गलकाेटको नरेठाँटी बजारमा बाढी : ३५ घर उच्च जोखिममा, लोकमार्ग अवरुद्ध

डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका वडा नम्बर २ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडा अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए ।

बिहीबार साँझदेखि रातभर परेको भिषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाई छ । बाढीको त्रासले स्थानीय रातभर जागराम बसेका छन् । नकटेखोलाको कटानले तटिय क्षेत्रका घरहरु समेत जोखिममा परेको उनले बताए ।

‘नरेठाँटी बजारनै बाढीको जोखिममा छ, हिजो साँझदेखि परेको भारी वर्षाले नकटेखोलामा बाढी आयो, यसले यहाँका थुप्रै घरहरु जोखिममा परेका छन्, एक घर परिवारलाई सुरक्षित स्थानमा सारेका छौँ’ अध्यक्ष भण्डारीले भने ‘अरु परिवारलाई पनि सार्नु पर्ने देखिन्छ ।’ बाढीका कारण घर डुवानमा परेपछि दुई घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढीले महेन्द्र माविको खेल मैदान पुरिएको र विद्यालय समेत जोखिममा परेको उनले बताए । रातभर स्थानीय र मेसिनको प्रयोग गरि बाढी तर्काउने कोसिस गरेको उनको भनाई छ । अध्यक्ष भण्डारीले रातभर मेसिन लगाएर बाढी नतर्काएको भए बजारनै डुवानमा पर्ने खतरा रहेको बताए ।

‘माथि जसपुरमा पहिरो गएछ, त्यसबाट नकटेखोलामा ठूलो बाढ आयो, बाढीले खोला छेउँका घरहरुमा क्षति पु¥याएको छ, हामी रातभरी मेसन लगाएर बाढी तर्काउने प्रयास ग¥यौँ,’ उनले भने ‘मेसिन लगाएर बाढी नर्तकाएको भए बजारनै डुब्ने थियो, केही हदसम्म भए पनि बजारमा बाढी पस्न पाएन ।’

मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध
भिषण वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ । घोडाबाँधेदेखि गलकोटसम्मको खण्डकमा आधा दर्जनभन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरु बाटोमै अलपत्र परेका छन् । पोखरा, काठमाडौँ लगायतका स्थानबाट, बुर्तिबाङ, रोल्पा, रुकुम हिँडेका यात्रुहरु गलकोट नगरपालिका वडा नम्बर २ भुङ्खानीमै अलपत्र परेका छन् ।

बाढी पहिरोले सडक क्षतविक्षत बनाएको हुँदा खुलाउन केही समय लाग्ने गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *