बागलुङमा भ्रष्टाचार विरुद्ध नागरिक सचेतना कार्यक्रम

आदर्श अनलाइन, बागलुङ
भ्रष्टाचार नियन्त्रण विरुद्ध नागरिक निगरानी संस्था बागलुङको आयोजना तथा अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र पोखराको संयोजनमा बागलुङमा भ्रष्टाचार विरुद्धको नागरिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा बोल्ने सहभागीले सुशासन प्रबद्धन र भ्रष्टाचार नियन्त्रणका लागि सबै सरोकारवाला एक हुनुपर्ने बताउनुभयो । सहभागीले जिल्लामा विशेष गरी खानेपानी आयोजना, सार्वजनिक खरिद ऐन नियम बिपरित सामान खरिद, झुट्टा भ्रमण भत्ता, मिलेमतोमा भुकम्प प्रभावित भनी दोहोरो रकम लिने, स्वास्थ्य सामग्री खरिद, नक्कली बिल भर्पाई तथा नक्कली ग्रेड सिट बनाई बिद्यार्थी भनाँ लगायतका भ्रष्टाचारजन्य क्रियाकलाप हुने गरेको दाबी गरे ।

भ्रष्टाचारजन्य क्रियापकलापको अख्तियारमा उजुरी गरेपनि उजुरीदाताको नाम सार्वजनिक हुने गरेको भन्दै सहभागीले, ‘उजुरीकर्ता लाई समेत थप चुनौती हुने गरेको गुनासो गर्नुभयो । भ्रष्टाचार नियन्त्रणका लागि सबै सरोकारवाला जवाफदेही र जिम्मेवार बन्नुपर्नेमा सहभागीले जोड दिनुभयो ।

सो अवसरमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सुशासन प्रबद्धन र भ्रष्टाचार नियन्त्रणका लागि सबै संग सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले उजुरी परेकै आधारमा भ्रष्टाचार भयो भनेर धारणा बनाउन नहुनेमा जोड दिनुभयो । कानुनले धनी गरिब नभनी कसुरको आधारमा सजाय हुने ढकालको भनाई थियो ।

कार्यक्रमको सहजिकरण अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र पोखराका उपसचिव देवी प्रसाद थपलियाले गर्नुभएको थियो । थपलियाले भ्रष्टाचार नियन्त्रणका लागि सबैले आआफ्नो क्षेत्र सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचार सम्बन्धी धेरै उजुरी महानगरपालिका र नगरपालिकामा हुने गरेको बताउनुभएको थियो ।

सो अवसरमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्याय, उद्योग बाणिज्य संघका प्रतिनिधी राजन कुमार शाक्य, नागरिक समाजका प्रतिनिधी कृष्ण शंकर श्रेष्ठ, रुद्र महत, शालिकराम शर्मा र लिला देवी खड्का लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम भ्रष्टाचार नियन्त्रण विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता र सचिव राम बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *