दलिय ‘रजगज’ विरुद्ध स्वतन्त्रको लहड

सम्पादकीय
अहिले नेपालमा स्वतन्त्रको लहड चलेको छ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले चामत्कारिक सफलता पाए पछि अहिले धमाधम स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । काठमाडौं महानगरको मेयरमा बालेन शाह, धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ नितान्त स्वतन्त्र उम्मेदवारको हैसियतमा स्थानीय तह चुनावमा प्रतिस्पर्धामा उत्रेर जनताको अपार मत र समर्थन प्राप्त गर्न सफल रहे । जुन धेरैका लागि सम्भव र अनुमान भन्दा बाहिरको कुरा थियो । यद्यपि, यी दुईले वर्षौदेखि रजगज चलाइरहेका राजनीतिक दलका उम्मेदवारलाई माथ लगाइदिए । यही नजिरको जगमा संघीय राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने एक किसिमको प्रतिस्पर्धा नै चलेको छ ।

जबकि आगामी मंसिरमा प्रदेश र संघीय संसदको चुनावी टुंगो अझै लाइसकेको छैन । तर, राजनीतिक दलमा आवद्धता नभएर बिभिन्न सञ्चार, समाजसेवा, अभियानहरुमा क्रियाशील व्यक्तिहरु राजनैतिक मैदानमा उत्रिएका छन् । यो लहरमा काठमाडौं १ बाट पुकार बम, काठमाडौं ५ बाट रञ्जु दर्शना, ८ मा सुमन सायमी, काठमाडौं ६ मा अब्दुस मिया लगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । यही अनुक्रममा लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले अब राजनीतिक यात्राको उद्घोष गरेका छन् । उनले आफ्नो उम्मेदवारी मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टी समेत घोषणा गरेका छन् । प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने लगायतका माग सहित खुल्ला राजनीतिमा होमिएका लामिछानेको कदम प्रति मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले पार्टी स्वतन्त्र नहुने र स्वतन्त्र शब्दको दुरुपयोग गरिएको जिकिर सहित आलोचना गरिरहेका छन् भने केहीले वर्तमान राजनीतिक शक्तिबाट आजित भएकाले बैकल्पिक शक्ति सहितको दल आवश्यक भएको र त्यो लामिछानेको पार्टीले स्थान लिने आशा गरेका छन् ।

प्रदेश या संघीय निर्वाचनमा स्थानीय तहको प्रमुखमा निर्वाचित भए जस्तो स्वतन्त्र उम्मेदवारको अधिकार र भूमिका हुँदैन । दलिय व्यवस्थामा स्वतन्त्र उम्मेदवार या संसदको भूमिका कमजोर हुन्छ । तर पनि अहिलेका राजनीतिक दल, तीनका नेताहरुबाट जे जसरी शासित र आजित हुनुपरेको छ । नागरिकले यसको या त सुधार या त विकल्प खोज्न थालेका छन् । यही मनोविज्ञानमा अहिले स्वतन्त्र उम्मेदवारको लहर देखिएको छ । यसलाई अन्यथा लिन मिल्दैन । तर, हालै स्वतन्त्रले जिते, अब स्वतन्त्र उठे जितिन्छ भन्ने भ्रमित सोचले खाडलमा पार्छ । जो पनि जस्तो पनि स्वतन्त्र उम्मेदवारको रुपमा उत्रिने विषयले केबल हाउगुजी मात्र सिर्जना गर्छ, परिणाम दिदैन । त्यसैले स्वतन्त्र होस् या स्वतन्त्र पार्टी सबैले जनताको विश्वास र भरोसा आर्जन गर्न आप्m्नो प्रष्ट नीति, योजना, कार्यक्रम बताउनुपर्छ । नत्र बालेन शाह र हर्क साम्पाङहरुले कठिन मेहेनतका साथमा तयार गरेको स्वतन्त्र उम्मेदवारको जितको इतिहास कमजोर र बदनाम मात्र बन्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *