निसीखोलाको प्राथमिकता : एम्बुलेन्स सञ्‍चालन र सीमा विवाद समाधान

डम्मर बुढा मगर, बागलुङ
दुर्गमको परिचय बोकेको निसीखोला अहिले त्यो निसीखोला रहेन। मध्यपहाडी लोकमार्गले जोडएपछि दुर्गमको परिचय बदलिएको छ। सडक सञ्जालको हिसाबले अगाडि रहेको निसीखोला स्वास्थ्य, शिक्षा र अन्य विकासका पूर्वाधार निर्माण गर्ने क्रममै छ।

स्थानीय तहको निर्वाचन २०७४ मा जनप्रतिनिधि आएपछि विकासले गति लिन थालेको थियो। विकासका धेरै कामको सुरुवात भए पनि स्वास्थ्यसँग जोडिएका कमहरु भने अपेक्षा अनुसार हुन सकेन।

प्रत्येक वडामा स्वास्थ्यचौकीहरु निर्माण भए। सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आए, तर एम्बुलेन्स भने अहिलेसम्म पालिकामा संचालनमा छैन। कुनै नागरिक आकस्मिक बिरामी परे अस्पतालसम्म लैजान अन्य गाडी नै प्रयोग हुँदै आएको छ।

अहिले निसीखोलाले नयाँ जनप्रतिनिधि एम्बुलेन्स संचालनसँगै नागरिकको स्वास्थ्यसँग जोडिएका विकासलाई प्राथमिकतामा जोड दिएका छन्।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर घर्ती मगरले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका कामहरुबाट विकास निर्माणका योजनाहरुको सुरुवात गर्ने बताउनुभयाे। उहाँले पालिकाको सबै वडाहरुमा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य इकाइहरु संचालनमा आएको र त्यस स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति व्यवस्थापन, आवश्यक स्वास्थ्य औजार र औषधिको सहज उपलब्ध हुने वातावरण तयार गरिने बताउनुभयाे।

उहाँले अब कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपर्ने भन्दै आवश्यक स्थानमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर नजिकको स्वास्थ्य संस्थाबाट नागरिकले स्वास्थ्य सेवा लिने वातावरण तयार गरिने बताउनुभयाे।

‘अहिले हाम्रो पालिकाको धेरैजसो वडामा स्वास्थ्यचौकी स्थापना भएर संचालनमा छन्, केही वडामा निर्माण हुने प्रक्रियामा छन्, स्वास्थ्य चौकी संचालन नभएको वडामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर नागरिका उपचारका लागि सहज वातावरण सृजना गरेका छौँ’ अध्यक्ष घर्ती मगरले भन्नुभयाे ‘अब कोही पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुनु पर्ने अवस्था आउने छैन।’

अध्यक्ष घर्ती मगरले अब पालिकाले एम्बुलेन्स संचालनलाई विषेश प्राथमिकता दिएको बताउनुभयाे। उहाँले अहिले निसीखोलामा एम्बुलेन्स नहुँदा धेरै नागरिकले सस्ती खेप्नु परेको भन्दै अब यो समस्याको समाधानका लागि गाउँपालिका लागि रहेको बताउनुहुन्छ।

‘निसीखोलामा अहिले एम्बुलेन्स संचालनमा छैन, एम्बुलेन्स संचालनमा नहुँदा धेरै नागरिकले दुःख पाउनु भएको छ, मैले उहाँहरुको दुःख र समस्या बुझेको छु, अब पालिकाले नै एम्बुलेन्स संचालनका लागि योजना भएका छौँ,’ उहाँले भन्नुभयाे ‘नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौँ, स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको हुँदा स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिन जरुरी छ।’

हाल निसीखोला गाउँपालिकाको वडा नम्बर २ मा बाहेक सबै वडामा स्वास्थ्य चौकीहरु संचालनमा छन्। वडा नम्बर २ मा पनि स्वास्थ्यचौकी निर्माणको लाग जग्गा व्यवस्थापन भइरहेको छ। यस वडाको वडा नम्बर २ को अर्नाकोट र वडा नम्बर ५ को निसीमा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा छन्।

सीमा विवाद सुल्झाउने विषय पनि प्राथमिकतामा

निसीखोला गाउँपालिकाले लामो समयदेखि चर्किदै आएको सिमा विवाद सुल्झाउने विषलाई पनि प्राथमिकता दिएको अध्यक्ष घर्ती मगरको भनाई छ। वि.सं. २०७४ सालमा पूर्वी रुकुमको भूमे गाउँपालिकाले सिमानामा प्रवेशद्वार निर्माण गर्दा निसीखोलाको भूमि मिच्दा विवाद उत्पन्न भएको हो। उक्त विवाद अहिलेसम्म सुल्झिएको छैन।

पूर्वी रुकुमले सिमान क्षेत्रमा रहेको पातीहाल्ने र रिगताललाई आफ्नो बनाउने प्रयास गरि रहेको स्थानीयको भनाई छ। अध्यक्ष घर्ती मगरले सिमाना विवाद मिलाउनका लागि यस अगाडी धेरै प्रयासहरु भए पन अहिलेसम्म मिल्न नसकेको बताउनुभयाे । उनले रुकुमले बागलुङको भू–भागमा आएर संरचना निर्माण गर्ने कार्य गलत भएको भन्दै यसको समाधानका लागि आफूले प्राथमिकता दिएको बताउनुभयाे।

घर्तीले जिल्ला, प्रदेश र केन्द्रीय निकायसँग सहकार्य गरेर तत्कालै सिमा विवाद सुल्झाउने बताए। ‘सिमाका विषयमा विवाद भएको धेरै वर्ष भयो, हामीले यस अगाडि धेरै पटक मिलाउने कोसिस गरियो भएन,’ अध्यक्ष घर्तीले भन्नुभयाे ‘अब छिट्टै नै तीनै तहका सरकारसँग समन्वय गरेर यसको समाधान गछौँ, यो विवाद लामो समय रहिराख्यो भने यसको परिणाम नराम्रो आउन सक्छ।’  

अध्यक्ष घर्तीसँग आदर्शर्मी डम्मर बुढा मगरले गरेको कुराकानीमा आधारित

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *