बेनी–जोमसोम सडक खण्ड अन्तिम चरणमा

आदर्श अनलाइन, जोमसोम
उत्तरी कोरला नाका जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम सडकको तेस्रो खण्डको काम अन्तिम चरणमा पुगेको छ । मुस्ताङको काइको खोलादेखि कोवाङसम्मको १६ दशमलव ४ किमी ग्राभेलसहित अस्फाल्ट कालोपत्र सडक स्तरोन्नतिको भौतिक प्रगति ९२ प्रतिशत छ ।

सडक निर्माण अन्तिम चरणमा पुगेको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीले जनाएको छ । ०७४ जेठ ३० गते बेनी जोमसोम ७६ किमी सडकको ४ वटै खण्डको एकैसाथ सम्झौता भएको थियो । जस अन्तर्गत शर्मा गजुरमुखीले म्याग्दी तातोपानीदेखि मुस्ताङको काइको खोलासम्म २३ किमी र काइको खोलादेखि कोवाङसम्मको १६ किमी सडक स्तरोन्नति गर्ने जिम्मा अलग अलग ठेक्का पाएको थियो । शर्मा गजुरमुखीले म्याग्दीको तातोपानीदेखि काइको खोलासम्मको भौतिक प्रगति ६० प्रतिशत हुँदा काइकोदेखि कोवाङसम्मको अस्फाल्ट कालोपत्र सडक स्तरोन्नति अन्तिम चरणमा पुर्‍याएको शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले जानकारी दिए ।

न्यौपानेले काइको–कोवाङ अन्तर्गत लेते खोला र सेतु खोलामा करिब १ सय ५० मिटर कालोपत्र र सडक रंगरोगन लगायत केही फिनिसिङका काम बाँकी रहेको जनाए । चालु आर्थिक वर्षको असार महिनाभित्रै बेनी जोमसोम तेस्रो खण्ड कालिगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको प्रोजेक्ट मेनेजर न्यौपानेले उल्लेख गरे । बेनी जोमसोम सडकको तेस्रो खण्डको अस्फाल्टसडकको ठेक्का ५४ करोड ३० लाख रहे पनि निर्माणाधीन सडकको ग्याबिन वाल र मेसिनरी स्टक्चर परिवर्तन हुँदा ८ करोड भिओ वृद्धि भएको आयोजनाका सबइन्जिनियर टीकाबहादुर थापाले जानकारी दिए ।

०७४ जेठमा सम्झौता भएका ४ खण्डमध्ये तेस्रो खण्ड असारभित्रै कालिगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गर्ने तयारी

उक्त खण्डको भिओ बढ्दा लागत ६२ करोड ६४ लाख पुगेको छ । सम्झौता अवधि ०७६ मंसिर १५ गतेसम्म रहेको काइको–कोवाङ खण्डको पछिल्लो म्याद ०७८ फागुन ३० गतेसम्म कायम गरिएको सबइन्जिनियर थापामगरले उल्लेख गरे । बेनी–जोमसोम तेस्रो खण्डमा थप ४ महिना म्याद थप गर्नुपर्ने उनले बताए । म्याग्दीको तातोपानीदेखि मुस्ताङको काइको खोलासम्मको ११ मिटर चौडा अल्फाल्ट कालोपत्र सडक ठेक्का सम्झौता ६३ करोड ५२ लाख रहे पनि सो खण्डको पनि भिओ बढ्दा ७२ करोड २१ लाख लागत पुगेको छ । सो खण्डको काभ्रेभीर सडकमा रक कटिङ गरी सडक चौडा गर्नुपर्ने भएकाले सडकको भिओ बढेको आयोजनाको भनाइ छ ।

म्याग्दीको कमजोर भूबनोट, बर्खायामको नदी कटान र बाढी, पहिरोका कारण सडक स्तरोन्नतिमा अपेक्षा गरे अनुरुप भौतिक प्रगति हुन समस्या परेको शर्मा गजुरमुखी जेभीले जनाएको छ । निर्माण पक्षले निरन्तर सडक स्तरोन्नति गरे पनि प्राकृतिक विपद्का कारण सडक स्तरोन्नतिमा असहज भएको निर्माण पक्षले जनाएको छ । बेनी–जोमसोम ७६ किमी सडकको पहिलो २३ किमी सडक खण्डको काम शर्मा युनाइटेड जेभीले लिएको हो । सो सडकमा ड्रेनसहित ११ मिटरको डिबिएसटी कालोपत्रे सडक निर्माण गर्न ६० करोड ६० लाखमा सम्झौता भएकोमा सो खण्डमा पनि १३ करोड ५० लाख भिओ बढेको थियो । बेनी–जोमसोम सडकको हालको भौतिक प्रगति ७० प्रतिशत छ ।

बेनी जोमसोम ७६ किमी सडकको चौथो तथा अन्तिम खण्ड अन्तर्गत मुस्ताङको खन्तीदेखि जोमसोमसम्मको १६ किमी सडकको भौतिक प्रगति ६५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । खन्ती जोमसोम अल्फाल्ट सडकको सम्झौता हँुदा लागत ७० करोड ५२ लाख थियो । निर्माण कम्पनीको ढिलासुस्ती र ठेकेदार परिवर्तनले गर्दा खन्ती जोमसोममा अपेक्षा गरेअनुसार भौतिक प्रगति हुन नसकेको हो ।

बेनी–जोमसोम ७६ किमी सडक अन्तर्गत ४ वटै खण्डको काममा निर्माण पक्षले हिमपात, बाढी पहिरो, नदी कटान र कोरोना कहरको कारण देखाएर पटक पटक म्याद थप गर्दै आएको छ । यता, उत्तरी कोरलानाका जोड्ने जोमसोम कोरला सडकका ७ खण्डमध्ये ६ खण्डको सडक स्तरोन्नति सकिएको छ । ६ खण्ड २ वर्षअघि नै कालिगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण भइसकेका छन् । तर ,जोमसोम–कोरला सडकको चराङ छोसेर २५ किमी ग्राभेल सडकको काममा ढिलाइ भएको छ । चराङ–छोसेर सडकको भौतिक प्रगति ७० प्रतिशत छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *