सन्तोष गौतम, म्याग्दी
जिल्लाको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ।
अन्नपूर्ण गाउँपालिका ३ मा पर्ने गुइठेभीरमा सुख्खा पहिरो खसेपछि पुष ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साझदेखि सञ्चालनमा आएको हो।
पहिरो पन्छाएर मर्मत गरेपछि ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको बेनी-जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिए ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा/गजुरमुखीको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो । गुइठेभिरमा निरन्तर पहिरो खस्न थालेपछि बैकल्पिक सडक बनाउने प्रयास गरेपनि सफल भएन् ।
बाइपास सडक सफल नभएपछि पुरानै बाटो मर्मत गरेर सवारी सञ्चालन गरिएको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका ट्राफिक प्रहरी लक्ष्मण क्षेत्रीले बताए । पहिरो पन्छाउन जोखिम मोलेर काम गरेका एक्साभेटर चालकलाई सुपरभाइजर शेरचनले व्यक्तिगत रुपमा पाच हजार रुपैया पुरस्कार दिएको बताए।
सडक अवरुद्ध हुदा देशका विभिन्न ठाउँबाट बेनी हुदै मुस्ताङ जान हिडेका र मुस्ताङ हुदै बेनी तर्फ छुटेका सवारी साधनहरु बिच बाटोमै रोकीएका थिए । यातायात व्यवसायीले गाडी बदली गरेर यात्रुलाई गन्तब्यमा पुर्याउने व्यवस्था मिलाएपनि ढुवानीका साधनको आवत जावत ठप्प भएको थियो।
स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम सडकको गुइठेभिर खण्ड जोखिमयुक्त मानिन्छ । यो ठाउँमा पटक-पटक पहिरो खस्ने गरेको छ । स्थानीयबासी, मुक्तिनाथ जाने र फर्कने तिर्थयात्री तथा पर्यटक प्रभावित भएका छन् ।
यसैबीच बेनी-जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी रोकिने भएको छ । स्तरोन्नतिका लागि सवारी रोकेर सडक विस्तारको काम गर्न लागिएको हो । बिहान ७:३० देखि ११ र दिउँसो २:३० देखि साँझ ६ बजेसम्म सवारी रोकिने आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए ।
सवारी साधनको चाप कम हुने समयमा कामलाई गति दिन समयतालिका बनाइएको उनले बताए। बेनी-जोमसोम सडक ४ वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्मको प्याकेज १ मा सडक फराकिलो बनाउने, पर्खाल लगाउने र नाली बनाउने तथा ग्रेड मिलाउने काम भइरहेको छ ।
प्याकेज २, ४ र ४ खण्डमा पहाड काट्ने, फराकिलो बनाउने र पर्खाल निर्माण भइरहेको छ । २०७४ मा भएको ठेक्का सम्झौताको म्याद मंसिरमा सकिएको छ । आउँदो जेठसम्म म्याद थपको तयारी भएको आयोजनाले जनाएको छ ।
उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर सडक आयोजना अन्तरगत बेनीदेखि जोमसोम खण्डको ५० प्रतिशत र जोमसोम देखि कोरला खण्डको ८० प्रतिशत भौतिक प्रगति भएको छ । सातवटा प्याकेजमा सञ्चालित ११० किलोमिटर दुरीको जोमसोम(कोरला खण्डको अन्तिम पटक थप भएको म्याद आगामी असारमा सकिदैछ।