सन्दर्भ बागलुङ महोत्सवः ‘गण्डकी सभ्यता जोगाउने साझा दायित्व’

आदर्श अनलाइन,बागलुङ

नेपालको प्रमुख धार्मिक धरोहरका रुपमा रहेको धौलागिरीमा गण्डकी सभ्यता लोप हुने खतरामा परेको भन्दै सरोकारवालाले चासो र चिन्ता व्यक्त गरेका छन् ।

विश्वमा सभ्यताको विकास नदीहरुबाटै भएको पाइए पनि मानवीय लापरवाहीका कारण गण्डकी सभ्यता संकटमा परेको उनीहरुको भनाई छ ।

निकै पुरानो सभ्यताको रुपमा रहेको गण्डकी सभ्यता लोप हुने खतरामा पुगेपछि अहिले सर्वत्र चासो र चिन्ताका बीच गण्डकी सभ्यता बचाउन प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिइएको छ । गण्डकी सभ्यतामा नदी किनारका पर्यटकीय स्थल, आसपासका बस्ती, बजार, घाट, धार्मिक साँस्कृतिक परम्परा, तिर्थस्थल,यहाँको जीवन पद्धति मुल्य मान्यतालाई उल्लेख गरिएको छ । साथै सभ्यता भित्र धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक, राजनैतिक तथा अन्य बिषय पनि समावेश छन् ।

धौलागिरी समाज नेपालले बागलुङ उद्योग बाणिज्य सघं, धौलागिरी पर्यटन विकास समिति, बागलुङ पर्यटन विकास समिति र नेपाल पर्यटन बोर्डसँगको समन्वयमा आयोजनामा शनिबार बागलुङ महोत्सवका अवसरमा आयोजित गण्डकी सभ्यता बचाउ अभियान तथा धौलागिरीका पर्यटकीय पहिचान बिषयक अन्तरक्रियामा कार्यक्रमका सहभागीले गण्डकी सभ्यता जोगाउन सबैले ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा स्वामी ऋषि प्रपन्नाचार्यले कालिगण्डकी नदिको दोहन, शालग्राम शिलाको चोरी निकासी तथा नक्कली शालग्रामको कारोबारले धार्मिक संकट पैदा गर्न थालेको बताउनुभयो । ‘हामीले गण्डकी सभ्यता बचाउनका लागि विगतदेखि ठूलो प्रयत्न गरेका छौं’ प्रपन्नचार्यले भन्नुभयो,‘कालिगण्डकी नदीको अतिक्रमण, निर्माण भएका संरचना तथा शहरको ढल समेत सिधै जाने अवस्थाले कालीगण्डकी पहिलेको बागमति जस्तो बन्ने खतरा छ । यसमा हामी सबै समयमै सचेत भएर अभियानमा सरिक हुन आवश्यक छ ।’

यही चासो र चिन्ताका बीच गण्डकी सभ्यता महाअभियान गत वर्षदेखि शुरु भएको छ । पवित्र कालीगण्डकी नदी तथा अन्य नदीमा मिसिन आउने खोला नदीहरुको पनि सरसफाईमा सबैले ध्यान दिनुपर्ने आवश्यकता सहाभगीले औल्याएका थिए । जतिसक्दो छिटो गण्डकी सभ्यता बचाउन अभियान धौलागिरी सहित मुलुकभर अभियान नचलाउने हो भने त्यसले गण्डकी संग जोडिएका सबै सभ्यता नाश हुने अवस्था आउने उनीहरुले बताएका थिए ।

कार्यक्रममा गण्डकी सभ्यता बचाउ महाअभियानका सह–संयोजक केदरनाथ गौतमले गण्डकी सभ्यता र धौलागिरी पर्यटन विकास समितिका अध्यक्ष तथा पर्यटन अभियन्ता खिमानन्द कंडेलले धौलागिरीको पर्यटकीय सम्भावनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि छलफल गर्दै संबिधान सभाका सदस्य प्रकाश पौडेल, म्याग्दी जिल्लाका जिल्ला समन्वय अधिकारी देवेन्द्र केसी, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय लगायतले कालीगण्डकी नदिलाइ पबित्र राख्न सबैले दायित्वबोध गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

गण्डकी सभ्यता बचाउनका लागि सरकार, सरोकारवाला र नागरिक सबैलाई जिम्मेवारीबोध गराउन गण्डकी सभ्यता बचाऔं महा–अभियान अन्र्तगत महोत्सवका अवसरमा अन्र्तक्रिया आयोजना गरिएको धौलागिरी समाजका महासचिव गोविन्द्रप्रसाद शर्माले बताउनुभयो । ‘हामीले एक सय वर्ष पछिको गण्डकी सभ्यता कल्पनैै नगर्ने अवस्थाको हुनेछ,’ शर्माले भन्नुभयो, ‘आजैदेखी पहल थालौं, गण्डकी सभ्यता बचाउन लागौं, यो हामी सबैका जिम्मेवारी हो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *