प्रदेशमा भ्रष्टाचारमा बागलुङ पाँचौं स्थानमा

आदर्श सञ्चार अनलाइन
बागलुङ

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौं स्थानमा देखिएको छ ।
आर्थिक वर्ष २०७५|७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ भ्रष्टाचार हुने पाँचौ जिल्लाका रुपमा सूचीकृत भएको हो ।
बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की पहिलो, छिमेकी जिल्ला पर्वत दोस्रो, तनहुँ तेस्रो र स्याङ्जा चौथो स्थानमा छन् । बागलुङमा मात्रै ४९ वटा उजुरी दर्ता भएको थियो । जसमा २६ वटा फछ्र्यौट भएको अख्तियार दुुरुपयोग अनुसन्धान आयोग क्षत्रीय कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताउँनुभयो ।
बागलुङ पछि क्रमशः लमजुङ, म्याग्दी, गोरखा, मुस्ताङ, नवलपुर र मनाङ छन् । पहिलो स्थानमा रहेको कास्कीमा मात्रै गत वर्ष ४ सय २७ भ्रष्टाचारका उजुरी परेका थिए । प्रदेशभर कूल ८३२ उजुरी दर्ता भएकोमा ५ सय ४५ उजुरी फछ्र्यौट भइसकेका आयोगले जनाएको छ ।
जिल्लामा भ्रष्टाचारजन्य गतिविधि भएको भन्दै परेको उजुरीमा स्थानीय सरकार, भौतिक पूर्वाधार, बिद्यालय, नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, बिना काम भुत्तानी, दोहोरो–तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, अन्य सिफारिशमा अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभावी भत्ता सुविधा लिने गरेको उजुरी कार्यालयमा परेका छन् ।
सूचना अधिकारी रिजालका अनुसार उपभोक्ता समिति गठन प्रक्रियामा आफू अनुकूल व्यक्ति छनोट गरेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, राजश्व छली तथा नियमित बैंक दाखिला नगर्ने तथा योजना स्वार्थ प्रेरित तरिकाले फेर्ने गरेको उजुरी आयोगमा परेको छ ।
भौतिक पूर्वाधारतर्फ आर्थिक वर्षको अन्त्यमा काम गर्ने, बढी सामान खरीद गर्ने, लागत स्टिमेट तयारीमा बदनियतपूर्ण तरिकाले गर्ने, नक्कली बिल भर्पाइ बनाई भुक्तानी दिने तथा ठेकेदार र प्राविधिकसँग अवाञ्छित गतिविधि गर्ने र हिस्सेदारी खोज्नेजस्ता विषयमा आयोगमा उजुरी परेको जनाइएको छ । शिक्षा, स्वास्थ्यतर्फ भवन निर्माण, शौचालय निर्माण, नक्कली प्रमाणपत्र, विद्यालयको जग्गा बेचबिखन लगायतका उजुरी आयोगमा परेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *