बागलुङमा महिलाहरुका लागि १५ दिने कुसन बनाउने तालिम

रोहन जि.सी, बागलुङ

महिला उद्यमी विकास समिति बागलुङको आयोजना र बागलुङ नगरपालिका वडा नं. २ को सहयोगमा आईतबार देखी १५ दिनको लागि कुसन बनाउने तालिम सुरु गरिएको हो ।

तालिमको उद्घघाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नयाँ प्रकारका सिप र ज्ञानले महिलाहरुलाई आत्मनिर्भर बन्न सहज बनाउने बताउनुभयो । उहाँले बढ्दो रुपमा प्रयोग हुने हस्तकलाबाट बनाइएका सामाग्रीहरुको तालिमहरुले महिलालाई उद्यमी बन्न प्रेरणा दिएको बताउनुभयो । खड्काले नगरपालिकाले आउँदा दिनमा पनि महिला तथा बालबालिकालाई मुख्य लक्षित गर्ने गरी प्रभावकारी कार्यक्रम ल्याउने तयारी रहेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नरेश कंडेल, बागलुङ नगरपालिका–२ का वडा सदस्य विदेश कुमार श्रेष्ठ, सिर्जनशिल नारी समाजका अध्यक्ष शान्ती ज्ञावली, महिला हित वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिला खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिममा ५८ जना महिलाहरु सहभागी रहेको छ । तालिमको सहजीकरण प्रशिक्षक लक्ष्मी शाक्यले गर्नुहुने छ । महिला उद्यमी विकास समितिले यस अगाडी पनि महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम संचालन गरेको छ । बागलुङ उद्योग बाणिज्य सँग सँगै निरन्तर सहकार्य गर्दै आएको समितिले महिलाहरुको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । उद्घाटन कार्यक्रम महिला उद्यमी विकास समितिका अध्यक्ष भगवती केसीको अध्यक्षता, सचिव जुनु श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *