जिजस बागलुङको निर्वाचन : होला त सम्झौता कार्यान्वयन ?


आदर्श अनलाइन, बागलुङ

जिल्ला समन्वय समिति बागलुङको निर्वाचन जेठ ३१ गते हुँने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार जिससको नयाँ नेतृत्व चयनका लागि जेठ ३१ गते निर्वाचन तोकिएसंगै गठबन्धको सम्झौताको कार्यान्वयनका विषयमा विभिन्न अठ्कलबाजी भइरहेका छन् ।

बागलुङमा ११ प्रमुख/तथा उपप्रमुख जितेको नेपाली कांग्रेससंग जिससका लागि एकल बहुमत छ । तर पाँच दलीय गठबन्धनको निर्णय अनुसार बहुमत रहेको पार्टी कांग्रेस भए पनि यहाँ जिससको नेतृत्व भने राष्ट्रिय जनमोर्चाले पाउने छ ।

पालिका प्रमुख/उपप्रमुख एक सिटसमेत नजितेको नेकपा (एकीकृत समाजवादी)ले जिसको उपप्रमुख पाउने पक्का छ । तर एकल बहुमत पाएपछि कांग्रेसले सहमती कार्यान्वयन नगर्दा के हुन्छ भनेर आन्तरीक रुपमा छलफल चलाएको चर्चा छ । पालिका प्रमुख भन्दा ठूलो पदमा आफ्नो एकल बुहमत हुँदा किन पुरानो सहमती कार्यान्वयन गर्ने भन्नेमा एकथरी कांग्रेस नेता छन् भने अर्काथरीले निर्णय कार्यान्वयन गरेर राजमोलाई प्रमुख र समाजवादीलाई उपप्रमखु दिनुपर्ने बताएका छन् ।

गठबन्धको सहमती अनुसार दोस्रोमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले समान चार/चार सिट जितेका छन् । नेकपा (एमाले)ले भने एक सिट मात्रै जितेकाले उसको मतभार एकमात्रै हो । जिससका लागि दश स्थानीय तह रहेको बागलुङमा २० मत छ । सहमती कार्यान्वयन नै गरेर लैजाने तयारी रहेको राष्ट्रिय जनमोर्चाका नेता राजेन्द्र ढुङ्गानाको भनाई छ । उहाँले सदस्यका लागि अहिले छलफल भइरहेको बताउनुभयो ।

जिससको पदाधिकारी वा सदस्य हुन पालिका वा वडा तहमा निर्वाचन जितेको हुनुपर्ने व्यवस्था छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा काठेखोला गाउँपालिकाको वडासदस्यमा निर्वाचित भएकाले उहाँनै सम्भवत जिल्ला समन्वय समितिको संयोजक बन्ने चर्चा छ ।
स्थानीय तह निर्वाचन–२०७९ को कार्यविधिअनुसार पालिकामा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको बढीमा १५ दिनभित्र कार्यपालिका सदस्यको लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने जिससमा एक महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

बागलुङमा पहिलो पदभार ग्रहण जेठ ५ गते भएकाले आउँदो असार ५ गतेभित्रै जिल्ला समन्वय समितिको नेतृत्व चयन हुनुपर्ने थियो । यसअघि २०७४ साल साउन १९ गते जिल्ला समन्वय समितिको निर्वाचन भएको थियो । एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनले त्यतिबेला जिससको नेतृत्व गरेको थियो भने यसपटक एमालेले बागलुङमा आफ्नो पुरानो विरासत गुमाएसंगै जिससमा प्रतिनिधित्व गर्न पाउने छैन ।

जेठ २४ गते एकै दिन मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधन मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२५ गते मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने रहेको छ । जेठ २६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएका उमेदवारको सूची प्रकाशन गर्ने रहेको छ । २७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २८ गते मनोनयन पत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । २९ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *