बानपा ८ सिगाना लामिचौर स्मार्ट भिलेज सम्भावना र चुनौती

सज्जन कुमार सिँह
भनिन्छ आशा सम्भावनाको एक जोस हो । सम्भावनाहरुकोे खोजी र त्यसलाई यथार्थमा परिणत गर्नु नै सफलता हो । नेपाल सम्भावनाले भरिएको तलाउ हो । सम्भावनाको खोजी र त्यस्ता सम्भावनाहरुलाई मूर्त रुपमा पुरा गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ ।

बागलुङ नगरपालिका नव निर्वाचित जनप्रतिनिधीले बानपा ८ सिगाना लामिचौरलाई प्रदेश कै एक नमुना गाउँको रुपमा विकास गर्ने घोषणा गरेको छ । उत्पीडित समुदायको घना बसोबास रहेको उक्त ठाउँलाई पर्यटकिय गाउँ बनाउने लक्ष्य समेत नगरपालिका र स्थानीय निकायको छ ।

पर्यटकिय गाउँ घान्द्रुक, घले, बन्दिपुर जस्तै लामीचौरलाई पर्यटकिय गाउँका रुपमा बिकास गर्न वृहत छलफल र विभिन्न ठाउँको अध्ययन सँगै यसबारेमा वृहत गुरु योजना तयार हुदै छ । केके सम्भवना छ ? केके समस्या छन् भन्ने बारेमा यो लेखमा केहि विषय वस्तु उठाउने प्रयास गरिएको छ ।

पृष्ठभूमि
बागलुङ जिल्लाको सदरमुकाम बाट १२ किलोमिटर दुरीमा रहेको सिगाना लामीचौर भुगोलका हिसाबले समथर र बस्तीका हिसाबले घना छ । सदरमुकाम बाट एक घण्टा र बाटो पीच भएमा मात्र २५ मिनेटमा दुरी छोटिन्छ । लामीचौर दलित बस्तीलाई गण्डकी प्रदेश कै उत्कृष्ट गाउँ बनाउने लक्ष्य यथार्थमा परिणत गर्न सके धेरै उपलब्धि हासिल गर्न सकिन्छ ।

१.स्मार्ट भिलेजः लामिचौरलाई स्मार्ट भिलेजका रुपमा विकास गर्न सकिन्छ । सबै बाटोहरुलाई व्यवस्थित गर्ने, परम्परागत ढुँगा र स्थानीय काठहरुको प्रयोग गरि भित्री बाटोहरुमा काठे पुलबाटो अन्य आकर्षक बाटाहरु बनाउने । त्यी बाटोमा फूल तथा तारबार गरि फोटो जेनिक ठाउँहरु बनाउने ।

मोटरबाटोदेखि माथिसम्मको मुख्य पैदल बाटोको दुबै तर्फ रेलिङ वा काठको बार लगाई सबै ठाउँमा फूल रोप्ने । ठाउँ ठाउँमा सेल्फि जोन, टिकटक जोन र फोटो खिच्ने,सुटिङ गर्ने ठाउँहरु निश्चित गर्ने ।

सबै घरलाई एउटै रँगले रोगन गर्ने र परम्परागत झ्याल र ढोकामा पनि एकै खालको रँग दिने । सबै घरको आगन र बलेसीलाई व्यवस्थित गरि ढल निकास गर्ने । सबै घरका पेटी र बाहिरी भागमा फूलका टोकरी र लाइटहरु राख्ने ।

५ मिनेटको दुरीमा सार्वजनिक शौचालयहरु बनाउनेः प्रत्येक घर र सडक सफा गर्न प्रत्येक दिन समय र टोल र व्यक्तिहरुलाई लगाउने । शिष्ट भाषा, आनीबानी सुधार र सरसफाई बारे जनचेतना जगाउने र प्रत्येक ठाउँमा फाहोर फाल्ने टोकरीहरु राख्ने ।

गाउँको बीच भागमा दैनिक रुपमा नौमती बाजा,सास्कृतिक कार्यक्रम,लाखे र सरुन नाँच, भजन, रत्यौली जस्ता प्रस्तुती राख्ने र अतिथी स्वागत स्थल बनाउने । तालिम, गोष्टि सञ्चालन गर्न एउटा सामुदायिक भवनको निर्माण गर्ने । भवन सँगै यहाँका पुराना र विशिष्ट महत्वका भाडा वर्तन,कपडा, औजार ,बाजा आदि बस्तु सँकलन र अवलोकन गर्ने सँग्रालय बनाउने ।

केहि ठाउँलाई लिएर खेलकूद मैदान र कभर्ड हल बनाउने । विभिन्न लोकेसनमा गाउँका काठ,बाँस र खरले छाएका कफि सप, चिया,खाजा पसल र रेष्टुरेन्टहरु बनाउने । त्यी ठाउँहरु पनि फोटो जेनिक बनाउने ।

सिँगो गाउँलाई अबलोकन गर्न र सबै गाउँलाई क्लिक गर्न मिल्ने गरि सबै भन्दा तल्लो भागमा क्लिक टावर बनाउने । विहाना ५ बजे भाले बास्ने गरि समय सुचक पनि राख्न सकिन्छ । दुइवटा प्रवेश व्दार र सिसिटिभी जस्ता सुरक्षाको प्रबन्ध गर्ने । लामिचौर देखि बलामकोट, बौडेचौर हुदै गाजा दह सम्मको ट्रेकिङ रुट विकास गर्ने । वाइफाई र इन्टरनेट शुलभ बनाउने ।

आमा समुह ,होम स्टे सञ्चालक समुह लगायतका समुहहरु बनाउने र उनीहरु मार्फत नै पाहुनाहरुको स्वागत र सत्कार गराउने । नौमती बाजा र यसको प्रवद्र्धनलाई अघि बढाउने । खानेपानीको सुलभता भएपछि र आकाशे पानी पनि सँकलन गरि प्रत्येक घरहरुमा करेसाबारी बनाउने । ताजा तरकारीहरु उत्पादन गर्ने ।

समस्याहरुः स्मार्ट भिलेजभन्दा जति आकर्षक र आनन्द लाग्ने शव्द सुनिन्छ त्यसलाई यथार्थमा परिणत गर्न धेरै चुनौति छ । नागरिकहरुको चेतना स्तर अनुशासन र लगाब सबै भन्दा पहिलो शर्त हुन्छ । त्यसका लागि सुरुमा नागरिकलाई यसका सब प्रकृया र अनुशासन, भाषा,आनीबानी परिवर्तन गराउनु पर्छ ।

पर्यटन क्षेत्रको विकास गर्न र कुनै ठाउँमा पर्यटकलाई तान्न स्वागत सत्कार, शिष्टता निकै महत्वपूर्ण हुन्छ । जथाभाबी बोल्ने अश्लिल भाषाहरुको प्रयोग, लगाई खवाई जस्ता कुराको सबैभन्दा पहिले परिवर्तन गर्नुपर्छ । यी आनीबानी र व्यवहार अनुशासनलाई पालना गर्ने ।

स्मार्ट भिलेजका लागि अर्को पक्ष हो बातावरणीय र व्यक्तिगत सरसफाई । खानेपानी, शौचालय, बाथरुम गेस्ट रुम, कफि सप देखि माथि उल्लेख गरेका चिजहरुको विकास र त्यी ठाउँलाई बसु बसु लाग्ने बनाउनुपर्छ । खानेपानी र भौतिक पुर्वाधारलाई अनिवार्य पुरा गर्नुपर्छ । कूक, वयटर र अन्य व्यवस्थापकिय कूशलताका विभिन्न तालिम हरु मार्फत सक्षम बनाउने ।

न्यूनतम पूर्वाधार तयार गरि विशेष कार्यक्रम र अभियान थाल्ने । सडक, खाना, नौमती बाजा, रत्यौली र भजन महोत्सव राख्ने, व्यापाक प्रचार प्रसार गर्ने र पर्यटक तान्ने अभियान हरु थाल्ने । यी सबै काम गर्नका लागि विशेष परियोजना सहित अघि बढेमा यो पाँच बर्षमा लामिचौरलाई स्मार्ट भिलेजका रुपमा विकास गर्न सकिन्छ ।

न्यूनतम आवश्यकता गर्न सकिने साना ठूला कुराहरुलाई अघि बढाउदै क्रमिक रुपमा परियोजना सम्पन्न गरि यो ठाउँलाई पूर्ण रुपमा स्वभलम्बि, पर्यटकिय र एउटा नमुना गाउँका रुपमा विकास गर्न सकिन्छ । स्मार्ट भिलेजको घोषणा केवल नारामा सिमित नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *