शुभेक्षा पन्त
कुनै पनि स्थानको जैविक विविधताले त्यस स्थानको भूगोल, हावापानी, जीवजन्तु, पर्यावरण, आर्थिक सामाजिक, धार्मिक, सांस्कृतिक रहनसहन, परम्परा चालचलन, बोलीचाली, भेषभूषा र अन्तरसम्बन्ध सबैलाई प्रतिविम्वित गर्दछ । विश्व ब्रह्माण्डका ग्रहहरुमध्ये जीवन्त ग्रह पृथ्वी हो । प्राकृतिक विविधता भनेको स्वदेशी बोटबिरुवा र पशु प्रजाति, भूवैज्ञानिक सुविधाहरू, वनस्पति समुदायहरू, इकोसिस्टम प्रकारहरू, र अन्य प्राकृतिक सुविधाहरू हुन् । कम्तिमा २० जनावर र बोटबिरुवाका प्रजातिहरू प्रदूषण र उनीहरूको प्राकृतिक वासस्थानको रूपान्तरणको परिणाम स्वरूप हरेक दिन विलुप्त हुन्छन् । ३० बर्षमा यो संख्या दैनिक १०० प्रजातिमा बढ्ने अनुमान गरिएको छ ।
सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न गरिएको संयुक्त राष्ट्रसंघीय पृथ्वी सम्मेलनबाट पारित जैविक विविधता महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ, जसमा जैविक विविधताको लागि तीन वटा उद्देश्य राखेको छ । सन् १९९४ देखि मे २२ का दिनदेखि विश्वभर जैविक विविधता दिवस मनाइदै आएको छ । कानुनत नेपालमा भने जैविक विबिधतालाई वातावरण संरक्षण ऐन, २०५३ अनुसार व्याख्या गरिदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातिय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
नेपालको अनेकताभित्रको विविधता र विविधताभित्रको एकतामा २ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, १ सय प्रजातिका सरिसृप, १ सय ८५ प्रजातिका माछा, ४३ प्रजातिका उभयचर, ६ सय ५३ जातका पुतली, ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजारबढि फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउकिरी, १ हजार ८ सय २२ प्रजातिका ढुँसी र ३ सय ८३ प्रजातिका उन्यूहरू रहेका छन् । वनस्पतिहरुमा गुराँसको ३० वटा भन्दा बढि प्रजाति र सुनाखरी परिवारका ३ सय ६३ भन्दा बढि प्रजाति रहेका छन् । युरोपको भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । नेपालमा पुतलीको सबैभन्दा धेरै प्रजाति पाइन्छ । नेपालमा ५ सयभन्दा बढि प्रजातिका अन्नबाली, २ सय प्रजातीको खेति रहेका छन । यी विविधताहरु सदासर्वदा कायम हुन् र तिनको सस्थागत संरक्षण र पर्यटन अभिवृद्धिका लागि सरोकारवाला र समुदायको उल्लेखनिय भुमिका रहन्छ । अहिले जैविक विविधताको विषय प्राज्ञिक चासो, वातावरणीय मुद्दा र संरक्षणको विषयवस्तु मात्र नभएर यो धेरै किसिमका व्यक्ति, समूह र निकायका सामाजिक, राजनीतिक, आर्थिक तथा वातावरणीय सम्बन्ध जोडिएको एक महत्वपूर्ण तर जटिल विषय बनेको छ ।
विकास, विलासिता र उपयोगका नाममा गरिने प्रकृतिमाथिको प्रहारले सिर्जना हुने विभिन्न महामारी तथा प्रकोपहरूको कारण मानव जीवन नै असुरक्षित बन्दै जान थालेको छ । प्राकृतिक सन्तुलन कायम गर्नको लागि जैविक विविधता संरक्षण गर्नु अपरिहार्य छ । मानव जीवनको सुरक्षाको लागि जैविक विविधताको संरक्षण र जैविक विविधताको सुरक्षाबाट मानव लगायत समग्र जीव जीवात्माहरूको सुरक्षा हुन सक्छ । जैविक विविधताको उचित संरक्षण भएन भने वातावरण संरक्षण आधारहीन बन्न पुग्छ । चराचुरुंगीहरूको वासस्थान मासिँदै जानु, सडक, नहर तथा कुला जस्ता संरचना निर्माण गर्नु, जथाभावी सडक तथा भौतिक संरचनाको निर्माण गर्नु, विद्युतको हाई स्टेसनको निर्माण, बढ्दो चोरी शिकारी र खाद्यान्नमा विषादीको प्रयोग, बढ्दो सहरीकरण, अनियन्त्रित बसाइँ सराइ, जनसंख्या वृद्धि, भौतिक पूर्वाधारहरूको तीव्र रूपले निर्माण लगायतका विभिन्न मानवीय क्रियाकलापहरूले गर्दा सिमसार क्षेत्रको अस्तित्व संकटमा परेको छ ।
नेपालका पर्वतीय क्षेत्रका १८ जिल्लाहरू जैविक विविधतामा धनी रहेको भएपनि उचित संरक्षणको अभावमा सिंह, बाघ, गैँडा, अर्ना जस्ता वन्य जन्तुहरूको संख्या निकै कम भएको छ भने ९ प्रजातिका चराहरू लोप भइसकेका छन् । केही वर्षयता यहाँका वन्यजन्तु तथा चराचुरुंगी विस्तारै लोप हुन थालेपछि पर्यावरणमा पनि केही असर परेको छ । प्रकृतिमा भएका सबै जीवको आफ्नो अस्तित्व हुन्छ । यी सबै स्रोत साधनहरूको सदुपयोग, संरक्षण तथा व्यवस्थापनका माध्यमबाट पारिस्थितिक प्रणालीहरू सुचारु राख्ने जिम्मेवारी मानव जातिको काँधमा छ । जैविक विविधता कुनै पनि स्थानको मौलिकताको प्रतीक हो तर कोरोना भाइरसले जैविक विविधता, वातावरणीय स्वच्छता बढाएको भनिएपनि यो बर्ष ब्राजिलको अमेजन जङ्गलमा लागेको डढेलो तथा अष्टेलियाको जङ्गलमा लागेको डढेलोले जैविक विविधतामा ठुलो क्षति पु¥याएको छ । मानवीय सुरक्षामा चुनौती थपिरहेको छ ।
जैविक विविधतामा मानिसले पु¥याएका असरहरु विगत १० हजार वर्ष पहिलेदेखि नै देखिन थालेका थिए । बढ्दो जनसंख्याको आवश्यकता पूर्ति गर्नको लागि कृषिको विस्तार र औद्योगीकिकरण बढ्दै गयो जसले गर्दा संसारभरि नै वन फडानी तीव्र भयो । कृषि र चरणको लागि प्राकृतिक वासस्थान नास गर्ने क्रम धेरै अघिदेखि क्रमिक रुपमा चलेपनि पछिल्लो तीन शताब्दिमा यो तिव्र गतिमा बढ्यो । अहिले पृथ्वीको सतहको लगभग ५० प्रतिशत भन्दा बढी प्राकृतिक भुभाग मानवजन्य क्रियाकलापद्वारा कृषि, आवास, उद्योगको क्षेत्र लागि रुपान्तरित गरिएको छ । ७५ प्रतिशत भूभागमा कुनै न कुनै रुपमा मानिसको प्रभाव परिसकेको छ । पृथ्वीमा रहेका धेरै प्रजातीहरू हाल हाम्रो लागि प्रत्यक्ष उपयोगी नभए पनि वातावरण सन्तुलित राख्न तथा पृथ्वीलाई वनयोग्य बनाउन भुमिका खेलिरहेका छन् ।
नेपालमा वातावरणसँग सम्बन्धित मुद्दाहरूसँग जुध्न तथा स्वस्थ एवं स्वच्छ वातावरणको हकको कार्यान्वयन गर्न गराउनको लागि संघ, प्रदेश तथा स्थानीय गरी तीनै तहका सरकारहरूको समन्वय, सहकार्य एवं सहजीकरण हुनु जरुरी छ । जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा उपयोगको सामाजिक–सांस्कृतिक आयामहरू, नेपालमा यस सम्बन्धमा भएका प्रयास तथा व्यावहारिक अनुभवका अतिरिक्त नयाँ चुनौतीहरू समेत समेटेर थप अध्ययन गर्न अत्यन्त जरुरी छ । जैविक विविधता अपार स्रोत हो जसको सदुपयोग र दिगो संरक्षण हुनु अपरिहार्य छ । मानिसका आधारभूत आवश्यकता पूर्तिको लागि र सम्पूर्ण जीवहरूको अस्तित्व जोगाई रहन जैविक विविधता संरक्षण हुनु जरुरी छ ।