पहिरोले चिराचिरा परेको ‘हुल्दी गाउँ’

डम्मर बुढा मगर, बागलुङ
गाउँको चारै तिर ठूला–ठूला ज्यानै जस्काउने पहिरो । पहिरोको बीचमा बस्ती, खेतियोग्य जमिन र विद्यालय । त्यही गाउँमा सयौँ नागरिकहरु वर्षौँदेखि ज्यानै जोखिम मोलेर बस्दै आएका छन् । जुन गाउँ हो, निसीखोला गाउँपालिका वडा नम्बर १ मा पर्ने हुल्दी गाउँ । हुल्दी गाउँ वर्षौदेखि बाढी पहिरोको चपेटामा छ ।

जब वर्षायाम सुरु हुन्छ तब उनीहरुमा मरिन्छ की बाँचिन्छ भन्ने चिन्ताले पिरोली रहन्छ । हिउँदको समय बस्तीमा त्रास कम भए पनि ठूलो वर्षा हुन साथ उनीहरुमा एक किसिमको भयले मन ग्रस्त हुन्छ । गाउँमा सामान्य वर्षा हुँदा पनि सानो तिनो पहिरो झरेर केही क्षति पु¥याउँदै आए वर्षातको समयमा भने ठूलो क्षति पु¥याउँदै आएको छ ।

गाउँलेलाई जब ठूलो पानी पर्छ, तब पहिरोले पुरिन्छौँ की भन्ने पिरले सताउँछ । वर्षातको समय यहाँका अधिकांश मानिसहरु जाग्राम बस्ने गर्छन् । गाउँ चारै तिरबाट पहिरोले घेरिएको हुदाँ कतै सुरक्षित भएर बस्न सक्ने अवस्था पनि छैन । लगातार ठूलो वर्षा हुन थाल्यो भने यहाँका अधिकांश मानिस आफ्ना पशुचौपाया लिएर गाउँ भन्दा माथिको जंगल दह भन्ने स्थानमा पाल टाँगेर बस्ने गर्छन् । हरेक वर्षातको समय उनीहरुले दैनिकी जंगलमै बिताउने गर्छन् ।

यहाँका स्थानीयलाई हरेक वर्षातको समयमा जनधनको सुरक्षा गर्न निकै चूनौति हुन्छ । गाउँ छोडेर अन्तै जाने थातथलो पनि छैन । जसोतसो गाउँमै बस्नु सिवाय अरु विकल्प नभएको स्थानीय बताउँछन् । हुल्दी गाउँमा साना ठूलो करिब १०० स्थानमा पहिरो गएको छ । जमिन पहिरोले चिरा चिरा परेको छ, र पनि स्थानीय ज्यानलाई हत्केलामा राखेर गाउँमै बस्न विवश छन् ।

गाउँमा हरेक वर्ष पहिरोले घर, खेतबारी बगाउने गरेको छ । सिंगो गाउँनै पहिरोको उच्च जोखिममा परेपछि भूगर्भविदले यसको अध्ययन गरेर बस्न नमिल्ने निचोड निकालेका थिए । तर भूगर्भविदले गाउँमा बस्न जोखिम भएको बताए पनि स्थानीयहरुको अन्य कुनै ठाउँमा बसाइँ सराइ गर्ने ठाउँ नहुँदा ज्यान धरापमै राखेर गाउँमै बस्दै आएका छन् ।

हुल्दी गाउँसँगै देविस्थानको खारा बजार, खाडु बजार, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ । स्थानीयले गाउँ छोड्न सकेका छैनन् । निसीखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी बाढी पहिरो प्रभावित पालिका हो । यस पालिकामा २ सय ८२ घर परिवार पहिरोले विस्थापित बनेका छन् । जसमध्ये २ सय ६० घर स्थानान्तरण गर्नु पर्ने अवस्थामा रहेको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतम बताउँछन् ।

गाउँपालिकाको वडा नम्बर १ को देविस्थान, खारा बजारका ४१ घर, हुल्दी गाउँका १०० घर, वडा नम्बर २ खाडुका ११ घर, वडा नम्बर २ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा नम्बर ३ धाराखर्क खग्रेनीका ४८ घर स्थान्तरण गर्नु पर्ने अवस्थामा रहेको छ । वडा नम्बर ४ का ३ घर वडा नम्बर ५ का ८ घर, वडा नम्बर ६ का ४ घर र वडा नम्बर ७ मा ७ वटा घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

ती घरहरुलाई ग्याबिन निर्माण तथा अन्य व्यवस्थापन गरेर सुरक्षित गर्न सकिने विकल्प भने छ । ‘जुन बस्ती स्थान्तरण गर्ने भनिएका ठाउँहरु छन्, त्यहाँ निकै जोखिम छ, सिङ्गो गाउँनै पहिरोले चिराचिरा परेको छ, घरहरु चर्किएका छन्, बस्नको लागि निकै समस्या छ तर पनि स्थानीयवासीको ध्यान धरापमै पारेर बस्नु भएको छ,’ गौतमले भने ‘पानी नपर्दा त धेरै समस्या नपर्ला तर वर्षा भयो भने त ती ठाउँहरुमा निकै खतरा छ, सजगता नअपनाउने हो भने ठूलै क्षति हुन सक्छ ।’

यस वर्ष पनि धेरै बस्तीहरु जोखिममा पर्न सक्ने भन्दै उनीहरुलाई सजग रहन गाउँपालिकाले आग्रह गरेको छ । कमजोर भूगोलका कारण वर्षादको समयमा बाढी पहिरोबाट गाउँपालिकाका धेरै नागरिकहरु प्रभावित हुने गरेका छन् । निसीखोला गाउँपालिका वडा नम्बर १ हुल्दी गाउँका पहिरो पीडित चन्द्रबहादुर सिंजाली मगरले पहिरोले गाउँलेहरुको उठिवास लगाएको र निकै ठूलो त्रासका बीच गाउँमा बसिरहेको गुनासो गरे ।

सरकारले आफूहरुको समस्या बुझ्न र समाधानमा बेवास्ता गरेको उनको भनाई छ । पहिरोले गाउँ छिया–छिया भए पनि सरकारले नजर अन्दाज गरेकोमा स्थानीय आक्रोशित समेत छन् । ‘पहिरोले गाउँनै जोखिममा परेको यतिका वर्षसम्म हामीलाई सरकारले राहत दिलाउन सकेन, पहिरोले कयौँको ज्यान लियो, धेरै पशुचौपाया मरे, हामी पनि कति बेला पुरिने हौँ पत्तो छैन’ उहाँले भन्नुभयो ‘सरकारका लागि चुनावमा मात्रै हामी चाहिने तर सरकार हाम्रो लागि कहिल्यै भएन, यस्तो विपत्तिमा पर्दा समेत निरिह बन्यो, यत्रो गाउँनै पहिरोले उजाडिँदै छ, सरकारलाई वास्ता छैन ।’

पहिरो पीडित खिमकुमारी रामजालीले पानी पर्दा दौडिएर जंगलमा जानु पर्ने अवस्था रहेको भन्दै आफूहरुका लागि सरकारले उचित व्यवस्थापन गर्नु पर्ने बताइन् । यस क्षेत्रका बासिन्दाले हिउँदको समयमा जसोतसो जीवन निर्वाह गरे पनि बर्खामा गास, बास र कपासको ठेगान नभएको उनको भनाई छ ।

‘पानी ठूलो पर्दा बित्तिकै जंगल तिर पोको कुटोरबोकेर भाग्नु पर्छ, जताततै पहिरोनै पहिरो छ, घर गोठमा पशुचौपाया हुन्छन् छोड्न मन लाग्दैन कतै पुरिएर मर्छन् कि भन्ने हुन्छ’ रामजालीले भनिन् ‘आफ्नो ज्यान जोगाउन भएपछि श्रीसम्पत्ति छोडर भाग्नु पर्छ, सरकारले हामी यस्तो समस्यामा हुँदा पनि सहयोग गरेन ।’

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले हुल्दी लगायत बाढी पहिरो पीडितहरुको पुनस्र्थापनाका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने बताए । उनले पालिकाले सक्दो सहयोग गर्ने भन्दै यहाँ धेरै पीडितहरु भएको हुँदा माथिल्लो निकायसँग बजेट माग गरेर पीडितको समस्या समाधान गर्ने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *