निसीखोलाले टोलटोलमै पुगेर जेष्ठ नागरिक, अशक्त र गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

डम्मर बुढा मगर, बागलुङ
बागलुङको निसीखोला गाउँपालिकाले पालिका अन्तरगतका जेष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परिक्षण गर्ने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ आर्थिक वर्षदेखि स्वस्थ्य परिक्षणलाई गरिने गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

जेष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्ती मगरको भनाई छ । उहाँले नागरिकको स्वास्थ्य प्रति पालिका गम्भीर भएर लाग्ने भन्दै कुनै पनि नागरिकले स्वास्थ्य उपचार नपाएर मृत्युको मुखमा पर्नु पर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।

‘कुनै पनि नागरिक स्वास्थ्य उपचारको पहुँचबाट टाढा नहोस् भन्ने उद्देश्यले हामीले जेष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलालाई टोल–टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेका छौँ,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो ‘उहाँहरुलाई स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउन समस्या हुने हुँदा गाउँपालिकालेनै उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ, हरेक महिना टोल–टोलमा पुगेर त्यस्ता नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने छ भने आवश्यक औषधीको समेत व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।’

गाउँपालिकाले स्वास्थ्य परीक्षणका लागि टोल–टोलमै स्वास्थ्यकर्मी खटाउने अध्यक्ष घर्ती मगरको भनाई छ । उहाँले गाउँपालिकामा रहेका अपाङ्गता र जेष्ठ नागरिकको तथ्याङ्क समेत संकलन गरि स्वास्थ्य परीक्षणलाई प्रभावकारी गराउने बताउनुभयो ।

‘स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउनका लागि टोल–टोलमा स्वास्थ्यकर्मी खटाइने छ, स्वास्थ्यकर्मीहरु उहाँहरुको पाइक पर्ने टोलमा पुगेर हरेक महिना स्वास्थ्य परीक्षण गर्नुहुने छ,’ उहाँले भन्नुभयो ‘गाउँपालिकाले पालिका अन्तरगत रहेका अपाङ्गता र जेष्ठ नागरिकको तथ्याङ्क संकलन गरिने छ, यसले स्वास्थ्य परीक्षणमा सहज हुने अपेक्षा लिएका छौँ ।’

अध्यक्ष घर्ती मगरले गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने समेत निर्णय गरेको बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्यको सुरक्षाका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अगाडी बढाइने बताउनुभयो । निःशुल्क स्वास्थ्य बीमाले नागरिकको स्वास्थ्य उपचारमा खर्च कम गर्ने हुँदा यो कार्यक्रम अगाडी बढाउने निर्णय गरेको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।

‘स्वास्थ्य बीमाले नागरिकको स्वास्थ्य उपचारमा ठूलो राहत दिने हुँदा हामीले पहिलो कार्यपालिका बैठकबाटै यो निर्णय गरेका हौँ, स्वास्थ्य बीमाले निश्चित रकमसम्म निःशुल्क स्वास्थ्य परीक्षण र औषधी पाइने हुँदा यसबाट नागरिक लाभाम्वित हुने छन्,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो ‘अहिलेसम्म स्वास्थ्य बीमा नगरेका सबै नागरिकको निःशुल्क बीमा हुने छ ।’

गाउँ कार्यपालिका बैठकले पालिकाको आफ्नै एम्बुलेन्स संचालन गर्ने निर्णय समेत गरेको छ । गाउँपालिकामा कुनै पनि बिरामी परे उनीहरुलाई तुरुन्तै अस्पतालसम्म पु¥याउनका लागि अहिले निसीखोलामा एउटा पनि एम्बुलेन्स छैन । अब गाउँपालिकाले नयाँ आर्थिक वर्षमा एम्बुलेन्स खरिद गर्ने अध्यक्ष घर्ती मगरको भनाई छ ।

‘गाउँपालिकामा अहिलेसम्म एउटा पनि एम्बुलेन्स संचालनमा छैन, एम्बुलेन्स नहुँदा नागरिकहरु महंगो भाडा तिरेर गाडी रिर्जब गरि अस्पतालसम्म पुग्नु पर्ने बाध्यता छ,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो ‘अब यो समस्याको समाधान हुने छ, अबको आर्थिक वर्ष भित्रै गाउँपालिकाले एम्बुलेन्छ संचालनमा ल्याउने छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *