सचेत बनौः यो समय विपत्को हो

सम्पादकीय
नेपाल भूगोलका हिसाबले जे जति बिविधता र सुन्दरताले सुसज्जित छ, त्यत्तिकै मात्रामा जोखिमपूर्ण पनि छ । हिमाल, पहाड र तराईको भूगोल मिलेर बनेको नेपालमा वर्षेनी पहाडी र हिमाली क्षेत्रमा बाढी, पहिरो जान्छ । तराई क्षेत्र डुबानमा पर्छ । यसपटक असारको मध्य समय आइनपुग्दै गण्डकी प्रदेशको राजधानी पोखराको सुइखेतमा दर्जनौ वस्ती डुबानमा प¥यो । ५ सय घर डुबानमा परे पनि समयमै प्रभावित बस्तीका बासिन्दालाई उद्धार गरेर स्थान्तरण गरिएकाले मानवीय क्षति भएन । सडक भासिएका छन् । उसो त पोखरामा सडक मात्र होइन, धेरै ठाउँमा जमिन डरलाग्दो हिसाबले भासिएका समाचारहरु पटक पटक आइरहेका हुन्छन् ।

नेपालमा मनसुनका चार महिनामा वार्षिक ८० प्रतिशत अर्थात् औसत एक हजार पाँच सय मिलिमिटर वर्षा हुन्छ । असार र साउनमा धेरै वर्षा हुने गर्छ । अहिले मनसुन सक्रिय छ । निरन्तरको वर्षाका कारण बाढी, पहिरो लगायतका विपतका घटना यसपटक पनि भइरहेका छन् । अहिले सम्म भारी वर्षा नभएकाले अझै सम्म ठूलो जनधनको क्षति भएको छैन र नहोस् पनि । तर, विपत् प्राधिकरणको तथ्यांक अनुसार यस वर्ष ५१ जिल्ला पहिरो र २१ जिल्ला बाढीको जोखिममा छ । ती जिल्लाका चार लाख २१ हजार घरपरिवारका २० लाख जनसंख्या प्रभावित हुन सक्ने अनुमान छ । त्यसमध्ये कम्तीमा एकतिहाइ अर्थात् पाँच लाख ७० हजारलाई खाद्यान्न र अस्थायी आवासको सहायता आवश्यक पर्ने आँकलन छ । बर्खाको बाढीपहिरोले मात्र पछिल्लो ६ वर्षमा १२ सय १५ को मृत्यु भएको छ ।

सरकारले सूचना प्रणाली (घटनाका विवरण)मा काम गरे पनि बाढीपहिरोको जोखिम न्यूनीकरणमा ठोस रुपमा उपलब्धि हासिल गर्ने गरी काम गर्न सकिरहेको छैन । वर्षा र बाढीलगायत विपतका पूर्वानुमानमा अहिले धेरै सुधार छ । तर, विपतको घटना पूर्व तयारीमा अझै पनि सरकार, यसका निकाय र नागरिक चुकिरहेको अवस्था बिद्यमान छ । अहिले सरकार विपद पूर्वको तयारी र प्रतिकार्यमै केन्द्रित हुनुपर्छ । र यससँगै विपत पछिको उद्धार, राहत र पुनस्र्थापनाका लागि पनि राज्यको दायित्वबोध गर्नुपर्छ । विगतमा जस्तो बाढी, पहिरो आउँछ, देशभर ठूलो जनधनको क्षति हुन्छ । सरकार शोक वत्तव्य प्रकाशित गरेर, घटनास्थल, प्रभावित वस्तीमा हेलिकप्टरबाट सयर गरेर जिम्मेवारी पुरा भएको ठान्छ । अब त्यसरी कदापि पुग्दैन र नेपालीले यही प्रवृत्ति सहेर पनि बस्दैनन् । अतः सरकारले सम्भावित विपतको घटना, जोखिमयुक्त वस्तीको पहिचान, जनधनको सम्भावित क्षति सके सम्म रोक्ने नत्र कम गर्ने तर्फ समग्र ध्यान केन्द्रित गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *