मन्त्रिपरिषद् पुनर्गठन- अर्थमा ज्ञानेन्द्र, गृहमा नारायणकाजीको चर्चा

आदर्श अनलाइन, काठमाडौं
नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहे पनि प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पारित भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छन् ।

गठबन्धनका शीर्ष तहमा यही सहमति भए पनि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले चाँडो शपथ नगराए गठबन्धन तोडिनेसम्मका धम्की दिइरहेका छन् । प्रधानमन्त्री निकट स्रोतले भने अब नेकपा एसका मात्र नभएर अन्य दलका पनि मन्त्रीहरू फेर्ने गरी छलफल भइरहेको जनाएको छ ।

स्रोतका अनुसार बजेट पारित भएपछि अर्थमन्त्री फेर्ने सहमति शीर्ष तहमा भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिने तयारी भइरहेको र यसको जानकारी शीर्ष नेतालाई देउवाले गराएको बताइएको छ ।

अर्थमन्त्रालय कांग्रेसले नै राख्न दातृ निकायले समेत सुझाव दिएपछि कार्कीलाई जिम्मा दिन लागिएको स्रोतले जनाएको छ । त्यस्तै अर्थमन्त्रालय कांग्रेसले लिएपछि पुनर्गठनमा गृह माओवादीको भागमा पर्नेछ ।

माओवादीबाट पनि उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउन लागिएको चर्चा छ । यद्यपि यसको पुष्टि भएको छैन । तर नारायणकाजी श्रेष्ठ समूह माओवादीमा अहिले असन्तुष्ट छ र महाधिवेशनदेखि स्थानीय तहको टिकट वितरणसम्ममा आफ्नो समूहमाथि पेलान भएको उनीहरूको बुझाइ छ ।

एमसीसीका सन्दर्भमा नारायणकाजी पक्षले पार्टीमा फरक मत राखेको छ र बैठकमा छलफलको माग गरेको छ । प्रचण्डले पार्टी बैठकबाट महासचिव लगायत पदाधिकारी चयन गर्नुअघि नारायणकाजीलाई गृहमन्त्री बनाएर विवाद टुंगो लगाउन खोजेका छन् ।

कतिपयले नारायणकाजी समूहले पार्टी फुटाउने तयारी गरेकाले पनि उनलाई सरकारको नेतृत्व गरेर पठाउन लागिएको बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *