धान दिवस, दृश्य र देश

सम्पादकीय
नेपाल कृषि प्रधान देश हो । यद्यपि पछिल्लो समय जे जस्तो पात्र र प्रवृत्ति बढ्दो छ, त्यसले नेपाल कृषि प्रधान होइन, नामधारी किसान प्रधान जस्तो मात्र देखिन्छ । अर्को कोणबाट हेर्दा नेपाल कृषि प्रधान होइन, कुर्सी प्रधान जस्तो देखिन्छ । राजनीतिक दल र नेताहरु बिच कुर्सीको लुछाचुडीले देश अस्थिर बनिरहेको छ । त्यही अस्थिरताका कारण गरि खाने किसान र तिनका छोराछोरीहरु समेत अवाक भएर परदेश पलायन हुने लहर बढिरहेको छ । अब यही प्रवृत्ति कायम रहने हो भने १२ पास गरे पछिका युवायुवति, किशोर किशोरी देशमा भेटाउन मुश्किल हुनेछ । र उनीहरु परदेश पसे पछि देश फर्किने संख्या पनि कम हुनेछ । यसकारण देशमा कृषि प्रतिको आकर्षणमा कमी मात्र होइन, गाउँघरका खेतबारीहरु बाँझो रहने, गाउँ बृद्धाश्रम बन्ने खतरा बढ्दो छ ।

असार १५ अर्थात् धान दिवस, बुधवार देशभर धान रोपाई सहित दही चिउरा खाएर मनाइएको छ । पहिले पहिले धान दिवसमा असार भाका हालेर जे जसरी रोपाइँ गरिन्थ्यो, अहिले त्यो हराएको छ । एकआपसमा अर्मपर्म गरेर रोपाइँ गर्ने प्रचलन पनि हराएको छ । अहिले गाउँघरमा खेतमा धान रोप्ने जनशक्ति पाउन पनि मुश्किल हुन थालेको छ । अहिलेका युवायुवति सामाजिक सञ्जाल फेसबुक, युट्युव, ट्वीटर, इन्स्टाग्राम लगायतमा शुभकामना दिएर देखावटी धान दिवस मनाउन व्यस्त छन्, शहर आसपासका खेतहरुमा पुगेर अप्ठ्यारा लाग्ने गीतहरुमा नाँचगान गर्दै हिलो खेल्नेहरुको संख्या पनि अधिक देखिन्छ । धान रोपाइँको बाहनामा हिलो खेल्दा दुव्र्यवहार र भाइरल बनेका घटना र कृषि मन्त्री स्वयंम्ले राजीनामा दिएको विषय धेरै पुरानो भएको छैन । जबकि गाउँमा बाबुआमा खेताला नपाएर हैरानी खेप्दैछन् । शहरमा छोराछोरीले जागिर खोज्दै हिँड्ने र गाउँघरमा माता पिताले काम गर्ने हली, बाउसे, खेताल्नी खोज्ने समस्याले देशको दुर्दशालाई प्रष्ट झल्काइरहेको छ । हाम्रो शिक्षा पद्धति, संस्कार, व्यवस्था कहाँनेर समस्या छ ? अस्थिर राजनीतिको मैदानमा राजनीतिक दल र नेताहरुले कृषि र रोजगारलाई मूल नारा त बनाउछन् तर, सत्तासीन भए पछि कार्यान्वयनमा उदासिन देखिन्छ । जुन वर्षौदेखि नेपाल र नेपालीले भोगिरहेको नियति हो ।

धान नेपालको उत्पादन र आत्मनिर्भरताको सबै भन्दा राम्रो विकल्प र बाली हो । यद्यपि, खेतहरु बाँझो बन्ने समस्या, समयमा रासायनिक मल नपाउँदाको समस्याले उत्पादन बढ्न सकेको छैन । अहिले पनि किसानहरु मल नपाएर आजित छन् । कृषि प्रधान देशमा मल नपाएर खेती लगाउनु पर्ने बिबशता हरेक वर्ष भोगिरहँदा पनि समाधान नहुनुले यो मुलुकमा सरकार भएकै आभाष हुँदैन । कृषि मन्त्रालय, मन्त्री र कर्मचारीहरुले वर्षभर के कस्तो योजना तयारी गर्छन् ? किसानहरुलाई नयाँ नयाँ प्रविधिको प्रयोग मार्फत उत्पादकत्व बृद्धि गर्न प्रोत्साहित गर्ने विषयमा किन उदासिन हुन्छन् ? यी र यस्ता गम्भीर प्रश्नको जवाफ खोजेर राज्य जिम्मेवार नबन्दा सम्म कृषि उपेक्षा परिरहने निश्चित छ । अर्को तर्फ हामी किसान हौ भनेर भन्ने तर, खेती किसानी नगर्ने पात्र र प्रवृत्ति बढ्दो छ । उनीहरुलाई समेत उत्पादनमै सक्रिय र समर्पित हुने बातावरण बनाउनु अपरिहार्य छ । नत्र कृषि प्रधान देश भन्ने, खेती किसानी नगर्ने, असली किसानले अनुदान नपाउने, समयमा मल नपाउने अवस्था बिद्यमान रही रहे परनिर्भरता बढ्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *