पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

आदर्श अनलाइन, पोखरा
राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले पोखराकादुईवटा सहकारी संस्थालाई बैंकको व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैंकमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक/एक वटा सहकारी संस्थालाई बिहीवार पोखरामा आयोजित एक कार्यक्रमका बीच बैंकले पुरस्कृत गरेको हो ।

उत्कृष्ट कारोबार विधामा पोखरा स्थित आमा मिलन वचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा शैक्षिक समाज वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो ।

आमा मिलन सहकारीका अध्यक्ष इन्दिरा पौडेल र शैक्षिक समाज सहकारीका अध्यक्ष लिलाधर बराललाई बैंकका तर्फबाट राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जि.सी.(अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी, बैंकको पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसी प्रसाद गुरुङ लगायतले पुरस्कृत गर्नु भएको थियो ।

बैंकको १८ औं वार्षिक साधारण सभामा घोषणा गरिएका विभिन्न विधाका पुरस्कार मध्ये शाखा स्तरीय पुरस्कार शाखाले आयोजना गरेको कार्यक्रम मार्फत वितरण गरिदै आएको छ ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु) ले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सहकारी अभियानका बीचमा सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले एकतावद्ध अभियान मार्फत तीन वटै तहका सरकारलाई सहकारी मैत्री नीति निर्माण र कार्यान्वयनमा दवाव सिर्जना गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सञ्चालक तथा सहकारी बैंक व्यवसाय प्रवद्र्धन उपसमितिका सदस्य सुरेन्द्रमणी पौडेल, बैंकको पोखरा शाखाका सल्लाहकार तथा नेफस्कुनका पूर्व सञ्चालक भीम गुरुङ, पोखरा शाखाका सल्लाहकार तथा जिल्ला सहकारी संघ कास्कीका निवर्तमान अध्यक्ष रविरमण तिवारी, बैंक शाखा समन्वय उपसमितिका सदस्यहरु केदार न्यौपाने, हरिभक्त पौडेल, चित्रराज बराल, लक्ष्मण बाँस्तोला लगायतले वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बैंकको पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसी प्रसाद गुरुङको अध्यक्षता र बैंकका शाखा प्रमुख नरेश पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
राष्ट्रिय सहकारी बैंक पोखरा शाखामा ३ सय ५५ वटा सहकारी संघ संस्था सदस्य, १८ करोड शेयर पूँजि, २ अर्ब निक्षेप, करिव १ अर्बकर्जा लगानी रहेको शाखा प्रमुख नरेश पाण्डेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *