सरकार भएको आभास होस्


सम्पादकीय :
यतिबेला मूल्य वृद्धि आकाशिएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पटक पटक वृद्धि त गरेकै छ, त्यसमा पनि पछिल्लो आइतवार मात्रै ठुलो मात्रामा मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रति लिटर २१ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर २७ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ पर्नेछ । यो मूल्य अहिले सम्मकै उच्च हो । यसबाट बहुआयामिक असर सबै क्षेत्रमा परिरहेको छ । अहिले मूल्य वृद्धिले नागरिक आजित बनेका छन् । नियमित दैनिकी जीविका के कसरी चलाउने भन्ने पिरलो गरिब, विपन्न, मजदुरलाई एकातिर छ भने उद्योगी, व्यवसायी लगायतका क्षेत्रमा समर्पित भएकाहरुलाई व्यापार, व्यवसाय, कारोबार के कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले आक्रान्त बनाएको छ ।
भान्सादेखि यात्रा सम्म सर्वत्र मूल्य पनि छोइ नसक्नु भएको छ ।

नेपाल खुद्रा व्यापार संघ र नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि कहालीलाग्दो महँगीलाई देखाउँछ । चालु आवको १० महिनाको समग्र मूल्यवृद्धिलाई मात्रै हेर्ने हो भने मुलुकको समग्र महँगी ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । इन्धनको मूल्य अनुसार स्वचालित प्रणालीमार्फत यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्य खाद्य पदार्थको मूल्य उस्तै बढेको छ । २०७८ असारमा प्रतिलिटर २२० रुपैयाँमा पाइने भटमास तेलको मूल्य २०७९ असारमा थोक मूल्य प्रतिलिटर ११० रुपैयाँले बढेर ३३० पुगेको छ । २४० रुपैयाँमा पाइने सूर्यमुखी र तोरी तेलको मूल्य लिटरमा ११० रुपैयाँले नै बढेर ३५० रुपैयाँ पुगेको छ । गत वर्ष १५० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दालको मूल्य यो वर्ष किलोमै २५ रुपैयाँले बढेर १७५ रुपैयाँ पुगेको छ । दाल किलोमा १० रुपैयाँले बढेर १७० बाट १८० रुपैयाँ प्रतिकिलो पुगेको छ । प्रतिकिलो २०० रुपैयाँमा पाइने राजमाको मूल्य किलोमै २० रुपैयाँले बढेको छ भने १०० रुपैयाँको सेतो केराउको मूल्य किलोमै ३० रुपैयाँले बढेर १३० रुपैयाँ कायम भएको छ । चामल र पीठोमा पनि एक वर्षको बीचमा उच्च मूल्यवृद्धि भएको छ । स्टिम जिरा मसिनो चामलको मूल्य किलोमा ५ रुपैयाँले बढेर ७५ रुपैयाँ पुगेको छ भने लनग्रेन बासमती चामल किलोमा १५ रुपैयाँले महँगिएर १४५ रुपैयाँ प्रतिकिलो पुगेको छ । ६० रुपैयाँ किलोको सुजीको मूल्य ४० रुपैयाँले महँगिएर १०० रुपैयाँ पुगेको संघले जनाएको छ ।

दुई वर्ष लामो कोभिड महामारी पश्चात अर्थतन्त्रमा गम्भीर समस्या देखियो । जसका कारण व्यापार, व्यवसाय, अर्थतन्त्र चलायमान हुन सकेन । धेरैले व्यापार व्यवसाय छाडेर पलायन हुन बाध्य बन्ने अवस्था पैदा भयो भने दैनिक मजदुरी गरेर जीविका चलाउनेहरु पनि परदेश लगायतका विकल्प सोच्न र खोज्न बाध्य बनिरहेका छन् । यसले क्रयशक्ति गुमेका उपभोक्ता महँगीले थलिंदा पनि सरकार भने यसलाई अन्तर्राष्ट्रिय घटनाको उपज मात्रै मान्छ । अस्थिर सरकारको फाइदा उठाएर उपभोक्तामाथि महँगी थोपरेर लाभ लिने स्वार्थ समूहको नियत माथि निगरानी छैन । उल्टै यस्ता पात्र र प्रवृत्तिलाई सरकारको प्रत्यक्ष अप्रत्यक्ष साथ छ । आयातमा आधारित अर्थतन्त्रका कारण देखिएको मूल्यवृद्धिको समस्या समाधानका लागि सरकारले तत्काल दुई काम गर्न जरुरी छ । रूस र युक्रेन युद्ध तथा कोभिडका कारण बिग्रिएको मूल्यको वातावरण सुधार गर्न पहिले अत्यावश्यक वस्तुको आयातमा लाग्ने भन्सार शुल्क घटाउने र दोस्रो नेपाली उत्पादनलाई सहुलियत दिएर बाहिरिनबाट रोक्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *