्तन भएको छ, यहाँ आइपुग्नका लागि सडकको अवस्था पनि निकै सुधार भएको छ,’ उहाँले भन्नुभयो ‘प्रचारप्रसार पनि राम्रो भएको हुँदा बाह्य पर्यटकलाई भित्राउन सकेका छौँ ।’

सालिग्राम संग्राहलयको बारेमा धेरै पटक सुनेको र मुक्तिनाथ जाने क्रममा यसको दर्शन गर्न बागलुङ आएको भारतीय पर्यटक राम दासले बताउनुभयो । उहाँले सालिग्राम भगवानको रुप भएको भन्दै यसको दर्शनले आफूहरु प्रफुल्लित भएको बताउनुभयो ।

‘सालिग्राम संग्राहलयको बारेमा मैले धेरै पटक सुनेको थिए, यहाँ आएर सालिग्रामको दर्शन गर्ने ठूलो रहर थियो, आज मेरो त्यो रहर पूरा भएको छ,’ दासले भने ‘मुक्तिनाथबाट जाने बेलानै दर्शन गरेर जाऔँ, भनेका थियौँ, फर्किने समयमा पसौँला भनेका थियौँ, सुरुङ भित्रै पसेर प्रभुको दर्शन ग¥यौँ ।’

बागलुङ बजार आसपाससँगै भैरवस्थान, ढोरपाटन लगायतका धार्मिक स्थलमा पनि पर्यटकको चाप बढेको छ । भैरवस्थानमा पनि जेठ लागेपछि शनिबार र मंगलबार धार्मिक पर्यटक निकै आउन थालेका छन् । त्यस स्थानमा पुग्ने सडकको पहुँच सहज भएपछि धार्मिक पर्यटक बढी आउन थालेको स्थानीय बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *